ताजा समाचार:
Search

बेनीमा एकिकृत सम्पत्तीकर लागू गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ असोज । म्याग्दीको बेनी नगरपालीकामा आगामी आर्थिक वर्ष २०७५६७ देखि एकिकृत सम्पत्तीकर लागु हुने भएको छ ।IMG_8012एकिकृत सम्पत्तीकर लागु गर्ने नगरसभाको निर्णय कार्यान्वयनका लागि कार्यपालीका बैठकबाट कार्यबिधी पारित गरेको नगरपालीकाले सम्पत्ति मूल्याङ्कन समिति गठन गर्नुका साथै सरोकारवालाहरुसंग छलफल अघि बढाएको छ ।

नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा कार्यपालीका सदस्य कृष्णकुमार विश्वकर्मा, कार्यकारी अधिकृत विश्वामित्र कुईकेल, उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, ईञ्जिनियर बिमलरञ्जन कार्की, मालपोत कार्यालयका प्रतिनिधि र नगर प्रमुखले नियुक्त गर्ने एक सदस्य रहनेगरी सम्पत्ती मूल्याङकन समिति गठन भएको छ ।

२०७५ साउन १ गतेदेखि एकिकृत सम्पत्तीकर संकलन सुरु गर्ने लक्ष्य सहित कार्ययोजना अनुसार तयारी सुरु गरिएको नगर प्रमुख श्रेष्ठले सोमबार आयोजित सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिनुभयो ।

“एकिकृत सम्पत्ती करको बारेमा नगरबासीलाई जानकारी गराउनेसंगै विभिन्न प्रक्रिया पुरा गर्न काम अघि बढाएका छौ” नगर प्रमुख श्रेष्ठले भन्नुभयो “नगर क्षेत्रभित्रका जग्गा र संरचना भएका सबैलाई वैज्ञानीक करको दायरामा ल्याउन एकिकृत सम्पत्तीकर लागु गर्न लागीएको हो ।”
मालपोत कार्यालयसंग समन्वय गरेर नगरबासीको अचल सम्पत्ती (घरजग्गा) को विवरण संकलन, मूल्याङ्कन र कर निर्धारण गरेपछि कार्यान्वयन गरिने नगरपालीकाले जनाएको छ ।
अन्तरक्रियाको सहजिकरण गर्दै नगर प्रशिक्षण केन्द्र पोखराका हरिकृष्ण कोईरालाले सम्पत्तीको आधारमा तिरीने, जग्गा र संरचनाको पटक पटक कर तिर्न नपर्ने हुँदा दोहोरो नपर्ने, आफूले तिर्नुपर्ने रकमको बारेमा पहिलेनै जानकारी हुने भएकाले एकिकृत सम्पत्तीकर वैज्ञानीक र बढी न्यायोचित भएको बताउनुभयो ।

नगर उपप्रमुख सञ्जु बरुवालले नगर क्षेत्रको विकासका लागि कर जरुरी रहेको बताउदै एकिकृत सम्पत्तीकर दिगो र भरपर्दो बलीयो स्रोत भएको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अधयक्ष जिवनबहादुर विश्वकर्माले करको दायरा फराकीलो बनाउनु सकारात्मक भएको बताउदै नगरबासीलाई खुसी भएर कर तिर्न अग्रसर हुने वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यकारी अधिकृत विश्वामित्र कुईकेलले वडा अध्यक्ष र सचिवहरुसंग एकिकृत सम्पत्तीकर लागु गर्ने विषयमा यसअघिनै छलफल गरिएको बताउनुभयो । वडा स्तरमा समेत सरोकारवालाहरुलाई एकिकृत सम्पत्तीकरको बारेमा शिक्षा प्रदान गरिने कार्यकारी अधिकृत कुईकेलले बताउनुभयो ।

अन्तरक्रियमा सहभागी राजनितिक दल, उद्योग वाणिज्य संघ र नागरीक समाजका प्रतिनिधिले बेनी नगरपालीकामा एकिकृत सम्पत्तीकर कार्यान्वयन गर्न सघाउने प्रतिवद्धता जनाएका थिए । नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्की र नागरीक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।