म्याग्दीमा पहिरोले जनजीवन अस्तव्यस्त

सन्तोष गौतम/विकल्प न्यूज
साउन २९ गते ।Bato Banda Hudaम्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको थापाचौरमा बिरामी आफन्तलाई डोकामा बोकेर दरवाङतर्फ लैजादै गरेका मुदीका बासिन्दा । ग्रामिण सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन दःुख भएको छ । तस्विर सन्तोष गौतम

बर्षा र पहिरोका कारण पहाडी जिल्ला म्याग्दीको जनजिवन अस्तव्यस्त बनेको छ । पहिरो र नदी कटानका कारण बस्ती जोखिममा परेका छन् । सदरमुकाम देखि ग्रामिण बस्तीहरुलाई जोड्ने सडकमा सिधा र नियमित यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

बेनी–जोमसोम सडकको यात्रा जोखिमपूर्ण  

ढुवानी समस्याले पश्चिम क्षेत्रमा मूल्य वृद्धि
मल्कवाङ र सिमकोषमा आवत जावत प्रभावित 

कटान र पहिरो प्रभावित क्षेत्रमा सर्तकता

बिरामीलाई अस्पताल पु¥याउन, दैनिक उपभोग्य र निर्माण सामाग्री ढुवानी हुन सकेको छैन् । ग्रामिण क्षेत्रका कृषकले उत्पादन गरेको आलु, दूध र तरकारी बजारसम्म पु¥याउन कठिनाई भएको छ । पहिरोले घोरेटो बाटो र बाढीले झोलुङ्गे पुल समेत बगाउँदा आवत जावतमा समस्या भएको छ ।

गाडी नचल्दा पैदल हिड्न बाध्य यात्रुहरु भिरबाट खस्ने ढुङ्गा र पहिरोको जोखिममा छन् । मुस्ताङबाट म्याग्दी आउँदै गरेकी २२ वर्षिया बेलायती पर्यटक कारलोट् कम्मा कथरिना फुलरटनको बिहीबार मुस्ताङको थासाङ गाउँपालिका ४ को घोप्टेभिरबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको छ ।

सोही ठाउँमा खसेको ढुङ्गाले लागेर घाइते भएका सवारी चालकको काम गर्दै आएका मंगला गाउँपालिका ५ का ४० वर्षिय दलबहादुर फगामीको पोखरामा उपचार भैरहेको छ । गत शनिबार अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईठेभिरमा खसेको ढुङ्गाले चोट लागेर घाईते भएका काठमाडौका उत्तम कायस्थलाई हेलीकप्टर मार्फत पोखरा पठाइएको थियो ।

पहाडको खोच र कालीगण्डकीको किनारमा अवस्थित बेनी जोमसोम सडकको गलेश्वर देखि घाँसा सम्मको यात्रा जोखिमयुक्त बनेको छ । पिप्लेको तिल्केनीचौर, भुरुङ तातोपानी, गुईठे, जलथले, काभ्रे क्षेत्रमा खस्ने पहिरो, बेगखोला र दानाको घट्टेखोलामा आउने बाढीका कारण बेनी–जोमसोम सडक दिनहुँजसो अवरुद्ध हुने गरेको छ ।IMG_0611

पर्यटकीय जिल्ला मुस्ताङलाई सडक सञ्जालसंग जोड्ने एकमात्र यो सडकमा नियमित सवारी सञ्चालनका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले विभिन्न ठाउँमा डोजरलाई तयारी अवस्थामा रहेको छ । बर्षा हुने वित्तिकै दिनहुँ जसो कुनै न कुनै ठाउँमा पहिरो, ढुङ्गा खस्ने र सडक अवरुद्ध भएर हैरान बनाएका आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले बताउनुभयो ।

जोखिमयुक्त मानिएको गलेश्वर–दाना खण्डमा स्थानीय प्रशासनले साउन ५ गतेदेखि भदौ १५ गतेसम्मलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न बन्द गराएको छ । सडक अवरुद्ध हुँदा ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य सामानको अभावसंगै मूल्यवृद्धि हुन थालेको छ ।

धौलागिरी, मालीका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरवाङ र सहायक सडक पहिरोका कारण अवरुद्ध भएपछि ग्रामिण क्षेत्रमा सामानको अभाव भएको हो । म्याग्दीको पश्चिम भेगको ब्यापारिक केन्द्र दरवाङमा रहेका गोदामहरुमा चामल, दाल, नुन, तेल, मैदा, चाउचाउ, बिस्कुट लगायत दैनिक उपभोग्य र रड, सिमेन्ट, जस्तापाता जस्ता निर्माण सामाग्री सकिएको छ ।Darbang 1

