म्याग्दीका पर्यटकीय गन्तब्य र चुनौतीहरू

कर्णबहादुर बानियाँ /विकल्प न्यूज
भदौ २३ गते ।

karna baniyaम्याग्दी जिल्ला नेपालको पश्चिमी क्षेत्रमा रहेको धवलागिरी हिमालको काखमा अवस्थित एक पहाडी भू–भाग हो । वर्तमान संविधानमा गरिएको व्यवस्था अनुसार यो क्षेत्र चार नम्बर प्रदेशमा पर्दछ । मध्यकालमा वर्तमान म्याग्दी जिल्लाले चर्चेको भू–भागमा ‘पर्वत राज्य’ नामक एक स्वतन्त्र राज्य थियो । पर्वत राज्य नेपालमा गाभिएपछि यो क्षेत्र नेपालको एक प्रशासनिक एकाइको रूपमा मात्र रहन गयो । पाल्पा गौँडाको स्थापनापछि यो क्षेत्रको प्रशासन सोही गौँडाबाट सञ्चालन भयो ।
राणा शासनको पतनपछि यो क्षेत्रको प्रशासन बाग्लुङ जिल्लाले हेर्दथ्यो । वि.सं. २०१८ सालमा नेपाललाई चौध अञ्चल र पचहत्तर जिल्लामा विभाजन गरिएपछि यो क्षेत्रलाई धवलागिरी अञ्चल अन्तरगतको एक प्रशासनिक एकाइको रूपमा राखियो जसको नाम ‘म्याग्दी जिल्ला’ रहन गयो ।

वि.सं. २०१८ सालमा म्याग्दी जिल्ला स्थापना हुँदा यसको भू–भाग म्याङदी खोलाको आसपासको क्षेत्र नै बढी थियो जहाँ २१ वटा गाउँ पञ्चायत मात्र थिए । वि.सं. २०३२ सालमा भएको प्रशासनिक हेरफेरले म्याग्दी जिल्लामा निकै परिवर्तन ल्यायो । त्यतिखेर यो जिल्लामा पर्वत जिल्लाबाट काली पारीका सात गाउँ पञ्चायत तथा मुस्ताङ जिल्लाबाट राखुदेखि दानासम्मका बाह्र गाउँ पञ्चायत गाभिएको थियो ।
त्यसपछि बेलाबखतमा गाउँ पञ्चायतका सङ्ख्या र सीमा परिवर्तन भइरहे तापनि यो जिल्लाको भू–भागमा ठूलो परिवर्तन भएको छैन । म्याग्दी जिल्ला ८३ डिग्री ८ मिनेट देखि ८३ डिग्री ५३ मिनेट पूर्वी देशान्तर र २८ डिग्री २० मिनेट देखि २८ डिग्री ४७ मिनेट उत्तरी अक्षांशमा रहेको छ ।
यसको क्षेत्रफल २०,८१२ वर्ग कि.मि. छ । यसको पूर्वमा पर्वत, कास्की, र मनाङ जिल्ला, पश्चिममा बाग्लुङ र रुकुम जिल्ला, उत्तरमा डोल्पा र मुस्ताङ जिल्ला तथा दक्षिणमा बाग्लुङ जिल्ला पर्दछन् । यो जिल्ला प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिले सम्पन्न क्षेत्र हो । अतः यो क्षेत्रमा पर्यटन विकासको प्रचुर संभावना छ । त्यही कुरा उजागार गर्ने उद्देश्यले यो लेख तयार गरिएको छ ।

