ताजा समाचार:
Search

यसरी भएको थियो म्याग्दीको नामाकरण

कर्णबहादुर बानियाँ / विकल्प न्यूज
भदौ २६ गते ।
विषय प्रवेश
karna baniyaम्याग्दी जिल्ला चार नम्बर प्रदेशमा पर्ने एक पहाडी भू–भाग हो । यो जिल्लाको पूर्वमा मनाङ, कास्की र पर्वत, पश्चिममा बाग्लुङ र रुकुम, उत्तरमा डोल्पा र मुस्ताङ तथा दक्षिणमा बाग्लुङ जिल्ला पर्दछन् । मध्यकालमा वर्तमान म्याग्दी जिल्लाले चर्चेको भू–भागमा ‘पर्वत राज्य’ नामक एक स्वतन्त्र राज्य थियो । पर्वत राज्य नेपालमा गाभिएपछि यो क्षेत्र नेपालको एक प्रशासनिक एकाइको रूपमा मात्र रहन गयो ।

पाल्पा गौँडाको स्थापनापछि यो क्षेत्रको प्रशासन सोही गौँडाबाट सञ्चालन भयो । राणा शासनको पतनपछि यो क्षेत्रको प्रशासन बाग्लुङ जिल्लाले हेर्दथ्यो । वि.सं. २०१८ सालमा नेपाललाई चौध अञ्चल र पचहत्तर जिल्लामा विभाजन गरिएपछि यो क्षेत्रलाई धवलागिरी अञ्चल अन्तरगतको एक प्रशासनिक एकाइको रूपमा राखियो जसको नाम ‘म्याग्दी जिल्ला’ रहन गयो ।
राणा शासनको अन्त्यपछि नेपालको प्रशासनिक व्यवस्थामा पनि अनेकौँ परिवर्तनहरू भए । केन्द्रीय प्रशासन यन्त्रमा भएको फेरबदललाई सुचारु रूपले सञ्चालन गर्नका लागि स्थानीय प्रशासन यन्त्र पनि सबल र सक्षम बनाउन आवश्यक थियो । तर कतिपय जिल्लामा भौगोलिक कठिनाइका कारण उक्त कार्य सहज थिएन ।

त्यसकारण नेपालको प्रशासनिक विभाजनलाई सहज र सरल बनाउने कुरा प्रजातन्त्रको अभ्यूदय हुँदासाथ उठेको हो तापनि सो कार्य धेरै वर्षपछि मात्र कार्यान्वयन भयो ।
वि.सं. २०१८ साल कार्तिक १६ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरियो । त्यतिखेर तत्कालीन बाग्लुङ जिल्लालाई धवलागिरी अञ्चल कायम गरी त्यस अन्तरगत बाग्लुङ, म्याग्दी, मुस्ताङ र डोल्पा नामका चार वटा जिल्ला राखिएको थियो ।

यो प्रशासकीय क्षेत्र विभाजनले थुप्रै नयाँ जिल्लाको स्थापना भएको थियो । ती जिल्लाहरूमध्ये म्याग्दी पनि एक हो । यो जिल्लाको भौगोलिक क्षेत्र पूर्वमा कालीगण्डकी र रघुगङ्गा (पर्वत र मुस्ताङ जिल्ला), उत्तरमा रघुगङ्गा र धवलागिरी हिमाल (मुस्ताङ र डोल्पा जिल्ला), पश्चिममा भुजीखोला (बाग्लुङ र रूकुम जिल्ला) र दक्षिणमा ढोडेनीखोलाबाट सोलेडाँडाहुँदै निसकोट (बाग्लुङ जिल्ला) तोकिएको थियो ।

मुलुकको प्रशासनलाई विकेन्दीकरणको माध्यमबाट सहज र सरल बनाउने उद्देश्यले नेपाललाई विभिन्न अञ्चल र जिल्लामा विभाजन गरिएको भएतापनि कतिपय जिल्लाहरूमा धेरै वर्षसम्म पनि अलगै किसिमका जिल्ला स्तरीय प्रशासनिक निकायहरू स्थापना गरिएको थिएन ।

