बेनी – दरवाङ सडकमा यात्रुलाई सास्ती

विकल्प न्यूज/बेनी
साउन १७ गते ।
बेनी – दरवाङ सडक अन्तर्गत लाम्पाटामा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।
पहिरोका कारण अवरुद्ध जिल्लाको तिन वटा गाउँपालिकालाई सदरमुकामसंग जोड्ने बेनी – दरवाङ सडकमा नियमित सवारी सञ्चालन गर्न पहल भएपनि सार्थक हुनसकेको छैन । lampataमंगला गाउँपालिका २ लाम्पाटामा पहिरो खसेपछि दश दिनदेखि अवरुद्ध २४ किलोमिटर दुरीको सडक खुलाउन स्थानीय प्रशासन, गाउँपालिका र सडक डिभिजनले पहल गरेका छन् । सोमबार बाबियाचौरमा भएको सरोकारवालाको बैठकले पहिरो पन्छाएर नियमित सिधा सवारी सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजनमा भएको बैठकमा सडक डिभिजन कार्यालय बागलुङले बर्खा याममा एउटा डोजर सो सडक मर्मतका लागि उपलब्ध गराउने निर्णय भएको छ ।

मंगला, मालीका र धौलागिरी गाउँपालीकाले ईन्धन, डोजर अपरेटर र सहयोगीललाई खाने बस्ने व्यवस्था मिलाउने भएका छन् । पश्चिम म्याग्दीका लाईफ लाईन मानिएको बेनी दरवाङ सडक खुलाउनका लागि मंगलबारदेखिनै काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

लाम्पाटा र फापरखेतको पहिरोका कारण बेनी दरवाङ सडक अवरुद्ध हुँदा तिन वटा गाउँपालीकाका बासिन्दा समस्यामा परेका छन् । दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको छ । ठाउँ ठाउँमा सवारी साधन परिवर्तन गरेर यात्रा गर्दा सर्वसाधारणलाई झञ्जट र सास्ती भएको छ । लाम्पाटामा पहिरो गएपछि आधा घण्टा घुमाउरो बाटो हिड्नुपर्ने समस्या छ ।
बैठकअघि प्रजिअ पौडेल, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका, मालीकाका अध्यक्ष श्रीप्रसाद रोका, धौलागिरीका अध्यक्ष थमसरा पुन, मंगलाका उपाध्यक्ष सिर्जना केसी, सडक डिभिजनका ईञ्जिनियर सुनिल थापा र सुलोचन शर्माको टोलीले लाम्पाटाको पहिरोको निरिक्षण गर्नुभएको थियो ।