punahilla-ko-news-3 पर्यटन विकासमा आवश्यक पूर्वाधारहरू
कुनैपनि घुमन्ते व्यक्ति चौबीस घण्टाभन्दा बढी कुनै एक ठाउँमा रहन्छ भने त्यसलाई पर्यटक भनिन्छ । पर्यटकहरू आन्तरिक र बाह्य गरी दुई किसिमका हुन्छन् । आन्तरिक पर्यटकहरू मुलुकभित्रकै कुनै भूभागबाट आउने हुनाले तिनीहरूको सङ्ख्या ठूलो हुन्छ तर उनीहरू सित्तिमिति कुनैपनि ठाउँमा धेरै दिनसम्म बस्न रूचाउँदैनन् । बाह्य पर्यटकहरू विदेशी हुने हुनाले उनीहरूको सङ्ख्या कम हुन्छ र तिनीहरू कुनैपनि ठाउँमा एकदिनभन्दा बढी बस्न सक्दछन् । कुनै पनि व्यक्ति एकै ठाउँमा एकदिनभन्दा बढी बस्नका लागि उसलाई अनुकुल हुने विभिन्न किसिमको वातावरण मिल्नु पर्दछ । dhaulagiri himalघुमन्ते मानिसलाई धेरै दिनसम्म एकै ठाउँमा बसिरहन मन लाग्ने वातावरण बनाउने वा बस्नु पर्ने बाध्यता सिर्जना गर्ने कार्यलाई पर्यटन भनिन्छ । त्यसका लागि कुनै पनि ठाउँमा मनोरञ्जनात्मक वा अनौठा मानिने प्राकृतिक दृश्य वा संस्कृति उपलब्ध हुन आवश्यक छ । यदि कुनै ठाउँमा मनोरम प्राकृतिक दृश्य पनि छ र विविध संस्कृति भएको समाज पनि छ; तर सो ठाउँमा पुग्न आवश्यक पर्ने बाटोघाटो पनि छैन र पर्यटकका लागि आवश्यक पर्ने न्यूनतम खाने बस्ने सुविधा पनि छैन भने त्यस्तो ठाउँमा निश्चित समय छुट्टाएर भ्रमणमा निस्कने व्यक्ति पुग्न सक्ने कुरै हुँदैन । dhaulagiri 2अतः पर्यटन विकासका लागि न्यूनतम यातायातको सुविधा, संचारको प्रबन्ध, होटलबासको प्रबन्ध, शान्ति सुरक्षाको प्रत्याभूति र दृश्यावलोकन गरिने ठाउँहरूको निर्धारण र सहज पहुँचको व्यवस्था हुन आवश्यक छ । साथै पर्यटकहरू तिर्थयात्रीको रूपमा, मनोरञ्जन लिने निहुँमा, फुर्सदको समय बिताउने विचारमा र अनुसन्धानको सिलसिलामा एक ठाउँबाट अर्को ठाउँमा आउनेजाने गर्दछन् । त्यस्ता पर्यटकहरूलाई उनीहरूले चाहे जस्तो अनुकुल वातावरण हुन आवश्यक छ जसलाई पर्यटन गन्तब्य भनिन्छ । यस दृष्टिबाट हेर्दा म्याग्दीमा पर्यटन विकासको प्रसस्त संभावना देखिन्छ । punahilla-ko-news-6म्याग्दीमा पर्यटकीय गन्तब्यका आधारहरू
म्याग्दी पहाडी भू–धरातल भएको र विविध प्रकारको हावापानी, वनस्पति र वातावरण भएको ठाउँ हो । त्यसकारण यहाँको प्राकृतिक दृश्य मनोरम छ । साथै यो क्षेत्रमा विभिन्न जाति र संस्कृति भएका मानिसहरूको बसोबास भएको हुनाले यहाँ सांस्कृतिक विविधता पनि छ । यहाँको प्राकृतिक र सांस्कृतिक विविधतालाई यसरी वर्णन गर्न सकिन्छ–
 मनोरम प्राकृतिक दृश्यहरू
म्याग्दी प्राकृतिक रूपमा विविधता भएको ठाउँ हो । यहाँ प्रकृति प्रेमीहरूलाई मन पर्ने अनेकौं दृश्यहरू विद्यमान छन् । यहाँका नदीनाला, झरना, तालतलैया, हिमश्रृङ्खला, वनस्पति देखेर मन्त्रमुग्ध नहुने को पो होला र ? ती प्राकृतिक दृश्यहरू यस प्रकार छन्–

photo by chitra punक गल्छी र हिमश्रृङ्खला ः म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ जसलाई अन्धगल्छी भनिन्छ । यो जिल्लाको दाना गा.वि.स.मा काली गण्डकीले सर्वाधिक गहिरो गल्छी बनाएको छ । दाना करीब १,२०० मीटरको उचाइमा अवस्थित छ । यसको पश्चिममा धवलागिरी हिमाल (८,१६७ मी.) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मी.) छन् र ती दुई हिमश्रृङ्खला बीचको दूरी करीब ३५ मिटर मात्र छ । धवलागिरीको टाकुरादेखि दानासम्मको उचाइमा करीब ६,९६७ मिटरको अन्तर छ । धवलागिरीको चुचुरादेखि दानासम्मको उचाइको फरकलाई जमिनदेखि जमिनसम्मको उचाइको अन्तर मानेर यो गल्छीलाई संसारकै सर्वाधिक गहिरो गल्छी मानिएको छ ।