ती क्षेत्रमा पहिलेदेखि चल्दैआएको परम्परा अनुसार नै प्रशासन सञ्चालन हुँदै आएको थियो । धवलागिरी अञ्चलमा पनि अलगअलग चार जिल्ला त स्थापना गरिएको थियो तर जिल्लामा कुनै किसिमका प्रशासकीय निकाय स्थापना नगरिएको हुनाले वि.सं. २०२२ सालसम्म बाग्लुङमा रहेको गौँडाबाट नै प्रशासन सञ्चालन भइरहेको थियो ।

जिल्लामा के कस्ता प्रशासनिक निकाय आवश्यक पर्ला र तिनीहरूलाई के कस्ता अधिकार दिनु पर्ला भन्ने कुराको निधो नभइसकेको र स्थानीय स्वायत्त शासनलाई गाउँगाउँसम्म पु¥याउने उद्देश्य रहेको हुनाले वि.सं. २०१८ सालमा गाउँ पञ्चायत ऐन जारी गरी नेपालभर गाउँ पञ्चायतको निर्वाचन सम्पन्न गरियो ।

त्यतिखेर म्याग्दी जिल्लामा २१ वटा गाउँ पञ्चायत गठन गरिएको थियो । त्यसपछि जिल्ला पञ्चायत ऐन २०१९ जारी गरी ७५ वटै जिल्लामा निर्वाचन सम्पन्न गरी जिल्ला पञ्चायत गठन गरियो । यही सिलसिलामा म्याग्दी जिल्लामा पनि ११ सदस्यीय जिल्ला पञ्चायत गठन गरिएको थियो ।

जिल्ला पञ्चायतको गठनपछि प्रशासन सञ्चालनका लागि जिल्ला पञ्चायतका सभापतिको अध्यक्षतामा पञ्चायत विकास अधिकारी सचिव रहने गरी प्रशासकीय कार्यालय स्थापना गरियो । यस किसिमको व्यवस्थाले अन्यत्र जस्तै म्याग्दी जिल्लामा पनि स्थानीय प्रशासनको जग बस्यो । तर पुरानो परिपाटी अनुसार गौँडाको सदरमुकाममा बडाहाकिम रहने र नयाँ व्यवस्था अनुसार अञ्चल सदरमुकाममा अञ्चलाधिश रहने व्यवस्थाले बडाहाकिम र अञ्चलाधिशबीच क्षेत्राधिकार बारे विवाद उत्पन्न गराएको थियो ।
यही कुरा महसुस गरेर वि.सं. २०२२ सालमा ‘स्थानीय प्रशासन व्यवस्था ऐन’ जारी गरियो । त्यसपछि गौँडा, गोश्वारामा रहेका बडाहाकिमको पद खारेज गरियो । यो ऐन लागू भएपछि जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारी रहने र उनको मातहतमा जिल्लाका सम्पूर्ण कार्यालयहरू रहने व्यवस्था गरियो ।

वि.सं.२०२२ साल चैत्रमा गरिएको यो व्यवस्था नयाा वर्षदेखि कार्यान्वयन गरिएको हुँदा त्यतिखेर देखि मात्र म्याग्दी जिल्लामा पनि छुट्टै प्रशासनिक निकायको स्थापना भयो र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रशासन सञ्चालन हुन थाल्यो । यसरी वि.सं. २०२३ सालबाट मात्र म्याग्दी जिल्लामा पूर्ण रूपमा स्थानीय प्रशासन शुरु भएको थियो ।
म्याग्दी जिल्लाको भूभाग मध्यकालको गौरवमय इतिहास बोकेको ‘पर्वत राज्य’ का गृष्मकालीन र शीतकालीन दुवै राजधानी भएको क्षेत्र हो । साथै तत्कालीन पर्वत राज्यले चर्चेको अधिकांश भू–भाग पनि यही क्षेत्रमा पर्दछ । त्यसकारण यो जिल्लाको नाम ‘पर्वत जिल्ला’ राखिएको भए यो क्षेत्रको ऐतिहासिकता समेत झल्कने थियो । तर त्यसो गरिएन र यो जिल्लाको नाम म्याग्दी राखियो ।
यो जिल्लाको नाम किन म्याग्दी रहन गयो भन्ने कुरा निकै चाखलाग्दो छ । हुनत यो जिल्लाको नाम विश्वप्रसिद्ध धवलागिरी हिमालको दक्षिण–पश्चिमी भागबाट उत्पत्ति भइ दक्षिण–पूर्वतिर बहने ‘म्याङदी’ खोलाको नामबाट राखिएको छ जुन कुरा अत्यन्त स्वभाविक छ । म्याग्दी जिल्लाको स्थापना हुने समयमा यसको अधिकांश प्रशासनिक क्षेत्रभित्र ‘म्याङदी’ नदी बहने भएकोले त्यसकै नामबाट यो जिल्लाको नामकरण गरिएको हो भन्ने कुरामा दुई मत छैन ।

