ताजा समाचार:
Search

“साधनस्रोत परिचालन गरेर विकासको ढोका खोल्छु ”

 विकल्प न्यूज/बेनी
कार्तिक १४ गते ।

 प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ क मा भने अर्कै चुनावी रौनक छ। त्यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता विनोद केसी विशेष चर्चामा रहेका छन्। किनकि केसी प्रजातान्त्रिक गठबन्धनका राप्रपाका केन्द्रीय सदस्य भीमप्रसाद गौचनलाई हराएर आफ्नो क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धताका साथ चुनावी मैदानमा उत्रिएका हुन्। केसी ३३ वर्षीय युवा नेता हुन् भने ७६ वर्षीय गौचन पूर्वराज्यमन्त्री भइसकेका छन् । विपक्षी सहज नभए पनि चुनावमा सजिलै हराउने हेतुका साथ केसी चुनावमा उत्रिएका हुन्। प्रस्तुत छ, वाम गठबन्धनतर्फको उम्मेदवार केसीसँग  रोविन पौडेलले गरेको कुराकानीः

bhim and binod३३ वर्षकै उमेरमा प्रदेशसभाको चुनावी मैदानमा किन उत्रिनुभयो ?

सर्वप्रथम त म युवाहरूको प्रतिनिधि हुँ। म्याग्दीमा राम्रा र इमान्दार व्यक्तिको खाँचो छ। वर्तमान परिप्रेक्षमा जनताको नजर हरेक दलका सक्षम युवा नेतृत्वमा छ। त्यसैले युवा पिँढीले अब साहस गर्नुपर्छ भन्ने लागेर म अगाडि आएको हुँ। मेरो उम्मेदवारी वाम गठबन्धनको विश्वासबिना सम्भव थिएन।

युवा नेतृत्वमा नआएरै म्याग्दी पछाडि परेको हो त ?

म्याग्दी जिल्ला देशकै सुन्दर र प्राकृतिक स्रोत साधानको प्रचुरताले म्याग्दीलाई सुसज्जित बनाए पनि यहाँको स्रोत साधन उपभोग गर्न नसक्दा हामी धेरै पछाडि परेका छौं। परिवर्तनका नामका यहाँ कयौं वाचा गरिए पनि आर्थिक समृद्धिका लागि कदम चाल्न नसक्दा हामी जहाँको त्यही रह्यौं। यहाँको उर्वर भूमिमा मानो रोपेर मन उब्जाउन सकेनौं, हजारौं मेगावाट विद्युत् क्षमता हुँदा पनि त्यसको १ प्रतिशत पनि उत्पादन गर्न सकेनौं। पर्यटन र कृषि क्षेत्र उत्थान गर्न सकेनौं। हो विगतमा हामीले नेतृत्व चुन्यौं, तर परिवर्तनको सम्वाहक चुनेनौं। तसर्थ विकासका नारा नारामै सीमित रहे। binod kc म्याग्दी पछाडि पर्नुमा स्थानीय विकासमा युवा परिचालन गर्न नसकिनु प्रमुख कारण हो। सधैं एउटै मुहार नेतृत्वमा आउँदा म्याग्दीबासीले परिवर्तनको अपेक्षा गर्न छाडिसके। मुलुकमै व्यवस्था परिर्वतन हुनु सँगसँगै म्याग्दीको आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव बनाउन युवाले ठूलो भूमिका खेल्न सक्छन् भन्ने मेरो बुझाइ छ।

तपाईंले चुनाव जिते म्याग्दीबासीले के अपेक्षा गर्ने त ?

म्याग्दीबाट बर्सेनि विदेशिने युवाको संख्या हजारौं छ। यो हरदमका लागि रोक्नुपर्ने मेरो सबैभन्दा महत्त्वपूर्ण प्रतिबद्धता छ। युवाहरूलाई स्थानीय स्रोत साधनको परिचालनमा स्थानीय युवाको सहभागिताका साथ यहाँको आर्थिक, सांस्कृतिक तथा राजनीतिक अवस्था उकास्नेछु।
binod kc 2यदि म प्रदेशसभा सदस्यको रूपमा निर्वाचित भए म्याग्दीलाई पर्यटकीय गन्तव्य बनाउन म लागिपर्नेछु। यसबाट जिल्लामै स्वरोजगारीको अवसर जुटाइने मात्रै नभएर हजारौं म्याग्दीबासीले प्रत्यक्षरूपमा रोजगारी पाउनेछन्। त्यस्तै म्याग्दीबासीलाई आएर कृषि तथा जडीबुटी उत्पादनमा पनि लगानी गर्ने वातावरण बनाउँछु। ती क्षेत्रबाट आम्दानीको पहिचान गरेर म्याग्दीबासीको जनताको जीवनस्तर उकासिने वातावरण सिर्जना गर्ने प्रयास गर्नेछु। यहाँको अर्को समस्या भने यहाँ विगतका केही ठूला आयोजनाले निरन्तरता पाउन सकेका छैनन्। ती आयोजना समयमै सम्पन्न गराउन राजनीतिक सुदृढताका लागि पहल गर्नेछु। युवाहरूलाई दक्षताअनुसार सीपमूलक तालिम व्यवस्था गर्नेछु, विदेश जानेलाई सीप तथा दक्षता लिएर पठाउने वातवरण बनाउनेछु।

तपाईंका चुनावी भाषण बोलिमै सीमित हुने त होइनन् ?

