ताजा समाचार:
Search

मोनाको महाधिवेशनको तयारी अन्तिम चरणमा

सन्तोष गौतम \ विकल्प न्युज

म्याग्दी १९ असोज ।

Monaरोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको आईतबारदेखि हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ ।

मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारीका लागि मोनाका पदाधीकारीहरु र प्रतिनिधिहरु म्याग्दी आउने भएका छन् । बेनीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मोनाका अध्यक्ष योगेन्द्र क्षेत्रीले विभिन्न उपसमितिहरुले तयारी अन्तिम चरणमा पु¥याएको जानकारी दिनुभयो ।

विश्वका २२ देशबाट अधिवेशनमा प्रतिनिधित्व हुने अध्यक्ष क्षेत्रीले बताउनुभयो । स्थानीय व्यवस्थापनको जिम्मेवारी पाएको मालीका गाउँपालीकाको कार्यालयले अतिथि सत्कार, मञ्च निर्माण, बजार व्यवस्थापन, सरसफाई, खानेपानी, होटल ब्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

अतिथि र सहभागीहरुको स्वागतका लागि दरवाङ बजारको विभिन्न ठाउँमा प्रवेशद्धार निर्माण गरी स्थानीयबासीले बजारलाई ध्वजापटकाले सिगाँरेका छन् । बजार बासीका अतिरित्त एक सय जना स्वमसेवक परिचालन गरिएको मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

दरवाङ बजारमा सचिवालय समेत स्थापना भएको छ । उपसमितिहरु मार्फत स्थानीय स्तरमा समन्वय, प्रचारप्रसार, आर्थिक संकलन र व्यवस्थापनका लागि सरोकारवालासंग समन्वय गरेर तयारी गरिएको मोनाका महासचिव घनश्याम शाहीले बताउनुभयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा हुने महाधिवेशनमा एनआरएनएका बरिष्ठ उपाध्यक्ष भवन भट्ट, संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष जिवा लामीछाने लगायत पदाधीकारी र विभिन्न देशका प्रतिनिधीहरु समेत उपस्थित हुने मोनाका कोषाध्यक्ष चक्र थापाले बताउनुभयो ।

आगामी दुई वर्षका लागि मोनाको नयाँ नेतृत्व चयन गर्नुका साथै जिल्लाको आर्थिक सामाजिक र भौतिक विकासमा प्रवासीहरुको भुमिकाको विषयमा जनप्रतिनिधि र सरोकारवालासंग छलफल गरिने जनाइएको छ ।

अधिवेशनको अवसरमा जिल्ला स्तरीय पन्चेबाजा, पुख्यौली नृत्य प्रतियोगिता, विभिन्न जातजातीको झाँकी प्रर्दशनी, सुनीमाया भाकाको प्रस्तुती गरिने भएको छ । परम्परागत कला र संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता तथा प्रर्दशनीको आयोजना गरिएको मोनाले जनाएको छ ।

यसैगरी जापानी विशेषज्ञहरुको टोलीले विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धि तालीम सञ्चालन गर्ने भएका छन् । मोनाले म्याग्दीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सञ्चार, विपन्नको उपचार, विपद् व्यवस्थापनमा सहयोगी भुमिका निभाउदै आएको छ । मोनाले म्याग्दीका सबै सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने अभियान सञ्चालन गरेको छ ।