यो खोलालाई किन ‘म्याङदी’ भनिन्थ्यो भन्ने विषयमा भने विविध अवधारणा आएका छन् । ती अवधारणाहरू के के हुन् र कुन अवधारणा तर्क सङ्गत छ भन्ने विषयमा प्रकाश पार्नेे उद्देशयले यो लेख तयार गरिएको छ ।
‘म्याग्दी’ नामकरण सम्बन्धी विविध अवधारणाहरू
म्याग्दी जिल्लाको नामकरण धवलागिरी हिमालको उत्तर–पश्चिमबाट उत्पत्ति भएर दक्षिण–पूर्वतिर बहने म्याङ्दी खोलाको नामबाट राखिएको छ । त्यो नदीको नाम कसरी म्याङ्दी रहन गयो भन्ने सम्बन्धमा तीनथरी मत देखा परेका छन्–
(१) कसैकसैले यो नामलाई पौराणिक कथासँग जोडेर हेर्ने गरेको पाइन्छ । उनीहरूको विचारमा दुर्गासप्तशतीमा वर्णित ‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी’ भन्ने देवीका सहस्र नाममध्ये एउटा ‘मङ्गला’ हो र यो क्षेत्र ‘जयन्ती, मङ्गला र काली’ को सङ्गमस्थल हो; त्यही मङ्गला भन्ने नाम कालान्तरमा अपभ्रंश भई ‘म्याङ्दी’ बनेको हो र त्यसको परिष्कृत रूप ‘म्याग्दी’ हो ।
(२) अर्काथरीको भनाइमा म्याग्दी नदीको पुरानो नाम ‘मायानदी’ हो र त्यही शब्द अपभ्रंश भएर ‘म्याग्दी’ बनेको हो ।
(३) तेस्रो अवधारणा अनुसार ‘म्याग्दी’ नदी बहने मुख्य भूमिमा प्राचीनकालदेखि नै मगरको बस्ती भएको पाइन्छ र यो क्षेत्रका गाउँ, ठाउँ, नदी र पहाडको नाम मगर भाषाबाट रहेको पाइन्छ । त्यसकारण यो नदीको नाम पनि मगर भाषाबाटै रहेको हुनुपर्दछ ।
प्रस्तुत अवधारणाहरूको विवेचना
पहिलो अवधारणा अनुसार म्याग्दीको नामकरण दुर्गासप्तशतीमा वर्णित ‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी’ भन्ने देवीका सहस्र नाममध्ये एउटा ‘मङ्गला’ हो । यो क्षेत्र ‘जयन्ती, मङ्गला र काली’ को सङ्गमस्थल हो । त्यही मङ्गला भन्ने नाम कालान्तरमा अपभ्रंश भई ‘म्याङ्दी’ बनेको हो र त्यसको परिष्कृत रूप ‘म्याग्दी’ हो भन्ने भनाइ समाज विकासको क्रमसँग मेल खाने खालको छैन । किनभने वर्तमान म्याग्दी जिल्लाको सदरमुकामको आसपासका क्षेत्र ज्यामरुक, पुला, मल्लाज र राखुमा पौराणिककालदेखि नै आर्य र खस जातिका मानिसको आवतजावत र बसोबास भएको पाइन्छ । पुलस्त्य, पुलह र भरत ऋषिले रघुगङ्गा, म्याग्दी र कालीको संगमस्थलमा तपस्या गरेको कुरा पुराणहरूमा उल्लेख छ । त्यसकारण आर्य र खस जातिका मानिसले काली, म्याग्दी र रघु गङ्गालाई ‘काली, मङ्गला र जयन्ती’ भनेका हुन सक्दछन् ।