Rupsey 1म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा हिम श्रृङ्खला रहेको छ । यो हिम श्रृङ्खलामध्येको एउटा हिमश्रृङखलालाई धवलागिरी भनिन्छ । धवलको अर्थ ‘सेतो’ र गिरीको अर्थ ‘पहाड’ भन्ने हुन्छ । यो हिम श्रृङ्खला बिहानीको झुल्के घाममा चाँदी झैं टल्कने भएकोले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरी’ भनिएको हो । अङ्ग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । वि.सं.१८५७ (सन् १८०० मई)मा ब्रिटिस इण्डियन सर्वेयर टोलीले यो हिम श्रृङ्खलाको बारेमा विस्तृत विवरण सार्वजनिक गरेको थियो । galemdhiकाली गण्डकी र ठूली भेरीको बीचमा बसेको यो हिम श्रृङ्खलामा एउटा ८,००० मीटर भन्दा अग्लो चुचुरो छ भने तेह«वटा ७,००० मीटर भन्दा अग्ला र ४९ वटा ६,००० मीटर भन्दा अग्ला चुचुरा छन् । यसमा मुकुट, डोल्पा र गुर्जा नामका तीन उपश्रृङ्खला छन् । संसारको सातौं अग्लो चुचुरोको रूपमा रहेको धवलागिरी पहिलो ८,१६७ मिटर अग्लो छ । यस जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा रहेको अर्को हिमश्रृङखला गुर्जा गा.वि.स.मा रहेको हिमाल हो । यो हिमश्रृङखलाको सबैभन्दा अग्लो चुचुरो ७,१९३ मिटर अग्लो छ जसलाई गुर्जा हिमाल भनिन्छ । धवलागिरीे हिमालमा सर्वप्रथम वि.सं.२०१७ (सन् १९६०) मा स्वीस, अष्ट्रियन र नेपाली पर्वतारोहण दलको संयुक्त टोलीले आरोहण गरेको थियो । यस जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा रहेको अर्को हिमश्रृङखला अन्नपूर्ण हो जुन नारच्याङ गा.वि.स.मा पर्दछ । यो हिमश्रृङखलाको सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण पहिलो (८०९१ मि.) हो । नारच्याङमा निलगिरी नामक अर्को हिमाल पनि पर्दछ । म्याग्दीमा रहेका हिम श्रृङ्खलाका विभिन्न चुचुराहरू आरोहण गर्ने क्रम निरन्तर चलिरहेको छ । धवलागिरी हिम श्रृङ्खलाका पाँचवटा चुचुराको दक्षिण–पश्चिमतिर मोहडा रहेको छ । यी हिमालहरूले यो जिल्लाको पर्यटन विकासमा राम्रो टेवा दिएका छन् ।

