म्याग्दीका झरनाहरू अाेझेलमा

विकल्प न्युज । बेनी

मंसिर १८ गते ।

Rupsey 6पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेका म्याग्दीका विभिन्न ठाउँमा रहेका मनमोहक झरनाहरु ओझेलमा परेका छन् ।

अन्नपूर्ण पदमार्ग, मुस्ताङ प्रवेशद्धार, ढोरपाटन शिकार आरक्ष, धौलागिरी र अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको पर्यटन विकासका लागि महत्वपूर्ण सम्भावना बोकेका झरनाहरु सरोकारवालको बेवास्ता, संरक्षण, पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेका हुन् ।

कालीगण्डकी, म्याग्दी र राहुघाट करिडोर क्षेत्रमा रहेका पर्यटकीय हिसाबले सम्भावनायुक्त मनमोहक झरनाहरु पूर्वाधार विकास र पर्यटकको पखाईभा छन् । आन्तरीक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने प्रसस्त सम्भावना बोकेका दर्जनौ प्राकृतिक सुन्दरतायुक्त झरनाहरु प्रचारप्रसार र पुर्वाधारको कमीले गर्दा ओझेलमा परेका हुन् ।

अग्ला पहाडबाट छङछङ गर्दै झर्ने झरनाहरु पर्यटकको पखाईमा छन् । बेनी जोमसोम, राउण्ड धौलागिरी र गुरील्ला रुट पदयात्राका लागि मात्र नभई झरनाहरुको अवलोकनका लागि समेत प्रसस्त सम्भावना रहेको धौलागिरी गाउँपालीका २ लुलाङका दलबहादुर रानाले बताउनुभयो ।

बेनी जोमसोम रुटमा पर्ने रुप्से, महभिर, चमेरे छहराले केही मात्रामा पर्यटकहरुलाई आकर्षित गर्न सकेपनि लुलाङको नर्जा र धौलागिरी चक्रिय पदमार्ग अन्तरगतका दर्जनौ झरनाहरुको सुन्दरता स्थानीय स्तरमै सिमित बनेको छ । चक्रिय धौलागिरी पदमार्गमा भोङभोङे, मिस्तुङ कुना, लामो छहरा, कुलिवाङ, तातोपानी र झुम्टोगोठ छहरा मुख्य छाँगाहरु हुन भने दर्जनौ साना झरनाहरु पनि छन् ।

करिब चार सय मिटर माथिबाट पानी खस्ने झुम्टोगोठ छहरा सबैभन्दा बढी आकर्षक र रमणीय रहेको बगराका बासिन्दा चित्रबहादुर तिलीजाले बताउनुभयो । भौगोलिक बिकटताको कारणले पदमार्ग, होटल लगायतका पुर्वाधारको विकास हुन नसकेको सो क्षेत्रका झरनाहरुको बारेमा प्रचारप्रसारको समेत कमी भएकाले ओझेलमा परेका हुन् । प्राकृतिक हिसावले मनमोहक, रमणीय र सुन्दरतायुक्त झरनाहरुको अवलोकन गर्दा यात्राको दुख समेत भुलाउने पर्यटकहरुको अनुभव छ ।

सरकारी, गैरसरकारी र पर्यटन क्षेत्र संग सम्बद्ध निजी क्षेत्रलाई पुर्वाधार विकास र प्रचारप्रसार गरि पर्यटन विकासमा सघाउन स्थानीयबासीले अनुरोध गरेका छन् । म्याग्दीका झरनाहरुको सौन्दर्यताको विषयमा प्रचारप्रसार र पुर्वाधार विकासमा ध्यान दिन सकेमा धेरै पर्यटकलाई आकर्षित गर्न सकिने प्रसस्त सम्भावना रहेको छ ।