बराङ्जामा वाम गठबन्धनको संयुक्त प्रचार अभियान

विकल्प न्यूज /बेनी
कार्तिक १० गते ।

bam gathabandanआगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाबी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले शुक्रबारदेखि संयुक्त प्रचार अभियान सुरु गरेका छन् । चुनाबी तालमेलसँगै त्यसपछि पार्टी एकताको घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रले मंगला–३ बराङ्जाबाट संयुक्तरुपमा चुनाबी प्रचार अभियान सुरु गरेका हुन् ।

प्रचार अभियानलाई सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार भूपेन्द्र थापाले म्याग्दीको विकास र समृद्ध जिल्ला बनाउनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । जिल्ला विकास समिति म्याग्दीको पूर्व उपसभापति समेत रहेका थापाले वाम गठबन्धन नेपाली जनताको चाहना र देशको आवश्यकता अनुसार गरिएको बताउँदै निर्वाचनमा वाम गठबन्धनलाई जिताउनुपर्ने बताए ।

पूवं राज्यमन्त्री एवं प्रदेशसभा सदस्य उम्मेदवार नरदेवी पुनले यसअघि आफ्नो कार्यकालमा सुरु गरेका विकास निर्माणलाई बढावा दिन आफू पुनः चुनाबी मैदानमा होमिएको बताइन् । उनले जिल्लाको समस्यालाई प्रदेश र केन्द्रसम्म पु¥याएर विकास निर्माण गरी सामाजिक परिवर्तन गर्ने बताउँदै त्यसका लागि वाम गठबन्धनलाई विजय गराउनुपर्ने बताएकी छिन् । यसैगरी माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार टेकबहादुर विकले समाजमा शोषित, पीडित र दलित वर्गको उत्थानका लागि बाम गठबन्धनले जित्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवं म्याग्दी जिल्ला संयोजक गोविन्द पौडेलले वाम गठबन्धनले देशको विकास निर्माण गरी आर्थिक समृद्धि हासिल गर्ने बताउँदै ढुक्क भएर वाम गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले देशमा विभिन्न परिवर्तन भए पनि आर्थिक विकास हुन नसकेको बताउँदै आर्थिक क्रान्ति गरी जनतालाई विकासको अनुभूति गराउन वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएकोमा जोड दिए ।

मंगला गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाको अध्यक्षता, एमाले जिल्ला सदस्य एवं मंगला–३ का वडाध्यक्ष कविन्द्र रोकाको स्वागत र माओवादी केन्द्रका जिल्ला सदस्य याम रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा कलाकारहरुले जनवादी नृत्यसहित विविध सांस्कृतिक प्रस्तुतीहरु देखाएका थिए ।