galeshowrख छहरा, कुण्ड, ताल र नदीनालाहरू ः म्याग्दी जिल्लाको दाना गा.वि.स.मा पर्ने अन्धगल्छीको नजिकमा बग्ने रुप्से छहरा विश्व प्रसिद्ध झरना हो । यो छहराको पानी धवलागिरी हिमालबाट उत्पत्ति भएर कालीगण्डकीमा मिसिन्छ । यो झरना करीब १५,११७ फीट (४,५३१ मी.) माथिको रूप्से लेकबाट बग्दै आएको छ । पहाडको मुखबाट बग्दै आएको पानी हुत्तिएर तल भुइँमा खस्दा वाफ वा धुवाँ उडेजस्तो देखिन्छ । पानीका ससाना कण बनेर हावामा उडेको जस्तो देखिने यो छहराको दृश्य विचित्रको छ । यसको धारा खस्ने धरातल कडा चट्टानले बनेको छ । पानी चट्टानमा ठोक्किंदा निस्केका ससाना जलकण सूर्यको किरणसँग मिसिंदा सप्तरङ्गी इन्द्र धनुषको आकार अर्थात् इन्द्रेणी परेजस्तो देखिन्छ । यो छहराको दृश्यबाट मुग्ध भएर यात्रीहरू बाटो हिंड्दाहिंड्दै लट्ठ परेर टोलाइरहन्छन् । khayarbraha talयस जिल्लाका विभिन्न ठाउँमा अनेकौं प्रकारका छहराहरू छन् । ती छहराहरूले पर्यटकहरूको मन प्रफुल्ल पारिदिन्छन् । ती छहराहरूमा अर्मन र बराङ्जा गाउँको धुरीबाट तलतिर झरेको अर्जे छहरा र भकिम्ली गा.वि.स.को तोराखेतबाट बग्दै आएर म्याग्दी नदीमा मिसिने उड्ने छहरा निकै आकर्षक छन् । नारच्याङको बुक्यान र ठूला–ठूला पहाडको मुखबाट धरातलसम्म झरेको नारच्याङ छहरा, घार गा.वि.स.मा पर्ने महभीर गाउँबाट बग्ने महभीर छहरा र मङ्गले र चिमखोला गाउँको बीचबाट बग्ने सुन छहरा सबै अत्यन्त आकर्षक छन् ।  tatopani kundaम्याग्दी जिल्लाका विभिन्न ठाउँमा तातोपानीका कुण्डहरू छन् । तातोपानीका कुण्डहरूमा डुब्ने काम विशेष गरेर हिउँद याममा गरिन्छ । दग्दाम गा.वि.स.को दर्मिजा भन्ने गाउँको पुछारमा रघुगङ्गाको किनारमा एक तातोपानीको कुण्ड छ । भुरुङतातोपानी गा.वि.स.को कालीगण्डकीको किनारमा तातोपानीको कुण्ड छ जसलाई तप्तकुण्ड भनिन्छ । बेनीबजारबाट ७ कि.मि.पश्चिममा म्याग्दी नदीको किनारमा तातोपानीको कुण्ड छ जसलाई सिङ्गा तातोपानी कुण्ड भनिन्छ । गन्धक र बीरेनूनको विशेष किसिमको गन्ध आउने यो कुण्डमा डुब्नाले बाथ, ग्याष्टिक, चर्मरोग, छाला तथा नसा सम्बन्धी रोग, सड्केको, मर्केको, बज्रेको चिसोबाट उत्पन्न रोग निको हुन्छ भन्ने विश्वास छ ।

Bagara Tatopani ko Jharanaम्याग्दी जिल्लामा रमणीय तालहरू पनि छन् । यहाँका तालहरूलाई बराह ताल भन्ने चलन छ । शिख गा.वि.स.को पाउद्वार गाउँको शिरमा एउटा ताल छ जसलाई खयरबराह ताल भनिन्छ । त्यस्तै गुर्जा गा.वि.स.मा गुर्जा बराह ताल, हिस्तानमण्डली गा.वि.स.को नागीको लेकमा नागी बराह ताल, निस्कोट गाउँको सिरानमा निस्कोट बराह ताल रहेका छन् । मङ्गले गाउँदेखि माथिको जङ्गलमा विभिन्न किसिमका साना ठूला तालहरू छन् । यी बराह तालहरूमा ऋषितर्पणी पूर्णिमाका दिन मेला लाग्दछ ।  tatopaniम्याग्दी जिल्लामा काली गण्डकी, म्याग्दी नदी र रघुगङ्गाजस्ता ठूला नदीका साथै अन्य थुप्रै खोलानालाहरू छन् । यो जिल्लाको प्रमुख नदी काली गण्डकी हो । यसलाई कृष्णा वा शालीग्रामी पनि भनिन्छ । यो जिल्लाको अर्को मुख्य नदी म्याग्दी हो । यो नदीको उत्पत्ति धवलागिरी हिमालको दक्षिण–पश्चिमी पाखाबाट भएको छ । यो नदी बेनीबजारमा पुगेपछि काली गण्डकीमा मिसिन्छ । त्यस्तै धवलागिरी हिमालको दक्षिणी पाखाबाट उत्पत्ति भएको रघुगङ्गा गलेश्वर भन्ने ठाउँमा पुगेर काली गण्डकीमा समाहित हुन्छ । narchangवन्यजन्तु तथा आरक्ष ः म्याग्दी जिल्लाको धरातलमा विविधता छ । यो जिल्लाको भूभाग ९१५ मि.को होचो क्षेत्रदेखि ८,१६७ मि.को उच्च क्षेत्रसम्म रहेको छ । धरातलीय विविधताका कारण हावापानी पनि फरकफरक किसिमको छ । वनस्पतीलाई हावापानीले असर गर्ने हुनाले यहाँ विविध किसिमका वनस्पती पाइन्छन् ।

