ताजा समाचार:
Search

सबैको लोकप्रिय उम्मेदवार थापा

प्रताप बानियाँ/बेनी
म्याग्दी, मंसिर ७ ।bhupendra thapa 1यही मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट म्याग्दीमा उम्मेदवार बनेका नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा किसान परिवारको सदस्य हुनुहुन्छ । २०२४ सालमा म्याग्दीको रत्नेचौरमा बुबा शेरबहादुर थापा र आमा केशरकुमारी थापाको कोखबाट यस धर्तीमा पाइला टेक्नुभएका उहाँले सानैदेखि राजनीतिमा चासो राख्नुभएको थियो ।

छिमेकी जिल्ला बागलुङसँग सिमाना जोडिएको रत्नेचौर गाउँवासी थापाले विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङबाट तत्कालीन एसएलसी अहिलेको एसइई परीक्षा उत्तीर्ण गर्नुभएको थियो । सोही विद्यालयमा अध्ययन गर्ने क्रममा उहाँले २०३८ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौं)को सदस्य भएर राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । त्यसपछि धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा आई.कमसम्म अध्ययन गर्नुभएका थापाले आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउनुभयो ।

एउटा किसान परिवारमा जन्मिएको मान्छे, त्यसमा पनि राजनीतिमा प्रवेश गर्दा उहाँले धेरै हण्डर र ठक्कर समेत खानुपरेको उहाँ बताउनुहुन्छ । तत्कालीन पञ्चायत शासनकालमा राजनीतिमा प्रवेश गर्नुभएका थापाले राजनीतिलाई निरन्तरता दिनुभयो भने २०४६ सालमा रत्नेचौरको संयुक्त वाम मोर्चाको संयोजक भएर बहुदलको पक्षमा लँडाई लड्नुभएको थियो ।

२०४७ सालमा नेकपा एमालेको सदस्य भएपछि सोही समयमा रत्नेचौर गाउँ कमिटीको सचिव भएर उहाँले काम गर्नुभयो । उम्मेदवार थापाले २०४८ सालमा इलाका २ को सचिव, ०४९ मा क्षेत्रीय कमिटी १ को सदस्य र ०५० सालमा एमाले म्याग्दीको जिल्ला कमिटी सदस्य र २ नम्बर क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गर्नुभयो । उहाँ २०५३ सालमा पार्टीको जिल्ला उपसचिव हुनुभयो । २०५४ सालमा स्थानीय निकायको निर्वाचनमा तत्कालीन जिल्ला विकास समिति म्याग्दीको उपसभापति भएर जनताको पक्षमा उहाँले काम गरेको अनुभव अहिले पनि ताजै छ ।

यसैगरी २०५५ सालमा युवा संघको केन्द्रीय सदस्य, २०६२ सालदेखि २०६६ सालसम्म एमाले म्याग्दीको जिल्ल सचिव, २०६८ सालमा एमाले धौलागिरि अञ्चल कमिटी सचिव र २०७१ सालमा नेकपा एमालेको नवौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा थापा निर्वाचित हुनुभएको थियो । उहाँ धौलागिरि सहसंयोजक हुँदै हाल म्याग्दी जिल्लाको इन्चार्ज रहनुभएको छ ।bam myagdi

उहाँले प्रदेशनम्बर ४ को सङ्गठन कमिटी सचिवालय सदस्य, सङ्गठन विभाग उपप्रमुख र पूर्वाधार तथा यातायात विभाग प्रमुख रहेर पार्टीमा आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँ अहिले हुन गैरहेको प्रतिनिधिसभामा नेकपा एमालेको तर्फदेखि उम्मेदवार बन्नुभएको छ । यसरी राजनीतिमा निरन्तर रुपमा सक्रिय रहनुभएका थापामा राजनीतिमार्फत नै समाजसेवा गर्न सकिन्छ भन्ने उच्च भावना छ ।

उहाँलाई श्रीमती गंगाकुमारी थापाले पनि राजनीतिका लागि घर परिवारबाट राम्रो सहयोग गरिरहनुभएको छ । उहाँलाई म्याग्दी जिल्लामा भूपेन्द्र थापा भनेर नचिन्ने सायद नहोलान् भन्न सकिन्छ । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेशमा दुईवटा क्षेत्र रहेको म्याग्दीको सबै वडा तहसम्म पुग्नुभएका थापाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । म्याग्दीमा वाम गठबन्धनका उम्मेदवारका जित सुनिश्चित भैसकेको बताउँदै उहाँले आम मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह समेत गर्नुभएको छ ।Bam Gathabandhan Umedbar

म्याग्दीमा वाम गठबन्धन र आफ्नो पक्षमा जनलहर उर्लिएको उहाँले बताउनुभयो । उहाँले आफ्नो युवा अवस्थामा गाउँका कतिपय युवा साथीहरु विदेश जाँदा, सरकारी जागिरमा प्रवेश गर्दा पनि उहाँ राजनीतिमै सक्रिय रहनुभयो । उहाँ राजनीतिसँगै रेडक्रसलगायत केही सामाजिक संघसंस्थामा पनि क्रियाशिल हुनुहुन्छ । उम्मेदवार थापाले लोकप्रिय नेताको छवि समेत बनाउनुभएको छ । राजनीतिमा दख्खल राख्ने थापा र वाम गठबन्धनको पक्षमा जनलहर ह्वात्तै बढेको एमालेले जनाएको छ ।