खोला र कुलोको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता हट्यो

विकल्प न्यूज/बेनी
म्याग्दीको मंगला गाउँपालिका २ मा निर्माण भएको कोत्रवाङ ताराखेत खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएको छ ।

मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले आयोजनाको उद्घाटन गर्नुभएको हो । ब्रिटिस गोर्खा वेयलफेयरको १४ लाख ८४ हजार ३८९ र उपभोक्ताको नौ लाख चार हजार ९०६ रुपैयाँ लगानीमा निर्माण भएको आयोजनाबाट कोत्रवाङ र तोराखेतका ३९ घरधुरी लाभान्वित भएका छन् ।

Waterसबै उपभोक्ताको घरमा निजी धारा जडना गरिएको थियो । २४ लाख २९ हजार ५३ हजार ६५९ रुपैयाँ लागतमा ५६ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना लक्ष्य भन्दा ११ अघि अघिनै अनुमान गरेभन्दा कम लागतमा सम्पन्न भएको वेयलफेयरका कार्यक्रम प्रमुख वुद्धीबहादुर श्रीसले बताउनुभयो ।

वि.स २०७३ चैत २७ गते सुरु भएको आयोजना जेठ १४ गते सकिएको थियो । घरघरमै नियमित खानेपानी आपूर्ती हुने निजी धारा जडान भएपछि कुलो र खोलाको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय बासिन्दा भेषनाथ पौडेलले बताउनुभयो । घुरेनी आवाङ सामुदायिक वनको मुहानबाट पानी ल्याएर वितरण गरिएको छ ।

आयोजनाको उद्घाटन गर्दै उपाध्यक्ष केसीले गाउँपालिकाको सबै बस्तीमा सफा र शुद्ध खानेपानीको सुबिधा पु¥याउन प्राथमिकता दिइएको बताउनुभयो । कार्यकारी अधिकृत बिष्णुप्रसाद पौडेलले लक्ष्य भन्दा अघि र कम लागतमा आयोजना निर्माण गरेर कोत्रवाङ र तोराखेतका बासिन्दाले उदाहरणीय काम गरेको बताउनुभयो ।

वडा अध्यक्ष धनबहादुर खातीले ब्रिटीस गोर्खा वेयलफेयरका योजना समयमा सम्पन्न हुनुका साथै गुणस्तरीय, दिगो र पारदर्शी भएको बताउनुभयो । आयोजनाका अध्यक्ष श्रीकृष्ण पौडेलको अध्यक्षता, सदस्य बिनोद भट्टचनको सञ्चालन र सचिव डिलप्रसाद आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा वेयलफेयरका प्राबिधिक पूर्ण थापाले आयोजनाको प्राबिधिक विषयमा जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा वेयलफेयरले उपभोक्ता समितिलाई आयोजना हस्तान्तरण गरेको थियो । तिन दिनसम्म सञ्चालीत खानेपानी र सरसफाई सम्बन्धि तालीममा सहभागिलाई प्रमाणपत्र तथा आयोजना निर्माणमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।