तर ‘जयन्ती, मङ्गला र काली’ भन्ने नाम ती नदीको सङ्गम स्थलमा मात्र प्रचलित भएको देखिन्छ । म्याग्दी नदीको मुख्य बहाव क्षेत्रमा मगर जातिको बसोबास भएको पाइन्छ र उनीहरूले त्यो नदीको नाम आफ्नै भाषामा ‘म्याङ्दी’ भन्ने गरेको पाइन्छ । अहिले पनि म्याग्दी नदीको आसपासमा ‘मङ्गला’ नामबाट पुकारिने बेनीबजारको पश्चिमी भागमा ‘मङ्गलाघाट’ नामक एउटा सानो बजार छ भने बाबियाचौरमा ‘मङ्गला’ नामक एउटा शैक्षिक संस्था छ । ती नाम बाहेक अन्य अधिकांश स्थानमा यसलाई ‘म्याङ्दी खोलो’ भनिन्छ र यो नदीको आसपासका बासिन्दालाई ‘म्याङ्दी खोले’ भनिन्छ । त्यसकारण यो नदीको नामकरण दुर्गासप्तशतीमा वर्णित ‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी’ भन्ने देवीका सहस्र नाममध्येको ‘मङ्गला’ भन्ने नामबाट ‘म्याङ्दी’ भएको हो भन्ने भनाई युक्तिसङ्गत देखिँंदैन ।
दोस्रो भनाइ अनुसार म्याग्दी नदीको पुरानो नाम ‘मायानदी’ हो र त्यही शब्द अपभ्रंश भएर ‘म्याग्दी’ बनेको हो भन्ने भनाइ पनि आधारहीन देखिएकोले यसका बारेमा विशेष चर्चा गर्नुपर्ने आवश्यकता देखिएको छैन ।
तेस्रो अवधारणा अनुसार ‘म्याग्दी’ नदी बहने मुख्य भूमिमा प्राचीनकालदेखि नै मगरको बस्ती भएकोले यो क्षेत्रका गाउँ, ठाउँ, नदी र पहाडको नाम मगर भाषामा रहेको हुनु पर्दछ भन्ने भनाई सान्दर्भिक देखिन्छ । किनभने कुनैपनि गाउँ, ठाउँ, नदी वा पहाडको नाम त्यो क्षेत्रमा बस्ने जातिले बोल्ने भाषाको आधारमा रहन गएको हुन्छ । कुनै स्थानको नामकरण कसरी हुन्छ भन्ने सन्दर्भमा स्थाननाम कोशमा यस्तो लेखिएको छ– ‘जनताजनार्दन नै स्थाननामको स्रष्टा हो । त्यसैले स्थाननाम हाम्रो भाषिक तथा सांस्कृतिक निधि हो ।
वास्तवमा भन्ने हो भने जुनसुकै नाम पनि कुनै न कुनै जातजातिको रचनात्मक सिर्जनाको परिचायक हो ।’ साथै स्थाननामको भाषिक ब्याख्या कसरी गर्ने भन्ने विषयमा उक्त पुस्तकमा यस्तो लेखिएको छ– ‘नेपालका स्थाननामहरूको स्रोतलाई दुई भागमा विभाजित गर्न सकिन्छ । देशको उत्तरी भेकतिर तिब्बती–बर्मेली भाषा परिवारसँग सम्बद्ध स्थाननामहरू पाइन्छन् भने दक्षिणी भेकतिर चाहीँ भारोपेली भाषा परिवारसित सम्बद्ध स्थाननामहरूको प्राचुर्य छ । पहिलो वर्गका स्थाननामहरू किराँती (राई, लिम्बु), मगर, गुरुङ, तामाङ, तिब्बती (सेर्पा, भोटे, सौका), थकाली, नेवारी आदि भाषाहरूमा छन् भने दोस्रो वर्गका स्थाननामहरूको मुहान नेपाली (खस), मैथिली, भोजपुरी, थारू, अवधी, हिन्दी, अरबी र संस्कृत भाषाहरू हुन् । प्रथम वर्गमा पर्ने स्थाननामहरूको अन्तमा ‘लङ (लुङ)’, ‘जोङ (जुङ)’, ‘ला’, ‘लग्ना’, ‘दि’, ‘खु’, आदि प्रत्यय रहन्छन् । मोटामोटी रूपमा ‘ङ’ कारमा अन्त हुने सबै स्थाननामहरू यसै वर्गभित्र पर्दछन् । दोस्रो वर्गका स्थाननामहरूको अन्त्यमा ‘टार’, ‘बेँसी’, ‘चौर’, ‘गढी’, ‘कोट’, ‘गञ्ज’, ‘पुर’, ‘बजार’, ‘गाउँ’, आदि आउँदछन् ।’
माथिको भनाइलाई दृष्टिगत गर्दा के स्पष्ट हुन्छ भने ‘म्याङदी’ मगर भाषाको शब्द हो । किनकि यसको अन्त्यमा ‘दी’ प्रत्यय आएको छ । गण्डकी, धवलागिरि, लुम्बिनी र राप्ती भेक बढी मात्रामा मगर जातिको बसोबास भएको क्षेत्र हो । प्राचीनकालदेखि मध्यकालको पूर्वाद्र्धसम्म यस क्षेत्रमा मगर राजाहरूका ‘थुम’ राज्यहरू भएको पाइन्छ । त्यसकारण यस क्षेत्रलाई ‘मगराँत’ भनिन्छ । अर्को कुरा म्याग्दी नदीको उत्पत्तिदेखि यसको बहाव क्षेत्रका आसपासका अधिकांश स्थानहरूमा पहिलो आवादी मगरहरूको भएको पाइन्छ । किनभने ती क्षेत्रका नामहरू जस्तै– मुदी, मल्कवाङ, खिवाङ, मराङ, शिवाङ, राजदाङ, मगरदाङ, दर्बाङ, रनबाङ, थाइवाङ, भाइवाङ, कोत्रवाङ, बराङजा, सिङ आदि मगर भाषाबाट आएका छन् । अतः स्थाननाम कोशमा भनिए झैँ ‘कुनै स्थानको नामकरण सम्बन्धी ब्याख्या भाषिक आधारमा’ गर्ने हो भने म्याग्दीको नामकरण मगर भाषाबाट भएको हो भन्ने ठहर गर्नुपर्ने हुन्छ ।
उपर्युक्त तथ्यहरूको आधारमा के भन्न सकिन्छ भने ‘म्याग्दी’ मगर भाषाको शब्द हो । यो शब्दलाई कसैले ‘मेङदी’ भनेका छन् भने कसैले ‘म्याङ्दी’ भनेका छन् । मगर भाषामा यो शब्दको अर्थ के हुन्छ भन्ने विषयमा पनि विद्वानहरूको मत बाझिएको छ र फरकफरक विचार आएको छ ।
एकथरी विद्वानहरूले यो नदीलाई मगर भाषामा ‘मेङदी’ भनिन्थ्यो भनेका छन् । म्याग्दी नदीको उद्गमस्थल मुदीदेखि कालीगण्डकीमा समाहित हुने बेनीसम्मको भू–भागमा पर्ने ताकम, पुला र ज्यामरुककोटमा ‘मेङ’ थर भएका मगरहरूको राज्य थियो । ती मगर राजाहरूलाई बगाले थापा भनिन्थ्यो । त्यही ‘मेङ वंशी’ बगाले थापाहरूको राज्यमा बहने भएकोले यो नदीलाई ‘मेङदी’ भनिन्थ्यो । त्यही मेङदीलाई कालान्तरमा म्याग्दी भन्न थालिएको हो भन्ने उनीहरूको जिकिर छ । यो भनाइले परम्परागत रूपमा चल्दै आएका मान्यतालाई तोडिदिएको छ । पहिलो कुरा कुनैपनि जातिको प्रभाव रहेको क्षेत्रमा सानो एकाइको नाम मात्र नभएर पुरै भू–भागको नाम नै उसको भाषाबाट रहेको हुन्छ ।
