ताजा समाचार:
Search

बेनी– जोमसोम सडकमा रातको समयमा पनि सवारी सञ्चालन खुल्ला

विकल्प न्यूज/बेनी
असोज ४ गते ।

बेनी–जोमसोम सडकमा गत आईतबारदेखि रातीमा पनि सवारी साधन सञ्चालन हुन थालेका छन् । बर्षा कम हुदै गएको र सवारी साधनको चाप बढेकाले गत साउन ५ गतेदेखि रातीको समयमा बन्द गरिदै आएको गलेश्वर–दाना खण्डमा दुई महिनापछि नियमित सवारी सञ्चालनका लागि खुल्ला गरिएको हो ।  beni jomsom sadakभौगोलिक रुपमा बिकट र जोखिमयुक्त सडकमा बर्खा र रातको समयमा सवारी सञ्चालन गर्दा दुर्घटना हुने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय र यातायात व्यवसायीको समझदारीमा साँझ ६ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको थियो ।

मौसममा सुधार आएसंगै जोखिम घटेको र मुस्ताङ भ्रमण, सोह् श्राद्धमा कागबेनीमा पिण्डदान गर्ने र मुक्तिनाथ तिर्थयात्रामा आउनेहरुको चाप बढेकाले नियमित सवारी सञ्चालन हुन थालेको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले बताउनुभयो ।

रातीमा सवारी सञ्चालन बन्द गर्दा दिउँसोको समयमा जाम हुने समस्या देखिएको थियो । यसैगरी विभिन्न ठाउँमा सडक विस्तारको काम भैरहेकाले सवारी चालक र यात्रुहरुलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

आकाशे बर्षा हुदा बेगखोला र घट्टेखोलामा बाढी तथा जलथले र बादरजुङ भिरमा पहिरो खस्ने समस्या छ । हिडीरहेको अवस्थामा भिरबाट खसेको ढुङ्गाले लागेर साउन यता दुई जनाको ज्यान गएको छ भने तिन जना घाइते भएका छन् ।