संविधान विश्वकै उत्कृष्ट

काठमाडौँ, असोज ३ गते ।

bidya devi bhandariराष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको शुभकामना सन्देशमा नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महŒवपूर्ण ऐतिहासिक दिन भएको उल्लेख गर्नुभएको छ ।
“संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रादेशिक र सङ्घीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ । यी सबै निर्वाचनले राज्य सञ्चालनका संवैधानिक र कानुनी व्यवस्था एवं लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गर्नेछन् भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ ।
आजको दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा मिल्ने र यसप्रति सबै नेपाली कृत्सङ्कल्पित हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानले धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको उल्लेख गर्नुभएको छ ।
संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउँदै उहाँले सन्देशमा कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा केन्द्रित रहनु जरुरी भएकामा जोड दिनुभएको छ ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनसँगै राजनीतिक सङ्क्रमण पूर्ण अन्त्य भई देश आर्थिक समृद्धिको यात्रामा द्रुततर गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । संविधान दिवसका अवसरमा सोमबार देशवासीलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले ‘समय परिस्थितिअनुसार संविधान पनि अझै समृद्ध बन्दै जाने विश्वास’ व्यक्त गर्नुभएको छ । निर्धारित समयभित्र संविधानको पूर्ण कार्यान्वयनले देशको आर्थिक सामाजिक रूपान्तरण हुने उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “संविधान दिवसले समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास लिएको छु । ”
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले हामी सबैलाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना गर्दै यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ । उहाँले सङ्घीयता, शक्ति पृथकीकरण र सन्तुलन, आवधिक निर्वाचन, मानवाधिकार, सहभागितामूलक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायपालिका, संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रतिको सम्मान एवं समाजवादोन्मुख अर्थतन्त्रलगायत गुणलाई संविधानले अङ्गीकार गरेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले सन्देशमा यसको सफल कार्यान्वयनका लागि यसले निर्दिष्ट गरेको लोकतान्त्रिक संस्थाहरूको सबलीकरण गर्दै अगाडि बढ्नु आवश्यक रहेकामा जोड दिनुभएको छ । स्थानीय, प्रान्तीय र सङ्घीय तहको निर्वाचनसँगै मुलुक सङ्क्रमणकालीन अवस्था पार गर्दै राजनीतिक स्थायित्व र आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्रीको भनाइ छ ।
संविधान जीवन्त र गतिशील दस्तावेज भएको बताउँदै सन्देशमा प्रधानमन्त्री देउवाले यसलाई जीवन्त राख्न असल राजनीतिक संस्कार, नागरिक सचेतना र सुशासन अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । समाजमा व्याप्त गरिबी, असमानता, भोक, रोग, अशिक्षा र कलहका खाडललाई पुर्दै जाँदा मात्र संविधानले परिलक्षित गरेका महŒवपूर्ण गन्तव्यमा पुग्न सकिने बताउँदै उहाँले यसका लागि सबै एकजुट र दत्तचित्त भएर लाग्नुपर्ने उल्लेख गर्नुभएको छ । gorkhapatraonline