ताजा समाचार:
Search

इटहरीलाई अशान्त देखाएर प्रदेशको राजधानी धनकुटा लैजाने चिन्ता

२६ साउन, सुनसरी । बिराटनगरपछि पूर्वाञ्चलको ठूलो शहर बन्ने क्रममा रहेको इटहरीलाई पूर्वी प्रदेशको सम्भावित राजधानीका रुपमा समेत हेर्ने गरिएको छ । तर, इटहरीलाई अशान्त शहरका रुपमा चित्रित गरेर त्यहाँ प्रदेशको राजधानी बन्न नदिने खेल सुरु भएको भन्दै स्थानीय नागरिकले चिन्ता गर्न थालेका छन् । हिन्दुवादीको आन्दोलनमा ‘रअ’ले पैसा बाँडेको प्रशासनको दाबी
केही दिनदेखि इटहरीमा लगातार हिन्दु धर्मका नाममा प्रदर्शन गर्ने र सुरक्षा निकायलाई नै चुनौती दिँदै प्रहरी कार्यालय घेराऊ गर्नेसम्मका क्रियाकलाप हुने गरेका छन् । भारतबाट बिराटनगर आएर बसेका ‘रअ’का पूर्व अधिकारीले इटहरीमा हिंसा भड्काएको प्रहरी प्रशासनले पत्तो लगाएको छ ।
‘दिनहुँजसो हुने हिन्दुवादीको होहल्लाले इटहरीलाई अशान्त एवं शान्ति सुरक्षाप्रति सम्वेदनशील शहर बनाउन लागेको छ,’ स्थानीय एक बुद्धिजीवीले भने, ‘पूर्वाञ्चलको आशलाग्दो केन्द्र बनिरहेको यो शहरलाई यसैगरी अशान्त बनाउने हो भने यहाँ आउन लागेको प्रदेशको राजधानी धनकुटा सर्न सक्छ ।’
सहर बहुलवादी, माग हिन्दुवादी !

जनसंख्याको हिसाबले सांस्कृतिक शहर मानिने धरानलाई उछिन्न लागेको इटहरी मानवीय बसोबासको हिसाबले समावेशी एवं बहुलवादी प्रकृतिको छ । पूर्वगोरखा सैनिकहरुको समेत सघन उपस्थिति रहेको इटहरीमा किरात धर्मावलम्बी एवं थारु सांस्कृतिक समुदायको समेत बसोबास छ । तर, सबै जातजातिको साझा फूलबारी रहेको इटहरीलाई हिन्दुवादीहरुले एकल सांस्कृतिक शहरका रुपमा बदनाम पार्न लागेको भन्दै जनजाति समुदायका अग्रजहरुले पनि चिन्ता व्यक्त गरेका छन् ।
हिन्दुवादीहरुले भ्रष्टाचारको अभियोग लागेका खुमबहादुर खड्कालाई समेत इटहरीमा बोलाएर भाषण गर्न लगाएपछि यहाँका नागरिक अगुवाहरुले लज्जावोध गरेका छन् ।

‘हामीले शासकीय स्वरुपलगायतका विषयमा बुद्धिजीवीहरुवीच अन्तरक्रिया गर्न लागेका थियौं, तर हिन्दुवादीले सडक कब्जा गरेपछि अहिले इटहरीको पहिचान नै अशान्तिको परिचायक भइदियो’ नाम उल्लेख नगर्ने शर्तमा एकजना इटहरीवासी बुद्धिजीवीले अनलाइनखबरसँग भने, ‘यस्तो प्रतिगामी आन्दोलनले हाम्रो इटहरीको राजनीतिक एवं सांस्कृतिक विकासको सम्भावनालाई अवरुद्ध पार्ने खतरा बढाएको छ ।’
इटहरीमा धर्मनिरपेक्षताको पक्षमा ठूलो जनमत रहेको र किरात धर्मावलम्बीहरुको बाहुल्य रहेकाले इटहरीले आफ्नो परिचय धार्मिक सहिष्णु एवं धर्म निरपेक्ष शहरका रुपमा दिनुपर्ने उनले बताए ।
हिन्दुहरुका पवित्र धार्मिक स्थलहरु रहेको सांस्कृतिक शहर धरानमा भने यतिबेला कुनै उपद्रो नदेखिएको र शान्त रहेको उनले उदाहरण दिए । ‘दन्तकाली, पिण्डेश्वर धाम र बूढासुब्बा जस्ता धार्मिक स्थलहरु रहेको धरानमा कसैले पनि हिन्दुराष्ट्र माग्ने नाममा प्रहरी कार्यालय घेराउ गरेका छैनन् । धरानले सांस्कृतिक सहिष्णुता प्रदर्शन गरेको छ’ उनले भने ।
विगतमा इटहरीलाई यौनकर्मीहरुको शहरका रुपमा बदनाम गर्न खोजिएको दुखद स्मरण गर्दै उनले भने, ‘इटहरीको छवि विस्तारै सुध्रँदै गरेका बेला हामी यहाँका नागरिकले यसलाई सबै जातजातिको समान अधिकार भएको समावेशी शहरकारुपमा विकास गर्ने चुनौती छ । यो हिन्दुहरुको मात्रै शहर होइन, हामीले इटहरीलाई असमावेशी एवं अशान्त शहरका रुपमा परिचित गराउनुहुँदैन । इटहरीमा आन्दोलन गरेर, टाउको फुटाएर हिन्दुराष्ट्र आउँदैन, बरु यसले यहाँ बन्न लागेको प्रदेशको राजधानी सुरक्षाको कारण देखाउँदै धनकुटा सार्ने तत्वहरुलाई नै फाइदा पुर्‍याउँछ र पुर्‍याइरहेको छ ।’
भारतीयको चलखेल

प्रहरीको उच्च स्रोतले दिएको जानकारी अनुसार इटहरीको हिन्दुवादी आन्दोलनलाई भारतीयले प्रत्यक्ष लगानी गरेको पाइएको छ । बिराटनगरको जेनियल होटलको रुम नं १०३ मा बसेका भारतीय ‘रअ’का पूर्वअधिकारी आरके सिंहले आर्थिक लगायतका सहयोग गरेर इटहरीमा आन्दोलन भड्काएको पत्तो पाएपछि प्रहरीले सिंहको गतिविधिमाथि निगरानी बढाएको छ ।Itahari2
भारतबाट साउन १ गते बिराटनगर पसेका सिंहले काठमाडौंमा रुक्माङगद कटवालसँग टेलिफोन सम्पर्क गरेको पाइएको र इटहरीका श्रीनिवास आचार्यसँग पनि सम्पर्क हुने गरेको प्रहरीको दाबी छ । साथै आन्दोलनकारीका साथबाट केही भारुसमेत फेला पारेको प्रहरीले बताएको छ ।
राप्रपा नेपालले हात झिक्यो, हिमानी ट्रष्ट पनि मुछियो

इटहरीलाई बदनाम गराउन भारतीय चलखेल भएको पत्तो पाएपछि राप्रपा नेपालले इटहरीको प्रदर्शनबाट हात झिकेको छ । तर, हिमानी ट्रस्टबाट पनि आन्दोलनकारीले सहयोग लिएको प्रहरीको दाबी छ ।
राप्रपा नेपालले हात झिकेपछि आन्दोलनकारीले सोमबार खुमबहादुर खड्कालाई इटहरी बोलाएका हुन् ।
अनलाइन खबरबाट