गोदाममा भएको सामान सकिएको र सडक अवरुद्ध भएकाले आयात गर्न नसकिँदा समस्या भएको दरवाङका होलसेल ब्यापारी राजु अर्यालले बताउनुभयो । दरवाङबाट धौलागिरी, मालीका र तमानखोला गाउँपालिकाका बस्तीहरुमा सामान निकासी हुने गर्छ । मंगला गाउँपालिका २ लाम्पाटामा खसेको पहिरोका कारण बेनी दरवाङ सडक साउनको पहिलो सातादेखि अवरुद्ध भएको छ ।

यसैगरी सवारी साधन सञ्चालन नहुँदा खच्चर र भरीया मार्फत ढुवानी गर्नुपर्दा मूल्यवृद्धि भएको छ । खच्चर र भरीयालाई बोकाएर सामान ढुवानी गर्दा ढुवानी खर्च दोब्बरले बढेको धौलागिरी गाउँपालिका ३ मुनाकी ब्यवसायी कल्पना मल्लले बताउनुभयो ।patlekhet paheroधौलागिरी, मालीका र मंगला गाउँपालिका तथा सडक डिभिजन कार्यालय बागलुङको पहलमा लाम्पाटाको पहिरो पन्छाएर अस्थाई रुपमा सडक खुलाउने काम भएपनि पानी पर्ने वित्तिकै पहिरो खसेर अवरुद्ध हुँदा समस्या भएको छ । सडक डिभिजनले एउटा डोजर बाबियाचौरमा परिचालन गरेको छ ।

दरवाङ देखि बिम जाने सडक पनि दरवाङ नजिकै पैदल हिड्न समेत नमिल्ने गरी भत्कीएको छ । थापाचौर र गौथलीको भिरमा खसेको पहिरोले दरवाङ–ताकम–मुना सडक अवरुद्ध छ । पहिरोले घोरेटो बाटो बगाएपछि धौलागिरी गाउँपालिका ५ मल्कवाङका बासिन्दा समस्यामा परेका छन् ।

धौलागिरी गाउँपालिका ६ मराङको कोट भन्ने ठाउँमा गत बिहीबार खसेको पहिरोले मराङ हँुदै मल्कवाङ जाने घोरेटो बाटो बगाएको थियो । भिरमा करिब पाँच सय मिटर घोरेटो बाटो पहिरोले बगाएपछि आवत जावत गर्न समस्या भएको मल्कवाङका दलमान छन्त्यालले बताउनुभयो ।

“मल्कवाङलाई जोड्ने मुख्य घोरेटोबाटो पहिरोले बगाएपछि यातायात सम्र्पक बिच्छेद भएको छ” छन्त्यालले भन्नुभयो “जंगल र भिरमा जोखिमपूर्ण तरीकाले डेढ घण्टा भन्दा बढी समय लगाएर घुमाउरो बाटो हिड्नुपर्ने अवस्था छ ।”

मानिस जोखिम मोलेर हिडेपनि पशुचौपाया र खच्चर आवत जावत गर्न सकेका छैनन् । यो बाटो भएर मल्कवाङका साथै रघुगंगा गाउँपालीका ८ कुईने खानीका बासिन्दा समेत आवत जावत गर्दै आएका थिए । पहिरोले बाटो पूर्ण रुपमा क्षत्ती पु¥याएको छ ।

मल्कवाङमा २५० र कुईनेमा १०० भन्दा बढी घरपरिवारको बसोबास छ । भौगोलिक रुपमा विकट यी गाउँमा सडक सुबिधा पुगेको छैन् । खाद्यान्न, दैनिक उपभोग्य र निर्माण सामाग्रीको आपूर्ती ठप्प भएको छ । बिरामीलाई स्वास्थ्य संस्था सम्म पु¥याउन समस्या भएको वडा अध्यक्ष खर्ककुमारी छन्त्यालले बताउनुभयो । साउन १९ गते कोट भन्ने ठाउँबाट दिउँसो खसेको पहिरोले मराङ ठूलो खोला थुनीएपछि आएको बाढीले धौलागिरी गाउँपालिका ६ मा रहेको ३० किलोवाट क्षमत्ताको मराङखोला लघुजलविद्युत परियोजनाको नहर समेत बगाएको थियो ।