यदि यो क्षेत्रको नाम ‘मेङवंशी’ शासकहरूको राज्यबाट भएको हो भने नदीको नाम मात्र यो शब्दबाट नरहेर राज्यको नाम नै ‘मेङदी’ रहनु पर्ने हो । साथै थापाहरूका अलगअलग राज्य नभएर एउटै राज्य हुनुपर्ने हो । अर्को कुरा बगाले थापा वंशावलीमा कालु थापालाई ब्राह्मणबाट जन्मिएका क्षत्री भनिएको छ । त्यसकारण कालु थापाका सन्तानलाई मगर भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठ्दछ । तेस्रो कुरा ताकम, पुला र ज्यामरुककोटमा थापाहरूको राज्य खस साम्राज्यको पतनपछि मात्र अस्तित्वमा रहेको देखिन्छ । ती राज्यहरूलाई पन्ध्रौँ शताब्दीमा समालवंशी राजाहरूले पराजित गरेर आफ्नो राज्यमा गाभेका थिए । त्यसकारण मध्यकालभन्दा पहिले नै अर्थात् प्राचीनकालदेखि नै यो क्षेत्रमा मानव बसोबास भएकोले यहाँका बासिन्दाहरूले यो नदीलाई कुनै न कुनै नामबाट पुकारने गरेको हुनु पर्दछ । अतः यो नदीको नाम ‘मेङवंशी’ शासकहरूको नामबाट रहेको हो भन्ने भनाइ युक्तिसङ्गत देखिँदैन ।
यो क्षेत्रमा बसोबास गर्ने मानव समुदायमा मगर र खस जातिको बाहुल्य देखिएकाले यिनै जातिहरूको भाषाबाट यस क्षेत्रका गाउँ, ठाउँ, नदी र पर्वतहरूको नामकरण गरिएको कुरामा विद्वानहरूबीच मतैक्यता छ । साथै ‘म्याग्दी नदी’ को नाम मगर भाषाबाट रहन गएको हो भन्ने कुरामा पनि विद्वानहरू सहमत छन् । म्याग्दी नदी धवलागिरी हिमालको उत्तर–पश्चिमी पाखाबाट उत्पत्ति भएर कैयौँ गाउँ, ठाउँ पारगर्दै दक्षिण–पूर्वतिर बग्दै गएर बेनीबजारमा पुग्दा कृष्णगण्डकीमा मिसिन गएको छ । यो नदीको बहाव क्षेत्रका आसपासमा दुवैतिर खेतका फाँट बनेका छन् । साथै यो नदीका धेरै ठाउँबाट जङ्घार तरेर नदीको वारपार आवतजावत गर्न सकिन्छ । त्यसकारण यो नदीको आसपासका बासिन्दाको जीवनमा यो नदी आवश्यक साधन बन्दै आएको छ । मानिसहरूले यो नदीको पानी पिउने र नुहाउने काममा प्रयोग गर्दै आएका छन् । यस क्षेत्रका अन्य नदीको पानी पिउन योग्य छैन तर म्याग्दी नदीको पानी पिउनका लागि मिठो र निर्मल छ । अतः यो नदीको पानी पिउनलाई स्वादिलो भएको अर्थमा यसको नाम रहन गएको हो भन्न सकिन्छ ।