त्यस्तो हुँदैन। चुनाव जितिसकेपछि हाम्रो क्षेत्रमा सञ्चालन हुन नसकेका आयोजना निरन्तरता दिनेछु। त्यसका लागि म्याग्दी आवश्यक राजनीतिक स्थिरता, सुरक्षा, सरकारी निकायको चुस्त समन्वय तथा प्रभावकारी कार्यकुशलताको ढोका खोल्नेछु।त्यस्तै व्यवस्थापन तथा प्रवद्र्धनमा कमजारी न्यूनीकरण गर्नेछु। म धेरै प्रतिबद्धता गर्दिनँ। हामीसँग जे–जति छ, तिनैको प्रभावकारी उपयोग तथा परिचालनबाट म्यग्दीलाई सम्पन्न जिल्ला बनाउनेछु। म्याग्दीको मायालाई भुलेर कुनै व्यक्तिगत स्वार्थमा लुकेर म आफ्नो क्षेत्रबासीविरुद्धमा काम गर्ने छैन।

प्रदेशसभा सदस्य भएपछि तपाईंले के गर्ने भन्ने ठोस योजना छन् र ?

मेरा केही ठोस योजनाअनुसार ४ हजार मेगावाट विद्युत् क्षमता भएको म्याग्दीमा ५ वर्षभित्रै गलम्दी, कालीगण्डकी, रघुगंगाबाट कम्तीमा ५ सय मेगावाट जलविद्युत् उत्पादनको डीपीआर अगाडि बढाउन प्रदेश सरकारका माध्यमबाट केन्द्रीय सरकारमा पहल गर्नेछु।

यति भनिरहँदा जीवनस्तर उकास्न आवश्यकता आधारभूत पूर्वाधार जस्तै शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी पनि बिर्सनुभएन। मैले चुनाव जिते यी विषयमा जनताले कुनै सम्झौता गर्नुपर्ने छैन। binod kc 3युवाको कुरा गर्दा तपाईंका चुनावी नारामा अन्य समूहमा परेका देखिँदैनन्। के भन्नुहुन्छ ?

त्यस्तै मैले युवाको कुरा गर्दा युवावर्ग उपेक्षित भएको देखिन्छ। तर, स्थानीयस्तरमा युवाको सक्रियता बढी हुँदा सबै उमेर समूह लाभान्वित हुनेछन्। किनकि स्रोत साधान परिचालनबाट सबै समूहले रोजगारी पाउनेछन्।

त्यस्तै वृद्ध तथा अशक्तलाई थप सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्दै उहाँहरूको वित्तीय सुरक्षा ग्यारेन्टी गर्नेछु।

अन्त्यमा केही भन्न चाहनुहुन्छ  ?

चुनावको मुखमा हामफालेको छु। म एक वृद्ध तथा अनुभवी व्यक्तिसँग चुनावी प्रतिस्पर्धामा उत्रँदै छु। उहाँसँग अनुभव छ समय छैन, मसँग अनुभव छैन समय छ। म चुनाव जितेर नेताजस्तो हैन, सबैको प्रिय छोरो, भतिज, भाइ, दाइ बनेर आफ्नो क्षेत्र विकासका लागि काम गर्नेछु।

देशले कोल्टो फेरिसकेको छ। तसर्थ, देश ७ प्रदेशमा विभाजित भइसक्दा मेरो उम्मेदवारी प्रतिनिधिसभा सदस्य बन्न गर्ने राजनीतिक भाषणका लागि मात्र हैन, म्याग्दीबासीले जिल्लालाई समृद्ध तथा देशैकै नमुना जिल्लाको रूपमा हेर्न चाहेका छन्, त्यसैका लागि हो।

तपाईंहरूकै माया र सद्भावले आज म ३३ वर्षकै उमेरमा यस क्षेत्रको उम्मेदवार बनेको छु। मैले जिते जिल्ला तथा प्रदेशकै नीति निर्माणमा सक्रिय भएर भूमिका खेल्ने प्रण लिन्छु।   newsofnepal.com

तस्विरहरु ठाकुरप्रसाद आचार्य