यसरी हुँदै छ बेनी–जोमसोम सडक स्तरवृद्धिको काम

सन्तोष गौतम /विकल्प न्यूज
असोज ४ गते ।

beni jomsom sadak
प्रदेश न. ४ को लाईफलाईन मानिएको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक स्तरवृद्धिको काम सुरु भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर दुरीको सडकलाई कालोपत्रे गर्न काम सुरु गरेको हो । ठेक्का सम्झौता गरेका निर्माण कम्पनिहरु कार्यक्षेत्रमा परिचालन भएर प्रारम्भिक चरणको काम सुरु गरेको आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख सुवेदीका अनुसार चार प्याकेज (भाग)मा छुट्टा छुट्टै निर्माण कम्पनीहरुसँग दुई अर्ब पचास करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । तिन अर्ब चालीस करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । वि.स २०६४ मा नेपाली सेनाले ट्याक खालेर वि.स २०६७ मा सडक बिभागलाई हस्तान्तरण गरेको बेनी जोमसोम सडक हाल कच्चि अवस्थामा छ ।

२०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेलीब्रिजहरुलाई विस्थापित गरेर पक्की मोटरेबल पुल निर्माण गरिने भएको छ । बेनी–घाँसा खण्डका दुई वटा प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मायुनाईटेड जेभीले लिएको छ ।

घाँसा जोमसोम खण्डको अर्को एउटा प्याकेजको काम गर्ने ठेक्का पप्पु तामाङकोशीन्यौपाने जेभीले लिएको छ । चार वटै प्याकेजमा प्रारम्भिक चरणमा सडक फराकीलो बनाउने काम सुरु गरेको आयोजनाका इन्जिनियर प्रदिप निरौलाले बताउनुभयो । उहाँका अनुसार बेनी घाँसा खण्डमा डिबीएसडी र घाँसा जोमसोम खण्डमा असपाल्ट प्रबिधिको कालोपत्रे गरिने भएको छ । beni jomsom sadakनाली सहित ११ मिटर चौडाई रहने सडकको सात मिटर चौडाईमा कालोपत्रे गरिने इन्जिनियर निरौलाले बताउनुभयो । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगतको म्याग्दी र मुस्ताङ क्षेत्रको काम गर्न सञ्चालित आयोजना मार्फत गत पुषदेखि सुरु भएको ११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक स्तरवृद्धि योजनाको हालसम्म ३५ प्रतिशत प्रगती भएको छ ।

जोमसोमदेखि कोरला सम्मको सडकलाई ७ वटा प्याकेजमा बाँडेर ११ मिटर फराकीलो र नाली बनाउने तथा विभिन्न ठाउँमा पुल र पर्खाल बनाउने काम तिब्र बनाइएको छ । यो सडकलाई प्रदेश नम्बर ४ को “भाग्यरेखा” मानिएको छ । Road Bistarसडकले पुर्वाधार, आर्थिक, ब्यापारीक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले बताउनुभयो ।

कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तिर्थयात्रीको आगमन बढ्ने, स्थानीयबासीलाई सुबिधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरुमा जलविद्युतको विकास हुने अपेक्षा गरिएको छ । यस सडकको बैकल्पीक रुट नभएकाले स्तरवृद्धिको काम गर्दा सवारी आवागमन प्रभावित भएको छ । सवारी साधनलाई रोकेर सडक विस्तारको काम गर्नुपर्ने समस्या भएको हो ।

यसैबिच बेनी–जोमसोम सडकमा आईतबारदेखि रातीमा पनी सवारी साधन सञ्चालन हुन थालेका छन् । बर्षा कम हुदै गएको र सवारी साधनको चाप बढेकाले गत साउन ५ गतेदेखि रातीको समयमा बन्द गरिदै आएको गलेश्वर–दाना खण्डमा दुई महिनापछि नियमित सवारी सञ्चालनका लागि खुल्ला गरिएको हो ।

भौगोलिक रुपमा बिकट र जोखिमयुक्त सडकमा बर्खा र रातको समयमा सवारी सञ्चालन गर्दा दुर्घटना हुने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय र यातायात व्यवसायीको समझदारीमा साँझ ६ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको थियो ।

मौसममा सुधार आएसंगै जोखिम घटेको र मुस्ताङ भ्रमण, सोह् श्राद्धमा कागबेनीमा पिण्डदान गर्ने र मुक्तिनाथ तिर्थयात्रामा आउनेहरुको चाप बढेकाले नियमित सवारी सञ्चालन हुन थालेको बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले बताउनुभयो ।

रातीमा सवारी सञ्चालन बन्द गर्दा दिउँसोको समयमा जाम हुने समस्या देखिएको थियो । यसैगरी विभिन्न ठाउँमा सडक विस्तारको काम भैरहेकाले सवारी चालक र यात्रुहरुलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

आकाशे बर्षा हुदा बेगखोला र घट्टेखोलामा बाढी तथा जलथले र बादरजुङ भिरमा पहिरो खस्ने समस्या छ । हिडीरहेको अवस्थामा भिरबाट खसेको ढुङ्गाले लागेर साउन यता दुई जनाको ज्यान गएको छ भने तिन जना घाइते भएका छन् ।