तातोपानी साना जलविद्युत आयोजना बेवास्ताको शिकार

सन्तोष गौतम /नवविकल्प
घराप(म्याग्दी)

Tatopani Jalabidhutअन्नपूर्ण गाउँपालिका ४ नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत आयोजना बेवास्ता र लापरबाहीको शिकार बनेको छ । नेपाल विद्युत प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीहरुको लापरबाहीको कारण जिल्लाकै एकमात्र आयोजना लथालिङ्ग बनेको हो ।

मर्मत अभावमा बषौदेखि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको आयोजनाको भविष्य बाँध क्षेत्रमा निजी क्षेत्रद्धारा निर्माणाधिन नयाँ आयोजनाका कारण संकटमा परेको छ । नारच्याङको मिस्त्री, घलेम्दी र निलगिरी खोलामा निर्माणाधिन जलविद्युत आयोजनाले फालेको मकीङ (सुरुङबाट निस्कीएको गेगर र माटो) बाँधमा थुप्रिएपछि २ मेगावाट क्षमताको आयोजना हाल बन्द अवस्थामा छ ।

गेगर, माटो, तार बगाएर ल्याई बाँधमा थुपारेपछि साउन महिनादेखि विद्युत उत्पादन हुन नसकेको आयोजनाका प्राबिधिक खिम पुनले बताउनुभयो । “खोलामा पानीको सतह बढेकाले बाँधमा थुप्रिएको गेगर पन्छाउन सकिएको छैन” पुनले भन्नुभयो “दिनभरी पन्छायो, राती फेरी बुझीन्छ । पानी घटेपछि मर्मत गरेर सञ्चालन गर्ने तयारी छ ।” tatopani sana jalbhudhtखोलाबाट सिधै सुरुङमा पानी ल्याउने गरिएको उक्त आयोजनाको बाँधमा बालुवा थिग्राउने पोखरी छैन् । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दीखोलाको सुरुङको मकीङ र निलगिरी खोलाको पहुँचमार्ग निर्माणका क्रममा निस्कीएको माटो बाँधमा आएर थुप्रिने गरेको छ ।

“तातोपानी जलविद्युतको बाँध भन्दा एक किलोमिटर माथि मिस्त्री खोला जलविद्युत आयोजनाले फाल्ने मकीङ गएर बाँधमा थुप्रिन्छ” स्थानीय बासिन्दा तमबहादुर चोचाङ्गी मगरले भन्नुभयो “स्थानीय बासिन्दा मर्कामा र नेपाल विद्युत प्राधिकरणलाई करोडौ नोक्सानी हुँदा समेत कसैले चासो दिएका छैनन् ।”

मिस्त्री खोला र तातोपानीका कर्मचारी, नेपाल विद्युत प्राधिकरणलाई पटक पटक यस विषयमा जानकारी गराउँदा समेत सुनुवाई नभएको चोचाङ््गीले बताउनुभयो । नारच्याङको बाँसबोट माथि बाँध रहेको तातोपानी आयोजनाको विद्युतगृह घरापमा छ ।

नेपाल विद्युत प्राधिकरणले वि.स २०४६ मा निर्माण गरेको म्याग्दीको एकमात्र उक्त विद्युतगृहका टवाईन, जेनेरेटर लगायतका उपकरण मर्मत हुन नसक्दा पाँच सय किलोवाट मात्र विद्युत उत्पादन हुने गरेको थियो ।

चार वटा टवाईन सामान्य मर्मत गरेपछि सञ्चालन गर्न सकिने प्राबिधिक पुनले बताउनुभयो । जेनेरेटरमा खराबी आएका ४ वटा टवाईन मर्मतका लागि ठूलो लगानी आवश्यक पर्ने उहाँले बताउनुभयो । तिन वटा जेनेरेटर मात्र ठिक अवस्थामा छन् ।

आयोजनाका प्रमुख लालबहादुर लम्सालले बजेट अभावमा मर्मत गर्न समस्या भएको बताउनुभयो । प्राधिकरणमा जानकारी गराएपनि बजेटको व्यवस्था नहुँदा मर्मत गर्न नसकिएको लम्सालको भनाई छ । आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन छाडेको दश वर्ष भैसकेको छ ।

आयोजना मर्मतमा प्राधिकरण र आयोजनाका कर्मचारीहरुले बेवास्ता गरेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दा समेत रहेका जिल्ला समन्वय समितिका सदस्य मेखबहादुर गर्बुजाले निर्माणधीन जलविद्युत आयोजनाको मकीङ सुरक्षित रुपमा विर्सजन गर्न सचेत बनाएको र आयोजना मर्मतका लागि प्राधिकरणमा पहल गरिएको बताउनुभयो ।

“जलविद्युत आयोजनालाई पत्र मार्फत मकीङ व्यवस्थापन गर्न ताकेता गरेका छौ” गर्बुजाले भन्नुभयो “आयोजनाका जेनेरेटर र टवाईन मर्मतका लागि नेपाल विद्युत प्राधिकरणमा समेत पहल भएको छ ।”

मिस्त्रीखोला जलविद्युत आयोजनाका आवासीय इन्जिनियर दिवाकर खड्काले आफूहरुले फालेको मकीङले अर्को आयोजनालाई असर नगरेको दावी गर्नुभयो । तातोपानी जलविद्युत आयोजनाले खोलाको पानी सिधै सुरुङमा हाल्ने गरेकाले देखिएको समस्याको दोष आफूहरुलाई लगाएको उहाँको भनाई छ ।

यो आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्न सकेमा म्याग्दी जिल्लामा विद्युत आपूर्ती सहज हुने छ । राजनीतिक र प्रशासनीक रुपमा आयोजना मर्मतका लागि पहल हुनुपर्ने देखिएको छ ।