यो जिल्ला हिमाली र पहाडी भूभागमा मात्र फैलिएको हुनाले यहाँ हिमाल र पहाडमा बस्न सक्ने वन्यजन्तुहरू मात्र पाइन्छन् । यो जिल्लामा पाइने जङ्गली जनावरहरू कस्तुरी, घोरल, चितुवा, झारल, थार, नाउर, बँदेल, बाघ, बाँदर, ब्वाँसो भालु, मृग, रतुवा, स्याल, हाब्रे, हिमचितुवा, हिमालीभालु आदि हुन् । जथाभावी शिकार खेल्न दिंदा वन्यजन्तु लोप हुने खतरा भएकोले विश्वमा वन्यजन्तु संरक्षणका लागि अनेकौंं प्रयासहरू भएका छन् । ती प्रयासहरूमध्ये राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षहरूको निर्माण प्रमुख रूपमा रहेका छन् । Ghorapani bata khopra jadai o Tourist (2)राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संरक्षणमा मात्र ध्यान दिइएको हुन्छ । तर नेपालमा केही यस्ता वन्य जन्तु आरक्ष पनि छन् जहाँ वन्यजन्तुको शिकार खेल्ने ब्यवस्था समेत गरिएको हुन्छ । यस्ता आरक्ष मध्ये ढोरपाटन शिकार आरक्ष पनि पर्दछ । वि.सं. २०४१ सालमा स्थापना भएको यो आरक्षको ब्यवस्थित र नियन्त्रित रूपमा शिकार खेल्ने खेलाउने उद्देश्य रहेको छ । ढोरपाटन आरक्ष उच्च हिमाल र पर्वत समेटी निर्माण गरिएको छ । म्याग्दी, बाग्लुङ र रुकुम जिल्लाको भूभागमा फैलिएको यो आरक्षको क्षेत्रफल १,३२५ वर्ग कि.मि.छ । यो आरक्षमा नीलो भेडा, थार, जंगली बँदेल, रतुवा, कृष्णसागर, भालु र चितुवा पाइन्छन् ।

ऐतिहासिक स्थलहरू
म्याग्दी जिल्ला ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थान हो । प्राग्ऐतिहासिककालदेखि नै यहाँ ऋषिमुनिहरूले तपस्या गरेर बस्ने गरेको वर्णन पुराणहरूमा पाइन्छ । पुराणमा वर्णन गरिएको पुलस्त्यपुलहाश्रम एक ऐतिहासिक स्थल हो । प्राचीनकालमा धवलश्रोत र मंग्वर विषयको चर्चा पाइन्छ । मध्यकालको पर्वत राज्यको मुख्य भू–भाग त यही जिल्लामा नै पर्दछ । पर्वत राज्यको राजधानी ढोलठान र बेनी थिए भने ताकमकोट, ज्यामरुककोट, कुहुँकोट, राखूकोट पुलाकोट, घतानकोट, कार्कीकोट, माझकोट पनि तत्कालीन इतिहासका सवुतको रूपमा विद्यमान छन् । साथै जगन्नाथ (गाजने), महारानीथान, दोविल्ला शिवालय, बलमुक्तेश्वर महादेव मन्दिर लगायत अनेकौं देवालयले तत्कालीन इतिहास बोलिरहेका छन् । अतः यी स्थानहरूको अध्ययन भ्रमण गर्नुगराउनु पनि पर्यटन गन्तब्य कै एक पाटो हो ।