मुहानमा करिब एक सय मिटर नहर बाढीले बगाएपछि परियोजनाबाट विद्युत उत्पादन बन्द भएको वडा सदस्य लोकबहादुर पुनले बताउनुभयो । परियोजना बन्द हुँदा तिन सय घरधुरी अन्धकारमा रात कटाउन बाध्य भएका छन् । आर्थिक स्रोतको अभावमा घोरेटो बाटो र नहर मर्मत गर्न समस्या भएको छ ।

धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले मल्कवाङ जाने बैकल्पिक घोरेटो बाटोको निर्माण र मराङखोला लघुजलविद्युत परियोजनाको नहर मर्मतका लागि पहल भैरहेको बताउनुभयो । धौलागिरी गाउँपालिका ४ मुदीको बगरा र सिमकोस गाउँ जोड्ने म्याग्दी नदी माथिको झोलुङ्गे पुल बाढीले बगाएपछि आवत जावत बन्द भएको छ । सिमकोषमा दश घरधुरी छन् ।

बेनी नगरपालिका १० पात्लेखेत पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको बान्द्रेखाल्टी र पाखाथरको पहिरोका कारण पुरै पात्लेखेत गाउँ जोखिममा परेको हो । रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो बस्ती नजिकै पुगेपछि जोखिम बढेको वडा अध्यक्ष रिम रोकाले बताउनुभयो ।

पाखाथरका लालबहादुर हमाल, ओखलेका खिमबहादुर सार्की र पात्लेखेतकी बिमला नेपालीको घर पहिरोले जिर्ण बनाएपछि विस्थापित भएका छन भने करिब ६० घर जोखिममा छन् । पात्लेखेत खण्डको सडकको धेरै ठाउँमा बाढी पहिरोले छिया छिया बनाएकाले पात्लेखेत, झिँ, पाखापानी, कुईनेमंगलेका बासिन्दालाई बेनी आवत जावत गर्न समस्या भएको छ । कतिपय ठाउँमा सडकमै खोला बगेको छ ।

धौलागिरी गाउँपालिका २ लुलाङको लमसुङ गाउँ बस्ती माथिबाट खसेको पहिरोका कारण जोखिममा परेको छ । लमसुङ मावी र स्वास्थ्य चौकीको भवन समेत जोखिममा छन् । मंगला गाउँपालीका ५ अर्मनको किमचौरमा ६ घरपरिवार विस्थापित भएका छन् । अर्मनकै हाँडेभिरमा म्याग्दी नदीले कटान गरेर हरिप्रसाद आचार्यको घर भत्कीएको छ । करिब डेढ सय रोपनी खेतीयोग्य जमिन, स्वास्थ्य चौकीको भवन र दश घर कटानको जोखिममा परेका छन् ।

अर्मनकै पिपलबोटमा पनि एक घर पहिरोले भत्कीएको छ । मालीका गाउँपालिका १ निस्कोटको घोर्सीमा दरवाङ निस्कोट सडकबाट आएको बाढी गणेश पुनको घरमा पसेर उनीहरु विस्थापित भएका छन् । मानसिङ सापकोटाको घर जोखिममा परेको छ । मालीका गाउँपालिकाको केन्द्र दरवाङ बजार स्थित जनप्रिय माविको खेलमैदान म्याग्दी नदीले कटान गर्न थालेको छ ।
जनप्रिय माविको आधारभुत तहको भवन जोखिममा परेको छ । किनारमा लगाएको तटबन्ध भत्काएर खेलमैदान कटान गर्न थालेपछि दरवाङका बासिन्दा त्रसीत भएका छन् । रघुगंगा गाउँपालिका २ भगवतीमा पनि पहिरोले दुई घर विस्थापित भएका छन् । यसअघिको वर्षमा पहिरोबाट सताइएका बेनपा ३ को तोराखेत, रघुगंगा १ बेगखोला, मालीका ४ ओखरबोटको अवस्था अहिलेसम्म सामान्य छ ।

जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल भिरालो भुवनोट, अत्याधिक मात्रामा बर्षा हुनु, जथाभावी सडक खन्नु र भल व्यवस्थापन नहुनु, भुमिगत पानीले म्याग्दीमा पहिरो जाने गरेको बताउनुभयो । ग्रामिण सडक खन्दा फालीएको माटो खोलाहरुमा मिसीएर बाढीको सतह बढ्ने र तटीय क्षेत्रमा कटान गर्ने समस्या बढेको उहाँको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले विस्थापित भएकालाई राहत र जोखिमयुक्त ठाउँका बासिन्दालाई सर्तकता अपनाउन अनुरोध गरिएको जनाएको छ । पहिरो र कटान प्रभावित क्षेत्रको स्थलगत अनुगमनका साथै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । नवविकल्प प्रिन्ट संस्करण