बेनीका सडकमा बाह्ै महिना यातायात सञ्चालन गरिने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ असोज 

Nagarpalika (1) म्याग्दीको बेनी नगरपालिकाले सडक स्तरवृद्धिसम्बन्धि योजनालाई प्राथमिकता दिएको छ ।

बेनीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख हरिकुमार श्रेष्ठले सदरमुकाम समेत रहेको बेनी बजारदेखि सबै वडालाई जोड्ने सडकमा बाह्ै महिना यातायात सेवा सञ्चालन हुने बनाउन प्राथमिकता दिएको जानकारी दिनुभयो ।

जनप्रतिनिधि निर्वाचित भएपछि नगर क्षेत्रमा भएका कामको विवरण सार्वजनीक गर्दै श्रेष्ठले पाँच वर्षे कार्यकालमा वडा जोड्ने सडक स्तरवृद्धि र कालोपत्रे गरेर बाह्ै महिना यातायात सेवा सञ्चालन हुने व्यवस्था मिलाउन आवश्यक योजना अघि बढाइएको जानकारी दिनुभयो ।

दश वटा वडा रहेको बेनी नगरपालीकाको सबै बस्तीमा कच्चि सडक पुगेपनि नियमित सञ्चालन हुन र सर्वसाधारणले प्रभावकारी यातायात सेवा पाउन सकेका छैनन् । चालु आर्थिक वर्षमा बेनी–पात्लेखेत सडक कालोपत्रेका लागि एक करोड रुपैयाँ बिनियोजन भएको छ ।
बेनी–भकीम्ली, बेनी–भकुण्डे, अर्थुङगे–पुलाचौर सडक स्तरवृद्धिको लागि समेत योजना सञ्चालन गरिने भएको छ । पाँच वर्षभित्र नगर क्षेत्रका सबै घरमा “एक घर, एक धारा”को अवधारणा अनुसार आधारभुत खानेपानीको सुबिधा विस्तार गर्ने योजना अघि सारेको बेनी नगरपालीकाले जिर्ण अवस्थामा रहेका काठका विद्युतका पोल विस्थापित गरेर फलामे पोल राख्ने काम सुरु गरेको छ ।

पञ्चवर्षिय गुरुयोजना निर्माणको तयारी गरेको नगरपालीकाले शिक्षाको गुणस्तर सुधार र विद्यालयमा पूर्वाधार निर्माण, जनताको आयआर्जन वृद्धी र रोजगारी सिर्जनाका लागि एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बेनी बजारको फोहोर व्यवस्थापन गर्ने जग्गाको खोजी भैरहेको बताउदै नगरप्रमुख श्रेष्ठले बधस्थल निर्माणका लागि जग्गा पहिचान गरिएको जानकारी दिनुभयो ।

बेनी बजार बृहत ढल सुधार कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको, बेनी बसपार्कको सर्वेक्षण र डिजाईन तयार गरेको, बेनीमा सडक अतिक्रमण गरि निर्माण भएका संरचना हटाउन सुरु गरीएको, एकिकृत सम्पत्तीकर लागु गर्न निर्देशीका तयार र मूल्याङकन समिति गठन, वडा कार्यालय व्यवस्थापन, अनलाईनबाट व्यक्तिगत घटना दर्ताको सुरुवात भएको जानकारी गराइएको थियो ।

स्थानीय तह सञ्चालनका लागि आवश्यक ७ वटा कानुन निर्माण, गत आर्थिक वर्षका योजना र विषयगत कार्यालयका योजना कार्यान्वयनमा सहजिकरण, बेनी बजारमा अखाद्य बस्तुको मिसावट गरि चटपट बिक्रीमा प्रतिबन्ध लगाउने र नगर कार्यपालीका अन्तरगत ८ वटा विषयगत समिती गठन गर्ने लगायत १४ बुदे प्रगती विवरण नगर प्रमुख श्रेष्ठले सार्वजनीक गर्नुभएको थियो ।

कार्यकारी अधिकृत विश्वामित्र कुईकेलले नगर क्षेत्रको समस्या र आवश्यकता अनुसार तय भएका योजना तथा कार्यक्रम सञ्चालनका लागि पहिलो चरणमा नगर प्रोफाईल तयार पार्न लागिएको बताउनुभयो । नगर उपप्रमुख सञ्जु बरुवालले बर्खामा अवरुद्ध नगर क्षेत्रका सडक मर्मतको काम अन्तीम चरणमा पुगेको र बेनपा ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठले बेनी बजारमा बिग्रीएका सिसीटिभी क्यामेरा मर्मतको काम भैरहेको बताउनुभयो ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रजिअ कृष्णप्रसाद अधिकारी, वडा अध्यक्षहरु, नगर कार्यपालीका सदस्य र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।