Chimkhola (3)धार्मिक तथा सांस्कृतिक स्थलहरू
म्याग्दी जिल्ला धार्मिक दृष्टिले पनि महत्वपूर्ण स्थान हो । यो जिल्लाको गलेश्वर अत्यत्न महत्वपूर्ण तिर्थस्थल मानिन्छ । जयन्ती, मङ्गला र कालीको सङ्गमस्थल भएको यो क्षेत्र पौराणिककालदेखि नै चर्चामा रहेको छ । यो क्षेत्रमा पुलस्त्य र पुलह ऋषिले तपस्या गरी बसेको हुनाले यस क्षेत्रलाई पुलस्त्यपुलहाश्रम भनिन्थ्यो जसलाई आजभोलि ‘पुला क्षेत्र’ भनिन्छ । गलेश्वरको शिवलिङ्ग मानव निर्मित नभइ स्वयं प्रकट भएको प्रकृति प्रदत्त ज्योतिर्लिङ्ग हो । यस प्रकारको शिवलिङ्ग अन्यत्र कहिं पनि पाउन सकिन्न । कालीगण्डकीमा शालिग्राम पाइने हुनाले यो नदीलाई पवित्र मानिन्छ । यस क्षेत्रको धार्मिक महत्व बढ्नुको अर्को कारण यो स्थान पवित्र तिर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्नु पनि हो ।

Chimkhola ko Thali danceनेपालका विभिन्न स्थानका साथै भारतबाट मुक्तिनाथ दर्शनका लागि आउने भक्तजनहरू यही बाटो भएर जाने भएकोले यस क्षेत्रको पनि दर्शन गर्ने परम्परा छ । गलेश्वरधाममा काठमाडौंको पशुपतिनाथमा जस्तै मार्गकृष्ण चतुर्दशीमा (बालाचतुर्दशी) सत्विज छर्न धवलागिरी र गण्डकीको आसपासका वामीटकसार, गल्कोट, बुर्तिवाङ, निसीभुजी, दरवाङ, ताकुम, मुना, बाग्लुङ, बलेवा, कुश्मा, ज्ञादी, फलेबास, कार्कीनेटा, खुर्कोट, पाङ, मल्लाज, राखु, चिमखोला, घारखोला, दाना, शिखका साथै अन्य क्षेत्रका पनि हजारौं भक्तजनहरू आउने गर्दछन् । बालाचतुर्दशीमा गलेश्वरधाममा सत्विज छरेमा पितृको उद्धार हुन्छ भन्ने जनविश्वास छ । सत्विज भन्नाले सयथरी विज भन्ने बुझिन्छ तापनि खास गरेर धान, मकै, जौ, गहुँ, चना, तिल र कागुनुका विजमा सुन्तला, अनार, उखु, भोगटे, केरा, विमिरो, अमला, कागती र निवुवा जातका फलफूल मिसाएर सत्विजको रूपमा छर्ने चलन छ ।
यो जिल्लाको पुलामा अवस्थित जगन्नाथ मन्दिर, बरनाथ थान र पौलस्त्यआश्रमका साथै विभिन्न स्थानमा रहेका बराह तालहरू तथा ताकम, कुहुँ, पुला, ज्यामरुक र राखुका कोटहरू धार्मिक दृष्टिले विशेष महत्वपूर्ण स्थलहरू हुन् ।
अनुसन्धानकर्ताका लागि उर्वराभूमि

सबैजसो अनुसन्धानकर्ताहरू आफ्नो अनुसन्धान नौलो र आकर्षक होस् भन्ने चाहना राख्दछन् । अनुसन्धानका लागि आवश्यक पर्ने सामग्री पर्याप्त पाइने र अरूले काम नगरेको विषयवस्तुको छनौट गर्नु पर्दछ । त्यसका लागि म्याग्दी उर्वरा क्षेत्र मानिन्छ । चाहे भूगोलविद होस् वा इतिहासवेत्ता या त समाजशास्त्री वा मानवशास्त्री जुनसुकै विधाका शोधार्थीका लागि म्याग्दीमा पर्याप्त सामग्री उपलब्ध हुन सक्दछ । किनभने यो क्षेत्रको भौगोलिक विविधता कैयौं भूगोलविद्हरूको शोधको विषय हुन सक्दछ । प्राग्एैतिहासिककालदेखि नै मानवबस्ती भएको र यस क्षेत्रको चर्चा पौराणिककालदेखि नै चल्दै आएको हुनाले यो क्षेत्रको इतिहास लेख्न चाहनेहरूका लागि प्रसस्त सामग्री उपलब्ध हुन सक्दछ ।

