ताजा समाचार:
Search

म्याग्दीका २२ मतदान स्थल संवेदनशिल

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ कात्तिक ।

IMG_0520म्याग्दीका २२ मतदान स्थल संवेदनशिल रहेका छन् । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले संवेदनशिल मतदान स्थलको लागि बिशेष सुरक्षा योजना तयार पारेको छ ।

विगतका चुनावमा भएका गतिबिधि, भौगोलिक बिकटता, सञ्चार, यातायात सुबिधाको पहुँच लगायतका आधारमा संवेदनशिल मतदान स्थलको पहिचान गरि आवश्यक सुरक्षा योजना तयार पारिएको हो । म्याग्दीमा ७२ मतदान स्थल र १०६ मतदान केन्द्र रहेका छन् ।
निर्वाचन बिशेष सुरक्षा योजना अनुसार संवेदनशिल मतदान स्थलमा सुरक्षा व्यवस्था मिलाउन उच्च प्राथमिकता दिइने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । निर्वाचन सुरक्षाका लागि बेनीमा पर्वतको कुश्मा स्थित शसस्त्र प्रहरीको चण्डीका गणबाट प्रहरी नायव उपरिक्षक शुशिल सुवेदीको नेतृत्वमा अस्थाई बेस क्याम्प स्थापना गरिएको छ ।

नेपाली सेनाको टोली सुरक्षाका लागि परिचालन भएको छ । नेपाल प्रहरीका अतिरित्त म्यादी प्रहरी भर्ना गरेर आवश्यक तालीम सञ्चालन भैरहेको प्रजिअ अधिकारीले बताउनुभयो । निर्वाचनलाई सुरक्षित र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि मतदान स्थलहरुको स्थलगत निरीक्षण भैरहेको छ ।

यसै क्रममा मंगलबार रघुगंगा गाउँपालीका २ भगवती र ३ पिप्लेमा रहेका मतदान स्थलहरुको मुख्य निर्वाचन अधिकृत रामकुमार कोइराला सहित, सुरक्षा अधिकारीहरुको टोलीले स्थलगत अध्ययन गरेको छ । मतदान स्थलहरुको बस्तुअवस्थाको बारेमा जानकारी लिएर आवश्यक रणनिती तय गर्न स्थलगत अध्ययन तिब्र बनाइएको प्रजिअ अधिकारीले बताउनुभयो ।
उक्त टोलीमा सहायक निर्वाचन अधिकृत श्यामप्रसाद रिजाल, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, श्रीबक्स गुल्मका गुल्मपती अनिलकुमार बुढाथोकी, शसस्त्र प्रहरीका डिएसपी शुशिल सुवेदी, राष्ट्रिय अनुसन्धान अधिकृत अर्जुन शर्मा, रघुगंगा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाई लगायतको सहभागीता रहेको थियो ।
चुनाव प्रचारका क्रममा निर्वाचन आचार संहिता पालनाको अवस्थाको बारेमा पनी अनुगमन भैरहेको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो । चुनावका लागि म्याग्दीमा आवश्यक पर्ने मतपत्र लगायतका सामाग्रीहरु आयोगबाट बेनीमा आईसकेको छ ।

एक नगरपालीका, पाँच गाउँपालीका, ४५ वटा वडा रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उमेद्वार चुनावी मैदानमा छन्