पर्वतमा हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा १३ जना घाइते, २ को अवस्था गम्भीर

विकल्प न्यूज/पर्वत
असोज १ गते ।

hightension-lineपर्वतको मोदी गाउँपालिका–८ चित्रेमा नेपाल विद्युत प्राधिकरणको ११ केभिएको हाइटेन्सन लाइन चुँडिएर करेन्ट लाग्दा दुई स्कूले बालिकासहित १३ जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

आइतबार दिउँसो ४ बजे विद्युत प्रवाह भइरहेको लाइन चुँडिएर घरमा वितरण गरिएको तल्लो लाइनमा करेण्ट प्रवाह हुँदा १३ जना घाइते भएका हुन् ।  चित्रेको ओडारे, स्यानी उकाली र तोरिस्वाँरा गरी छुट्टाछुट्टै स्थानमा करेण्ट प्रवाह भएको थियो ।
हाइटेन्सन लाइन चुँडिएपछि दुई स्कुले विद्यार्थीसहित १३ जना घाइते भएका हुन् । घाइते मध्ये स्कुलबाट घर फर्कँदै गरेका १२ वर्षीया आरती परियार र सन्तोषी विकको हात करेण्टले जलेको र शरिरको अन्य भागमा समेत करेण्ट लागेको स्थानीय पञ्चकोशी आधारभुत विद्यालयका प्रधानाध्यापक मधुसुधन अधिकारीले जानकारी दिनुभयो ।

उनीहरुको अवस्था गम्भीर रहेको उपचारका लागि पोखरा लगिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछानेका अनुसार घटनास्थलमा प्रहरीको टोली जाँदै छ । घटनाका सन्दर्भमा नेपाल विद्युत प्राधिकरण पर्वतका केन्द्र प्रमुख विजयराज रेग्मीले हाइटेन्सनको लाइन चुँडिएर घटना घटेको भन्ने बुझिए पनि घटनाबारे थप जानकारी नआइसकेको बताउनुभयो । ujyaaloonline