यो क्षेत्रको मध्यकालीन इतिहास अर्थात् पर्वत राज्य र सो राज्यका शासक समालवंशी मल्ल राजाहरूको बारेमा अनुसन्धान भइसकेको छ । यो जिल्लामा विविध जातिजनजातिका मानिसहरूको बसोबास हुनाले तिनीहरूका संस्कार र संस्कृति समाजशास्त्री तथा मानवशास्त्रीका अध्ययनका विषय हुन सक्दछन् । यो क्षेत्रका छन्त्याल तथा थकाली जातिको विषयमा केही समाजशास्त्री, मानवशास्त्री र भाषाविदहरूले अध्ययन गरिसकेका पनि छन् । यहाँ पाइने वनस्पति तथा पशुपक्षी वनस्पतिशास्त्री र जीवशास्त्रीका लागि शोधका विषय हुन सक्दछन् ।

 पर्यटकीय गन्तब्यका चुनौतीहरू

जुनसुकै कुरा पनि जति महत्वपूर्ण हुन्छ त्यसको कार्यान्वयन त्यति नै चुनौतीपूर्ण हुन्छ । म्याग्दी पर्यटन विकासका लागि जति उर्वर छ त्यति नै कार्य रूपमा सञ्चालन गर्न कठिन पनि छ । किनभने यो जिल्लाको भू–बनोट विविधतायुक्त छ । म्याग्दीमा पर्यटन विकासका लागि देखापर्ने चुनौतीहरू यस प्रकार छन् ।

यातायातको असुविधा ः

sadak problem 1म्याग्दीमा पुग्नका लागि हवाइ यातायातको सुविधा छैन । सडक मार्गबाट त्यहाँ पुग्नु पर्दछ । पोखराबाट बेनीसम्म राम्रै किसिमको सडक निर्माण गरिएको भएतापनि बेनीमा पुगिसकेपछि भ्रमणका लागि छानिएका गन्तब्यसम्म पुग्न कठिन छ । किनभने ती ठाउँमा जानका लागि बनाइएका सडक कच्ची र साँगुरा छन् ।
होटलबासको असुविधा ः

म्याग्दीका बेनीबजार, गलेश्वर, भुरुङतातोपानी, पुनहिल, बाबियाचौर र दरवाङमा पर्यटकहरूका लागि खानबस्नका लागि राम्रो सुविधा छ । तर अन्य स्थानहरूमा होटलबासको सुविधा पुगिसकेको छैन ।
भ्रमण प्याकेजको प्रबन्ध नहुनु ः

पर्यटकहरू थोरै समयमा धेरै मनोरञ्जन र ज्ञान हासिल गर्न चाहन्छन् । त्यसकारण आपूmले चाहेको समयमा कुनकुन ठाउँ हेर्न र घुम्न सकिन्छ भन्ने कुराको पूर्व जानकारी भएमा उनीहरूले त्यही अनुसारको योजना बनाउँदछन् । म्याग्दीमा त्यस प्रकारका प्याकेज कार्यक्रम बनाउने प्रयास गरिएको छैन ।
आन्तरिक पर्यटकको बिचल्ली ः

आन्तरिक पर्यटकहरूलाई खानबस्नको लागि सस्तो होटल वा विश्रामस्थलहरू आवश्यक पर्दछ । म्याग्दीमा धेरै सङ्ख्यामा आएका र सस्तोमा खानबस्न चाहने पर्यटकहरूका लागि आवश्यक प्रबन्ध गर्न सक्ने विश्रामस्थलहरू छैनन् ।
माथि उल्लेखित चुनौतीहरूका कारण म्याग्दीमा पर्यटन विकासका लागि निकै धेरै कठिनाइहरू छन् ।
निष्कर्ष र सुझावहरू
म्याग्दी जिल्ला प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिले सम्पन्न क्षेत्र भएको हुनाले यहाँ पर्यटन विकासको अत्यधिक संभावना छ । तर पर्यटन विकासका लागि चाहिने निम्नतम पूर्वाधार निर्माणका दृष्टिले यो जिल्ला ज्यादै पछि छ । त्यसकारण पर्यटकहरू आउनका लागि चाहिने सुलभ यातायातको व्यवस्था, खानबस्नका लागि सुविधाका साथै दृश्यावलोकन क्षेत्रको निर्धारण यो जिल्लाको पर्यटन विकासका अत्यावश्यक पूर्वाधारहरू हुन् । यो क्षेत्रमा पर्यटन विकास गर्ने हो भने निम्न लिखित विषयमा ध्यान दिन आवश्यक छ ।
सर्वसुलभ यातायातको व्यवस्था ः

