जन्म गाउँ रत्नेचौरमा थापाले भन्नुभयो ः जनताको असल सेवक भएर काम गर्दछु

विकल्प न्यूज/बेनी
बेनी २४ कात्तिक ।

DSC_0077मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले शुक्रबार बेनी नगरपालिका १ रत्नेचौरमा संयुक्त आमसभा गरेका छन् ।

आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा समानुपातीक उम्मेदवार थममाया थापाले नेपालमा कम्प्युनिष्टको नेतृत्वमा भएको परिवर्तनलाई संस्थागत गरी देशलाई विकास र सम्बृद्धिको दिशामा अघि बढाउन वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।DSC_0021वामगठबन्धनदेखि आत्तिएर काँग्रेसले लगाएको अधिनायकवादको आरोप र भ्रममा नपर्न आग्रह गर्दै उहाँले नेपाली जनताको भावना र आवश्यकता अनुसार एमाले माओवादीबीच चुनावी तालमेल र लगत्तै पार्टी एकिकरण गर्ने सहमती भएको बताउनुभयो ।

प्रतिनिधिसभाका उम्मेदवार तथा नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापाले नेपालमा राजनीतिक स्थिरता कायम गरी विकास र सम्बृद्धिको अभियानलाई सफल बनाउन, राष्ट्रयताको रक्षा र संबिधानको पूर्ण कार्यान्वयन गर्न वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले वाम गठबन्धन देशभर विजय हुने ठोकुवा गर्नुभयो । दुइतिहाई वहुमत ल्याएर वाम गठबन्धनले विकास र समृद्धिको नेतृत्व गर्ने बताउनुभयो ।

आफ्नो गाउँ आफै बनाउँ, सामाजिक सुरक्षा भत्ता, गरिब विपन्नका लागि जनता आवास, लोडसेडीङको अन्त्य गर्ने, ठूला विकासका आयोजनाको सुरुवात छोटा समय कम्प्युनिष्ट नेताले नेतृत्व गरेको सरकारको पालामा भएको बताउँदै जनपक्षिय काम गर्न एमाले माओवादीका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । उम्मेदवार थापाले कसैले पैसा वाडेर चुनाव जित्ने प्रयास गरे युवा संघ र वाइसिएलले प्रतिरोध गर्ने बताउनुभयो । उहाँले पैसा वाढेर भन्दा पनि जनताको मन जित्न काँग्रेसलाई सुझाव दिनुभयो ।

उम्मेदवार थापाले जन्मथलोको विकासका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । उहाँले निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै आफू चुनाव जितेपछि जनताको सेवकका रुपमा काम गर्ने बताउनुभयो । पार्टी भन्दा माथि उठेर सहयोग गर्न रत्नेचौरवासीहरुलाई उहाँँको अनुरोध थियो ।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा क्षेत्र (क)का उम्मेदवार बिनोद केसीले म्याग्दीका बासिन्दाको राज्यले प्रदान गर्ने सेवा सुबिधामा पहुँच बढाउने, नीति निर्माण तहमा युवाको प्रतिनिधत्वका साथै म्याग्दीमा रहेका प्राकृतिक स्रोत साधनलाई परिचालन गरि रोजगारी सिर्जना गर्न बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

उम्मेदवार केसीले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातीक लगायत व्यवस्था ल्याउन माओवादी र एमालेका महत्वपूर्ण योगदान रहेको बताउँदै राजतन्त्र फर्काउने एजेण्डा बोकेकाहरुबाट देशको परिवर्तन, विकास र सम्बृद्धि सम्भव नहुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेल,एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ,सचिवालय सदस्य सन्तोष रावलले चुनावी तालमेल मात्र नभई पार्टी एकता हुन लागेको र म्याग्दीमा बाम गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले विकासका लागि राजनीतिक स्थिरता प्रमुख आधार भएको बताउनुभयो ।

एमालेका वडा कमिटि अध्यक्ष पदमबहादुर रावलको अध्यक्षता, माओवादी केन्द्रका सुवास बिकको सञ्चालन र वडा अध्यक्ष टेकबहादुर रावलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा स्वतन्त्र बामपन्थी नेता तथा मालीका गाउँपालिका ७ बिमका वडा अध्यक्ष रेशम जुग्जालीले बाम एकता नेपालको आवश्यकता भएको बताउनुभयो ।