चुनावी सुरक्षाका लागि उच्च सर्तकता अपनाएका छौं

विकल्प न्यूज/बेनी
कार्तिक ३० गते ।

cdioपहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब दुइ हप्ताभन्दा कम समय बाँकी छ । शान्तिपूर्ण, निश्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था महत्वपूर्ण मानिन्छ । जिल्लाको सुरक्षा व्यवस्था, रणनीतिलगायत विषयमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीसँग गरेको कुराकानी ।

यहि मंगलबार कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरी बम बिस्फोट भयो, यहाँको सुरक्षा व्यवस्था निरिह देखियो नि ?

सुरक्षा व्यवस्था निरिह छैन । हामीले चुनावलाई लक्षित गरी कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छौं । सूत्रले जुनसुकै बेला घटना घट्न सक्ने जानकारी दिएपछि हामी निकै चनाखो थियौं ।

त्यसपछि हामीले सर्वदलीय बैठक बोलाएर उम्मेदवारलाई यताउता हिँडडुल गर्दा संवेदनशील हुन र सुरक्षा निकायलाई सँगै लैजान अपिल गर्यौं । हाम्रो आग्रहलाई उम्मेदवारले पनि स्वीकार गरे । त्यही बमोजिम घटनाको दिन कांग्रेस उम्मेदवारसँगै सुरक्षा निकाय पनि गएका थिए । तर, दुर्भाग्यबस घटना घट्यो । केही क्षति भएन ।

kp-adhikariजुन ठाउँमा घटना घट्यो, त्यो बेनी नगरपालिका भए पनि टाढा र विकट छ । त्यहाँ पुग्न सदरमुकामबाट एकरडेढ घण्टा लाग्छ । त्यसकारण चुनाव विरोधी तत्वले त्यहाँ घटना घटाएको हो ।
यो घटनाले हामीलाई सुरक्षामा गम्भीर बन्न सचेत तुल्याएको छ । यही घटनालाई लिएर सुरक्षा व्यवस्था कमजोर भन्न मिल्दैन ।
घटना घट्न सक्ने जानकारी आएको र सुरक्षाबारे सर्तक थियौं भन्नुभयो, सचेत हुँदाहुँदै पनि कसरी घटना भयो ?
होइन, निर्वाचन विरोधी या भण्डाफोर गर्ने समूहले घटना घटाउँछु भनेका थिए । त्यसकारण जिल्लाका संवेदनशील ठाउँ पहिचान गरी त्यसतर्फ सुरक्षा निकाय खटाइसकेका थियौ । तर, उनीहरूले सम्भावना नभएको ठाउँमा गाडीलाई लक्षित गरी बिस्फोट गराए । तर, गाडीमा लागेन र योजना विफल भयो । किनकि हतारहतार घटना घटाएको देखियो ।

सुरक्षा सर्तकता नभएर या सुरक्षा निकायको उपस्थिति नभएको भए घटनामा क्षति हुन सक्थ्यो । प्रहरी र प्रशासनको सक्षमताले नै क्षति भएन ।

यो घटनाले मतदातामा त्रास फैलियो नि, मतदान सुरक्षित हुन्छ भन्ने कुरा सर्वसाधारण नागरिकलाई कसरी आश्वस्त पार्नुहुन्छ ?
छैन, त्रासको वातावरण छैन । मिडियामार्फत सुरक्षाको आश्वस्त तुल्याउँछौं । बाहिरी जिल्लाबाट सुरक्षाकर्मी आइसकेका हुनाले ढुक्कसँग मतदान गर्न पाउनेमा विश्वस्त तुल्याउ चाहान्छु । यसका लागि स्थानीय प्रशासनले अपिल गरेको छ । राजनीतिक दल र उम्मेदवारलाई पनि सर्तक हुन अनुरोध गरेका छौं ।

