ताजा समाचार:
Search

अन्नपूर्णको फेदीमा खयरबराह पुजा

घनश्याम खड्का /म्याग्दी
साउन २३ गते ।

khayarbraha tal जनैपूर्णिमाको अवसरमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ खयरबाराही ताल छेउमा अवस्थित मन्दिरमा धार्मिक मेला लागेको छ ।

अन्नपूर्ण हिमालको पश्चिम फेदीमा चार हजार छ सय ६० मिटर अग्लो स्थानमा अवस्थित खयरबाराही तालमा जनैपूर्णिमा मेला भर्न करिव हजार भक्तजन पुगेका छन् । तर चन्द्रग्रहण लाग्ने भएकोले यस वर्ष अघिल्ला वर्षभन्दा धेरै कम भक्तजन पुगे ।

खयरबाराही तालमा पुगी खसीबोको वली दिने ‘भाकल’ गर्दै खयरबारही देवीसँग विदेश जाने, लाहुरे हुने, धन, विद्या, पुत्र आदी मनले इच्छाएको ‘वर’ मागेमा पुरा हुने जनविश्वास छ । यस वर्ष वर पुगेको भन्दै पाँच सय यात्रुले वली दिने चलन छ । खयरबाराही संरक्षण तथा पूर्वाधार विकास समितिका अनुसार यस वर्ष खयरबाराही दर्शन तथा पुजा गर्न करिव तीन हजार भक्तालु आएका छन् । यी मध्य ‘भाकल’ अनुसार पाँच सय भेडाको वली दिन सुरु भएको छ । khayar baraha tal 2‘खयरबराहमा इच्छाइको वर माग्न वा मागेको/आँटेको काम पुरा हुन्छ भन्ने आमा र अग्रजहरुको अनुभव भएकोले खयरबाराही पुजा गर्न आएकी हुँ,’ पोखरा अर्चलबोटकी भगवती पुनले भनिन्, ‘मैले भाकल गरेकी छु । भगवानसँग मागेको कुरा सबैलाई भन्नु हुन्न के !’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्ने खयरबाराही ताल सबैभन्दा नजिकको वस्ती पाउद्वारबाट तीन दिन लाग्छ । बाटोमा खाना र बस्नकोलागी गोठहरु पाइन्छन् । यात्रुहरुले आफ्नो ओढ्ने/ओछ्याउने भने आफैं ब्यवस्था गर्नु पर्छ । सुविधाकालागि टेन्ट बोक्नु राम्रो हुन्छ । खयरबाराही ताल पुग्न सदरमुकामबाट दुई घन्टा बसमा पोखरेबगर पुगेपछि चार घन्टा उकालो हिँडेर सबैभन्दा नजिकको वस्ती पाउद्वारमा बास बस्न पुग्न सकिन्छ ।

 

पाउद्वारदेखी कम्तीमा ६ घन्टा उकालो उक्लेपछि तीन हजार छ सय मिटर अग्लो खोप्रालोकमा बास बस्न सकिन्छ । होटलमा बस्न नसक्ने वा स्वपाक्य यात्रुको सुविधाका लागि नि:शुल्क प्लास्टिक घर वा गोठ छन । तेस्रो चार घन्टा उक्लेर नौलोवन वा खयरखोलामा बास बस्नु पर्छ । यहाँ भने समुदायले निर्माण गरेको पलास्टीक घर वा भेडा गोठमा रात विताउनु पर्छ । यात्रुहरुले ओढ्ने/ओछ्याउने भने आफैंं व्यवस्था गर्नु पर्छ । चौथो दिन राति तीनबजेदेखी यात्रा गरी बिहान ६ बजे खयरबाराही ताल पुग्न सकिन्छ । पुजासकेपछि ओरालो बाटो भएकोले खोप्रा वा पाउद्वारमा नै ओर्लन सकिन्छ ।

‘हिमालमुनीको तिर्थस्थलमा हत्तपत्त जो कोही पुग्न सजिलो छैन । लेक लाग्ने, विष लाग्ने र हिँड्न गाह्रो छ । त्यसैले बास बस्न प्लास्टिक टनेल, भोजन तथा औषधि उपचार व्यवस्था गरेका छौं,’ अभियन्ता राजु पुनले भने, ‘मन्दिर पुग्ने अप्ठ्यारो बाटो खयरबाराही देवी आशिर्वाद पाएका भक्तालुहरुले निर्माण गरेका छन् ।’

 खयरबराह ताल धार्मिक महत्वको मात्र होइन पर्यटकीय दृष्टीकोणले पनि महत्वपूर्ण छ । रंगीविरंगी फूलहरुको गलैंचामा टेक्दै खोप्रादेखी खयरबाराही ताल पुग्दा गोर्सेबाराही ताल, कालीबाराही ताल, कामधेनु गाईको पाईला (फाल)को दर्शन गर्न सकिन्छ । विभिन्न प्रजातिका रंगिन फूलहरुको बगैंचामा हिँड्दा ‘भूस्वर्ग’ पुगेको अनुभुत हुन्छ । धौलागिरी हिमश्रृंखला र अन्नपूर्ण प्रथम, साउथ तथा बराहशिखर हिमाललाई झन् नजिकैबाट अवलोकन गर्दा यात्रुलाई यात्राको थकान बिर्साउँछ । यहाँबाट सूर्यास्तको दृष्यबढी मनमोहक हुन्छ । kantipur.ekantipur