मगर–रोमन–नेपाली–लिम्बु–अङ्ग्रेजी संक्षिप्त शब्दकोशमा उल्लेख भए अनुसार मगर भाषामा कुनै पनि चिजको स्वाद थाहा पाउन चाख्नुलाई ‘म्याङके’ भनिन्छ । म्याग्दी नदीको पानी निर्मल र स्वादिलो भएकोले यो पानीलाई मगर भाषामा ‘म्याङके डी’ भनिएको र विस्तारै ‘के’ लोप भएर ‘म्याङ डी’ मात्र भन्न थालिएको हुन सक्दछ । ‘म्याङके’ को अर्थ स्वादिलो र ‘डी’ को अर्थ पानी भन्ने हुन्छ । स्वादिलो पानी भएकोले यो नदीलाई ‘म्याङ डी’ भनिन्थ्यो । अनि यसको आसपासको क्षेत्रलाई ‘म्याङ्दी खोला’ भनिन्थ्यो । वि.सं.२०१८ सालमा रघुगङ्गादेखि पश्चिमको म्याङ्दी खोलाको आसपासको क्षेत्रलाई अलगै जिल्ला कायम गरिएपछि यस जिल्लाको नाम नै यही नदीको नामबाट रहन गयोे । त्यसपछि ‘म्याङ्दी’ नामलाई परिष्कृत गरी ‘म्याग्दी’ भन्न थालियो भन्ने भनाइ अन्य अवधारणाभन्दा बढी तार्किक छ ।
निष्कर्ष
म्याग्दी जिल्लाको नामकरण सम्बन्धमा प्रस्तुत भएका विविध अवधारणाहरूको अध्ययन र विश्लेषणबाट के कुरा स्पष्ट हुन्छ भने यो जिल्लाको नाम ‘म्याङ्दी’ नदीको नामबाट राखिएको हो र ‘म्याङ्दी’ मगर भाषाबाट आएको शब्द हो । स्थाननाम कोशमा दिइएको परिभाषा अनुसार ‘जनताजनार्दन नै स्थाननामको स्रष्टा हो ।’ अर्थात् जुन ठाउँमा जुन जातिको पहिलो बसोबास शुरु भयो त्यहाँका वन, पाखा, जङ्गल, नदी, हिमाल र पहाडका नाम त्यो जातिको भाषाबाट रहनु स्वभाविकै हो । म्याग्दी मगराँत क्षेत्र हो । मगरले बोल्ने भाषा भोट–बर्मेली परिवारको भाषा हो । यद्यपि रघु, म्याग्दी र कालीको दोभानमा पौराणिककालदेखि नै ऋषिमुनिहरूले तपस्या गरेर बस्ने गरेको र उनीहरूले ती नदीलाई जयन्ती, मङ्गला र काली भन्ने गरेको हुन सक्दछ । तर आम जनसमुदायले यी तीनवटै नदीलाई आफ्नै मातृ भाषाको नामबाट पुकार्दथे ।
स्थाननाम कोशमा दिइएको परिभाषा अनुसार भोट–बर्मेली परिवारबाट आएको शब्दको अन्त्यमा ‘लङ (लुङ)’, ‘जोङ (जुङ)’, ‘ला’, ‘लग्ना’, ‘दि’, ‘खु’, आदि प्रत्यय रहन्छन् । ‘म्याङ्दी’ शब्दको अन्त्यमा ‘दी’ प्रत्यय आएको छ । त्यसकारण यो शब्दलाई मगर भाषाको शब्द हो भन्ने ठहर गर्न सकिन्छ । मगर भाषामा ‘म्याङके’ को अर्थ स्वादिलो र ‘डी’ को अर्थ पानी भन्ने हुन्छ । स्वादिलो पानी भएकोले यो नदीलाई ‘म्याङ डी’ भनिन्थ्यो । अनि यसको आसपासको क्षेत्रलाई ‘म्याङ्दी खोला’ भनिन्थ्यो । वि.सं.२०१८ सालमा रघुगङ्गादेखि पश्चिमको म्याङ्दी खोलाको आसपासको क्षेत्रलाई अलगै जिल्ला कायम गरिएपछि यस जिल्लाको नाम नै यही नदीको नामबाट रहन गयोे । त्यसपछि ‘म्याङ्दी’ नामलाई परिष्कृत गरी ‘म्याग्दी’ भन्न थालियो । लेखक बानियाँ, त्रि.वि.का प्रध्यापक हुनुहुन्छ ।