म्याग्दी उद्दार समिति बहराईनद्धारा शान्ति कोषलाई १३ लाख सहयोग

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १ कात्तिक ।

म्याग्दी उद्दार समिति बहराईनले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई करिब तेह् लाख रुपैया सहयोग उपलब्ध गराएको छ ।

विपन्न र गरिबको उपचारमा सघाउने उद्देश्यले कोषले स्थापना गर्न लागेको एक करोड पचास लाख रुपैयाको अक्षयकोषमा बहराईनमा रहेका म्याग्देलीहरु आवद्ध समितिले तेह् लाख ९३ हजार ३३० रुपैया सहयोग गरेको हो ।

IMG_9759(1)गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराईनका अध्यक्ष तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराईनका संरक्षक लालप्रसाद पुनले बुधबार बेनीमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यलाई चार लाख ८१ ह्जार ७६५ रुपैया हस्तान्तरण गर्नुभएको थियो । नव वर्ष २०७४ को अवसरमा बहराईनमा आयोजित कार्यक्रममा घोषित १८ लाख रुपैया मध्य यसअघि आठ लाख ११ हजार ५५ रुपैया प्राप्त भइसकेको थियो । समितिका खप्रसाद शेरपुञ्जा, रमेश केसी र धनबहादुर शाहीले यसअघि सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

समितिका पुर्व अध्यक्ष तेजेन्द्र थापाले व्यक्तिगत रुपमा एक लाख दुई हजार रुपैया सहयोग गर्नुभएको थियो । डेढ करोड रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियानका क्रममा हालसम्म सात सय जनाले पाँच हजार ५५५ रुपैया भन्दा बढी सहयोग गरेर आजिवन सदस्यता लिएका छन् । दुई लाख रुपैया सहयोग गरेर १८ जनाले संरक्षक सदस्यता लिएका छन् । मोना कतार र म्याग्दी उद्दार समिति बहराईनले तिन लाख रुपैया भन्दा बढी सहयोग गरेर संस्थागत संरक्षक सदस्यता लिएका सचिव लोकेश पुन मगरले जानकारी दिनुभयो ।

जटिल रोगले थलिएका ४५ जना विपन्नहरुलाई कोषले अभियान सञ्चालन गरेर सहयोग जुटाएको छ । हाल पाँच जनाको उपचारका लागि आर्थिक संकलन अभियान जारी छ । अक्षयकोषको ब्याजबाट आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सघाउने उद्देश्य रहेको छ । हाईपोपलास्टीक एनिमिया रोगबाट दिवंगत भएकी बेनपा ४ की ओमकुमारी पुन शान्तिको उपचारका लागि संकलन भई खर्च हुन बाँकी १३ लाख रुपैयाबाट कोषको घोषणा गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनए बहराईनका अध्यक्ष पुनले प्रवासमा म्याग्देलीहरुले खाना, खाजा खर्च कटाएर आफ्नो जन्मथलोका लागि सहयोग जुटाएको बताउनुभयो । यसअघि ३५ हजार रुपैया सहयोग घोषणा गर्नुभएका पुनले १५ हजार रुपैया थप गर्ने बताउनुभयो । म्याग्दी उद्यार समिति बहराईनका पुर्व महासचिव तथा बेनपा ९ का वडा सदस्य भेषबहादुर सेनले समितिले स्थापना कालदेखिनै म्याग्दीको स्वास्थ्य, शिक्षा लगायत परोपकारी क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।

सोही कार्यक्रममा दिवंगत आमा रुपादेवी शेरचनको स्मृतीमा कोषलाई सात हजार पाँच सय रुपैया सहयोग गर्नुभएका बेनपा ७ का शुन्दरमान शेरचनलाई आजिवन सदस्यता प्रदान गरिएको थियो । मुटुरोगबाट थलीएका बेनपा ७ मंगलाघाटका बाबुराम शाक्यको उपचारका लागि सहयोग जुटाउन गठित अभियानका संयोजक सचिन शाक्यलाई संस्थागत दश हजार सहित ३४ हजार रुपैया उपलब्ध गराइएको थियो । कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।