म्याग्दीमा तीनतिरबाट बाह्य पर्यटक आउन सक्दछन्– काठमाडौं आएर पोखरा हुँदै बेनी, भारततिरबाट लुम्बिनीहुँदै बेनी र चीनबाट मुस्ताङहुँदै बेनी । ती तीनथरी पर्यटकलाई म्याग्दीमा भित्राउनका लागि काठमाडौंदेखि बेनीसम्म, पोखरादेखि बेनीसम्म, लुम्बिनीदेखि बेनीसम्म र जोमसोमदेखि बेनीसम्म सुविधायुक्त तरिकाले यात्रा गर्नका लागि यातायातको सहज व्यवस्था हुनु पर्दछ ।
सर्वसुलभ होटलबासको व्यवस्था ः

Hotel-Indreni-Himalaya-Goushala-3पर्यटकहरूले दुःखकष्ट पाउन र महँगा होटलमा बसेर पैसा गुमाउन मात्र यात्रा गरेका हुँदैनन् । उनीहरूले मनोरञ्जन गर्ने, फुर्सतको समय सदुपयोग गर्ने, नयाँ विषयमा अनुसन्धान गर्ने, पर्वतारोहण गर्ने वा तिर्थयात्रा गर्ने उद्देश्य राखेका हुन्छन् । त्यसकारण उनीहरू आपूmलाई खानबस्न अनुकुल हुने ठाउँमा मात्र जाने गर्दछन् । कुनै संघसस्था वा विद्यालय, महाविद्यालयका विद्यार्थीहरूलाई त झन् सस्तो र सुरक्षित बासस्थानको आवश्यकता पर्दछ । त्यसकारण पर्यटन विकासका लागि स्तरीय होटल र होमस्टेकासाथै धर्मशालाको पनि व्यवस्था हुनु पर्दछ ।
भ्रमण प्याकेजको प्रबन्ध ः

पर्यटकहरूले आपूmले चाहेको समयमा कुनकुन ठाउँ हेर्न र घुम्न सकिन्छ भन्ने कुराको पूर्व जानकारी भएमा उनीहरूले त्यही अनुसारको योजना बनाउँदछन् । त्यसकारण भ्रमणका लागि एकदिने, तीनदिने, हप्तादिने आदि विभिन्न किसिमका प्याकेज बनाएर पर्यटकलाई पूर्व जानकारी गराउनु पर्दछ ।
 पुस्तक र ब्रोसर प्रकाशन ः

म्याग्दीमा पर्यटन विकास गर्न चाहने हो भने त्यस क्षेत्रमा भएका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक विषयवस्तुको राम्रो जानकारी दिने पुस्तक र ब्रोसर प्रकाशन गर्नु पर्दछ । पर्यटकहरूले सो ठाउँको बारेमा पूर्वजानकारी पाउने मात्र होइन उनीहरूले प्राप्त गरेका सामग्री अरूलाई दिन्छन् जसबाट यो ठाउँको बारेमा अप्रत्यक्ष रूपमा प्रचार हुन्छ ।
पर्यटक गाइडको व्यवस्था ः

म्याग्दीमा पर्यटन विकास गर्न चाहने हो भने त्यस क्षेत्रमा भएका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक विषयवस्तुको राम्रो जानकारी दिनसक्ने पर्यटक गाइड तयार गर्नु पर्दछ जसबाट पर्यटकहरूले सहज तरिकाले यो क्षेत्रको बारेमा ज्ञान हासिल गर्न सक्दछन् र विश्वभर यो ठाउँको प्रचार हुन्छ । लेखक बानियाँ त्रि.विको प्रध्यापक हुनुहुन्छ ।



CLOSE
CLOSE