ओमकुमारी शान्ति कोषद्धारा डाक्टर मल्ललाई सम्मान

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १५ कात्तिक ।
बेनी अस्पतालका चिकित्सक धिरेन मल्ललाई बुधबार बेनीमा सम्मान गरिएको छ । दुर्गम क्षेत्रका बासिन्दालाई जिल्लामै सर्वसुलभ रुपमा शल्यक्रिया सेवा उपलब्ध गराउन योगदान गरेकोमा डाक्टर मल्ललाई ओमकुमारी शान्ति कोषले सम्मान गरेको हो । कोषका अध्यक्ष राजेश शाक्य, पदाधीकारी र सदस्यहरुले प्रमाणपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

IMG_0279 (1)निक साईमन्स ईन्स्टिच्युट मार्फत वि.स २०७१ देखि बेनी अस्पतालमा कार्यरत मल्लले सिमित उपकरणको बावजुद जटिल प्रसुती, हाईड्रोशील, हर्नीया लगायत स्वास्थ्य समस्या भएका बिरामीको शल्यक्रिया सेवा प्रदान गर्न नेतृत्व गर्नुभएको थियो । तिन वर्ष म्याग्दीमा बसेर सेवा गरेका मल्ल निक साईमन्ससंगको सेवा सम्झौता अवधि सकिएको छ ।

संस्थाले मल्लको ठाउँमा बेनी अस्पतालमा अर्का चिकित्सक पठाएको छ । कोषका सहसचिव बिनय श्रेष्ठको सञ्चालन र उपाध्यक्ष हरिकृष्ण गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष राजेश शाक्यले डाक्टर मल्लले म्याग्दीका सर्वसाधारणको स्वास्थ्य उपचारका लागि गर्नुभएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

चिकित्सक मल्लले दुर्गम ग्रामिण क्षेत्रका नागरीकहरुलाई जिल्लामै शल्यक्रिया सेवा उपलब्ध गराउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताउनुभयो । सोही कार्यक्रममा चिकित्सक मल्लले एघार हजार १११ रुपैया प्रदान गरेर कोषको आजिवन सदस्यता लिनुभएको छ ।
यसैगरी बेनीको एभरग्रिन युवा कल्वले पाँच हजार ५५५ रुपैया प्रदान गरेर परोपकारी संस्था शान्ति कोषको सदस्यता लिएको छ । कल्वले दग्नामकी करुणा गर्बुजाको उपचारका लागि सञ्चालन गरेको अभियानमा पाँच हजार सहयोग गरेको छ । कल्वका अध्यक्ष ललीत पुर्जाले रकम हस्तान्तरण गर्नुभएको थियो ।