सेवा केन्द्रबाट पशुपंक्षीको औषधि उपचारको व्यवस्था मिलाउन कृषकको माग

सन्तोष गौतम/विकल्प न्यूज
बाबियाचौर २६ साउन ।
म्याग्दीको मंगला गाउँपालीका कृषकहरुले पशु सेवा केन्द्रबाट पशुपक्षीको औषधी उपचारको सेवा उपलब्ध गराउन माग गरेका छन् ।

जिल्ला पशु सेवा कार्यालय म्याग्दीले बिहीबार बाबियाचौरमा आयोजना गरेको कृषक समूहका प्रतिनिधिहरुसंगको अन्तरक्रियामा सहभागी कृषकहरुले यस्तो बताएका हुन् । सेवा केन्द्रबाट औषधी उपचार सेवा उपलब्ध नहुँदा कृषक समस्यामा परेको गुनासो गरेका थिए ।

उनीहरुले प्राबिधिक र परामर्शसंगै रोगको उपचार र औषधीको व्यवस्था मिलाउन माग गरेका हुन् । कार्यक्रममा बाबियाचौर, कुहुँ, बरंजा र अर्मनका पशुपंक्षी पालक कृषकहरुको उपस्थिती रहेको थियो ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ चिकित्सक मनबहादुर पुनले अब स्थानीय तहबाटै योजना तथा कार्यक्रम सञ्चालन हुने भएकाले कार्यक्रम तय तर्जुमा गर्दा कृषकले आफ्नो आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

जिल्ला पशु सेवा कार्यालयका पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, भुसंरक्षण अधिकृत दिवाकर पौडेल र पशु विकास अधिकृत नरबहादर बानियाले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।