कार्यक्रम गर्दा पनि गोप्यरूपमा जानकारी दिनुभएको छ । सबै कुराको बन्दोबस्त भइसकेको छ । सर्वसाधारणको सुरक्षाका लागि भ्याएसम्म चौबिसैं घन्टा खटिरहेका छौं । सर्वसाधारणलाई कसरी आस्वस्त तुल्याउन सकिन्छ भन्ने विषयमा सरोकारवालासँग घनिभूत छलफल गरिरहेको छु ।

यसमा सञ्चारकर्मी तथा मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । त्यसकारण भोलिका दिनमा सर्वसाधारण निर्धक्कसँग मतदान गर्न सक्नेछन् । यसबारे यहाँको लोकप्रिय मिडियाले पनि भनिदियो भने अझ सहज हुनेछ । खोलानालालगायत त्यस्तै विकट तथा दुर्गम क्षेत्रमा हुने घटनाप्रति पनि हामी सजग छौं ।
सर्वसाधारणले ढुक्कसँग मतदान गर्ने अवस्था रहन्छ त ?
एकदमै, मैले यो कुरा हजुरमार्फत विश्वस्त तुल्याउन चाहेँ ।

अनि मतदानस्थानको सुरक्षाका लागि कस्तो सुरक्षा रणनीति बनाउनुभएको छ ?
हामीले सुरक्षा रणनीति बनाएका छौं । जिल्लालाई अति संवेदनशील, संवेदनशील र साधारण गरी तीन भागमा वर्गीकरण गरेका छौं ।

त्यो वर्गीकरण अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी को कहाँ जाने र दलहरूले कसरी सचेत हुने सबै कुरा पूरा भएको छ । अस्तीको घटना जुन यहाँले भन्नुभयो, त्यो सम्भावना नभएको ठाउँमा प्रेसर कुकर बम राखेको देखियो । घटनापछि भागेका केही व्यक्तिको पिछा गर्दै संकास्पद व्यक्तिलाई हामीले नियन्त्रणमा लिएका छौं ।

चुनाव विरोधी या भण्डाफोर गर्ने समूह सक्रिय भएकाले केही हदसम्म सुरक्षा चुनौती छ भन्ने कुरा अघि गर्नुभयो, त्यो समूह त चुनावसम्मै सक्रिय रहन्छ नि, त्यसलाई विफल गर्न तपाइसंग के छ योजना ?

मैले अघि नै भनिसके । हामीले विभिन्न क्षेत्रको पहिचान गरेका छौं । त्यही पहिचान अनुसार हामीले उच्च सर्तकता अपनाएका छौं । त्यही अनुसार प्रहरी खटाएका छौं । यदि सर्तकता अपनाएको थिएन भने उनीहरूले राँको बाल्ने, क्षति पुर्याउने अन्य सवारी साधनमा तोडफोड गर्ने हुन सक्थ्यो ।

उच्च सर्तकता र सुरक्षा नीति भएकै कारणले यो असम्भव भएको हो । अझ हामीलाई यहाँको घटनाले के देखाएको छ भने अरु सर्तकता अपनाउन, प्रहरी प्रशासन, राजनीतिक दल र सर्वसाधारणले यस्तो तत्वलाई निरुत्साहित गर्न सबैको सर्तकता भएको छ ।

अन्त्यमा, जिल्लाको सुरक्षा व्यवस्थाको महत्वपूर्ण जिम्मेवारी बोकेको प्रमुख जिल्ला अधिकारीको तर्फबाट आम मतदातालाई के छ तपाइको सुझाव ?

म मतदाताहरूलाई हजुरको लोकप्रिय मिडियाबाट के भन्न चाहान्छु भने म्याग्दीमा चुनावी सुरक्षाका लागि हामीले उच्च सर्तकता अपनाएका छौं । तपाईंहरू निर्धक्क रूपमा आफूले रोजेको उम्मेदवार तथा दललाई मत हाल्नुस् । सुरक्षाको पूर्ण ग्यारेन्टी प्रत्याभूति छ । साभारः www.prasashan.com