मालिका धुरीमा भ्यू टावर बन्ने

विकल्प न्यूज/ मालिका
साउन ४ गते ।
म्याग्दीको पर्यटकीय तथा धार्मिकस्थल मालिका मन्दिरमा भ्यू टावर बन्ने भएको छ । मालिका गाउँसभाले निति तथा बजेटमा भ्यू टावरको प्रस्ताव पारित भएको हो ।

गाउँपालिकाले बिम र दरबाङका साथै छिमेकी रघुगंगा गाउँपालिकाको पाखापानीको सिमानमा अवस्थित आर्कषक पर्यटकीय तथा धार्मिक गन्तब्यका रुपमा चिनिएको मन्दिर आसपासका क्षेत्रमा स्थलगत अनुगमन गरी भ्यू टावर बनाउने गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले बताए ।

‘गाउँपालिकाको आर्कषक गन्तब्यको रुपमा चिनिएको छ । पर्यटनको क्षेत्र पनि प्रमुख प्राथमिकतामा परेको छ’ उनले भने ।

भ्यू टावर निर्माण संगै मालिकाको गुरुयोजना समेत बनाइने भएको छ । मालिका–७ बिमका वडा अध्यक्ष रेशम जुग्जालीले सडक, पदमार्ग सहित मन्दिर आसपासमा भौतिक पूर्वाधारलाई समेत विगत देखी निरन्तरता दिइरहेको बताए ।

मन्दिरमा बर्षेनी पुग्ने सयौं भक्तजनहरु मन्दिर आसपासका क्षेत्रमा रहेका ओडार सहित सत्तलमा बस्ने गरेका थिए । तीनबर्ष यता खानेपानी सहित मन्दिर आसपासका सत्तल बनाइएपछि भक्तजनलाई राहत मिलेको छ ।malikaउच्च पहाड त्यसमा पनि जोखिमपुर्ण यात्रा गरेर आफ्नो मनोकामना पुरा हुने जनविश्वासका साथ विभिन्न क्षेत्रबाट भक्तजनहरु पुगे गरेका छन् ।

मालिका, जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विस्वासका साथ सयौं वर्षदेखि पुजा हुँदै आइरहेको मन्दिरमा पुगेका भक्तजनहरूको विस्वास अनुसार कम्तिमा तिन पटक त्यहाँ पुगेर मालिका मन्दिरको दर्शन गरेमा मनोकामना पनि पुरा भक्तजनको भनाई छ ।

स्कुले बालबालिका देखी बृद्धबृद्धा सम्म करिव ७ घण्टा पैदल यात्रा गरेर मन्दिर सम्म पुग्ने गर्दछन् । मन्दिर आसपासको क्षेत्रबाट देखिने घना जंगल, बन्यजन्तु, हिमश्रंखलाका साथै कास्कीको फेवाताल सहित आसपासका दृष्यले धार्मिक तथा पदमार्गमा जाने पर्यटकलाई लोभाउने गरेको छ । मन्दिर नजिक रहेको अग्लो चट्टानबाट दृष्य हेर्नेहरुको घुईचो लाग्ने गर्दछ ।

मन्दिर ब्यवस्थपानमा लामो समय देखी खटिएका विमका छक प्रसाद पाईजाले आर्थिक अभावका विच स्थानीयको सहयोगबाट मन्दिरको पूननिर्माण गरिएको अवस्थामा पर्यटन कार्यालय पोखरा, तत्कालिन समयमा जिविसले समेत आर्थिक सहयोग गरेपनि न्यूनतम पूर्वाधारहरु विस्तार भएकाले अहिले पुजाआजा र बस्न सहज भएको बताए ।

मन्दिरसम्म पुग्न कुहुँको टोड्के, थाईवाङ, हिदी, दरबाङको दुखु, पाखापानीबाट समेत पैदलमार्ग रहेको छ । समुन्द्री सतहदेखि करिव ३३ सय मिटरको उचाईमा अवस्थित बर्षमा तिनपटक पुजाआजा हुन्छ ।

मन्दिरमा पशुपंक्षिको बली चढाउने गरिन्छ । मालिका मन्दिर म्याग्दीको पर्यटन गुरुयोजना भित्र आर्कषक गन्तब्यका रुपमा चिनिन्छ । पुजाआजा बाहेक समेत ट्रेकिङका समेत विभिन्न रुटबाट मालिकामा पुगेर मनोरञ्जन गर्ने गर्दछन् ।