ताजा समाचार:
Search

म्याग्दीका जनता सचेत छन पञ्चायत फर्काउदैनन ः वाम

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २६ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आईतबार रघुगंगा गाउँपालिका ६ पाखापानीमा संयुक्त चुनावी सभा गरेका छन् ।

आमसभामा बोल्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहाँसीक आवश्यकता भएको बताउनुभयो । आफ्नै बहुमतको सरकार भंग गरेको र राजालाई सरकार हस्तान्तरण गरेको नेपाली काँग्रेसले लोकतन्त्र बचाउन नसक्ने दावी गर्दै संबिधानको पूर्ण कार्यान्वयनका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

उहाँले वि.स २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा हरिप्रसाद पुनको सर्मथक भएका कारण राप्रपाका नेता भिमप्रसाद गौचनको योजनामा बेनीको कालीपुलमा आफूलाई मरनासन्न हुनेगरी कुटपिट र दुब्र्यवहार भएको बताउँदै त्यस्ता प्रवृतीका मानिस फेरी जनप्रतिनिधि बने समाजमा शोषण, दमन र अत्याचार बढ्ने बताउनुभयो ।

नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले प्रजातन्त्रको पुर्नवाहलीपछि काँग्रेसले कम्प्युनिष्टले जितेपछि ६० वर्ष पुगेका वृद्धवृद्धालाई गोली ठोकेर मान्र्छ भनेझै अहिले पनी बाम गठबन्धनका विरुद्ध नकारात्मक प्रचार गरेको बताउँदै जनताको सेवा र देशको विकास गर्न कम्प्युनिष्ट सरकार आवश्यक पर्ने बताउनुभयो ।

म्याग्दीको पूर्वाधार विकास, जलस्रोत, पर्यटन, कृषि क्षेत्रको सम्भावनालाई ब्यवहारमा उतार्न बाम गठबन्धनसंग स्पष्ट भिजन रहेकाले एमाले माओवादीलाई मतदानका लागि थापाले आग्रह गर्नुभयो । प्रदेशसभा क्षेत्र क का उमेद्वार बिनोद केसीले यो चुनाव नेपालमा गणतन्त्र संस्थागत चाहने र राजतन्त्र फर्काउने बीचको लडाई भएकाले जनताले अग्रगमनको पक्ष लिनुपर्ने बताउनुभयो ।

उहाँले म्याग्दीको प्राकृतिक स्रोत साधनलाई परिचालन गरेर युवाहरुलाई रोजगारीका लागि बिदेशिनुपर्ने समस्या कम गर्न प्राथमिकता दिने र म्याग्देली जनताको दुख सुखमा साथ दिने बताउनुभयो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले छिटो छिटो सरकार परिवर्तन हुँदा नेपालमा विकासले गति लिन नसकेकाले विकास र सम्बृद्धीको अभियान सफल बनाउन स्थिर सरकार आवश्यक पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदी, बामपन्थी युवा नेता रेशम जुक्जाली, एमालेका सचिवालय सदस्य सन्तोष रावल, दिपक बिखर्ची, माओवादी केन्द्रका नेता टेकबहादुर विश्वकर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो । एमाले पाखापानी गाउँ कमिटिका अध्यक्ष टकबहादुर पुनको अध्यक्षता, जिल्ला सदस्य ओमकुमार पुनको स्वागत र माओवादी केन्द्रका सुवास बिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी बाम गठबन्धनले शनिबार साँझ रघुगंगा गाउँपालीका ५ झिँ र आईतबार साँझ बेनपा १० पात्लेखेतमा संयुक्त चुनावी आमसभा गरेका छन् । झिँमा एमालेका कृष्ण थजालीको अध्यक्षता र माओवादी केन्द्रका पदम शेरपुञ्जाको स्वागत तथा पात्लेखेमा एमालेका कृष्ण मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।