ताजा समाचार:
Search

नागीमा कोशेली घर

सन्तोष गौतम/ विकल्प न्यूज
भदौ २६ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नांगीका उद्यमीहरुले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर (बिक्री कक्ष) स्थापना गरेका छन् ।

Nagi Ko Kosali Ghar

अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग अन्तरगत पर्ने नांगीको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नांगी स्थित सामुदायिक लज परिसरमा कोशेली घर स्थापना गरेका हुन् ।

वडा कार्यालयको सहयोग र उद्यमीहरुले श्रमदान गरेर दुई लाख रुपैयाँको लागतमो बिक्री कक्ष भवन निर्माण गरिएको उद्यमी जसमाया पुर्जाले बताउनुभयो । बिक्री कक्षमा नांगीमा उत्पादीत नेपाली कागजबाट तयार गरिएको डायरी, सपीङ ब्याग, नोटबुक, ल्याम्पसेट, कागजका गहना, स्वीटर, टोपी, झोला, आरुबखडाको जाम, च्याउ लगायतका सामाग्री राखिएको छ ।

नांगी भ्रमणमा आउने पर्यटकहरुले कोशेलीको रुपमा ति सामान किनेर लैजान सजिलो होस भनेर बिक्री कक्ष सञ्चालन गरिएको उद्यमी राममाया पुनले बताउनुभयो । उद्यमीले तयार पारेका सामाग्री कोशेली घरमा संकलन गरि बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

उद्यमीहरुलाई सामान बेच्न र पर्यटकलाई नांगी गाउँको पहिचानको रुपमा सामान किनेर लैजान सजिलो भएको छ । ७ जनाले नेपाली कागजबाट सामान बनाउने र १५ जनाले झोला, स्विटर, टोपी, गलबन्दि बुन्न तथा जाम बनाउने गर्दै आएका छन् ।

सामान बिक्री गर्न बजार जाँदा धेरै समय लाग्नुका साथै उचित मूल्य नपाउने समस्या भएपछि कोशेली घर सञ्चालन गरिएको उद्यमी कुमारी चोचाङगीले बताउनुभयो । बिक्री कक्ष रहेको भवनमा मगर संग्रहालय समेत सञ्चालन गर्ने उनीहरुको योजना छ । संग्रहालय सञ्चालनका लागि मगर समुदायको दैनिक जिवनयापनमा प्रयोग हुने परम्परागत सामाग्रीहरु संकलन गर्न थालीएको छ ।

नांगीका उद्यमीहरुलाई लघुउद्यम विकास कार्यक्रम र गरिबी निवारण कोषले तालीम, घुम्ती कोष र बजारीकरणमा सघाउदै आएका छन् । दन्द्ध प्रभावीतका लागि बजार निर्माण परियोजना अन्तरगत दुई वटा उत्पादन समूहमा आवद्ध उद्यमीलाई गरिबी निवारण कोषले घुम्ती कोष सञ्चालनका लागि चार लाख रुपैया भन्दा बढी उपलब्ध गराएको छ ।

यसैगरी परम्परागत सिपको संरक्षण, व्यवसायिक उत्पादन र आधुनिक औजारको प्रयोग सम्बन्धि तालीमका साथै विभिन्न ठाउँमा प्रर्दशनीको व्यवस्था मिलाएको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रका कार्यक्रम संयोजक रमेश पौडेलले बताउनुभयो ।