यस्तो छ अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम

विकल्प न्यूज/अन्नपूर्ण
श्रावण २ गते ।

गाउँसभामा अध्यक्ष क्या डम वहादुर गर्बुजाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम Dam Bahadur PUN नेपालको संविधान, २०७२ जारी भई उक्त संविधानले व्यवस्था गरे बमोजिम देशमा संघीयता कार्यान्वयनमा आएको छ । लामो समयसम्मको आम नेपाली जनताको प्रतिक्षा, दश बर्षे सशस्त्र संघर्ष, २०६२/०६३ को जनआन्दोलन, मधेश आन्दोलन, दलित–जनजाति आन्दोलन, दुईपटकसम्म भएको संविधानसभाको निर्वाचन भई जनताका प्रतिनिधिले नै संविधानको निर्माण तथा जारी गरी हाल कार्यान्वयनमा रहेको छ । संविधानले सुनिश्चित गरेका प्रावधानहरुलाई व्यवहारतः रुपान्तरण गर्ने क्रममा स्थानीय तहको निर्वाचन, २०७४ सम्पन्न भई आज हामी अन्नपूर्ण गाउँपालिकामा स्थानीय सरकारको रुपमा रही यो कार्यक्रममा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा निकै हर्षीत भएका छौँ ।

देशलाई यस स्थितमा ल्याइपु¥याउन आफ्नो प्राणोत्सर्ग गर्ने सम्पुर्ण महान सहीदहरु, जनआन्दोलनका घाइतेहरु, द्वन्द्वपीडितहरु तथा देशमा गणतन्त्र तथा संघीयता स्थापना गर्न अहम भुमिका खेल्ने सम्पुर्ण ज्ञात अज्ञात व्यक्तिहरुलाई सम्झन चाहन्छौँ । संघीयता र स्थानीय सरकार मार्फत गाउँगाउँमा सिंहदरबारको सेवा प्रवाहलाई मुर्तरुप दिने जिम्मेवारी हाम्रो काँधमा आएको छ । यो हाम्रो लागि अवसर र चुनौति दुवै हो । अधिकार, स्रोत साधन, बजेट, उत्तरदायित्व र जवाफदेहिता समेत स्थानीय तहमा स्थानान्तरण भई तल्लो निकायलाई अधिकारसम्पन्न बनाउने प्रयास गरिएको छ, जुन स्वागतयोग्य छ ।

अध्यक्ष महोदय तथा उपस्थित सम्पुर्ण महानुभावहरु,
अव म यस अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१.झन्डै दुई दशक देखि रिक्त स्थानीय निकाय (हाल तह) को निर्वाचन भई जनप्रतिनिधि विहीन अवस्थाको अन्त्य भएको छ । अवका दिनमा अन्नपूर्ण गाउँपालिकाको स्थानीय सरकारले विकट भौगोलिक अवस्थितिमा रहेको यस गाउँपालिकामा सर्वसाधारण जनताले प्रत्यक्ष अनुभुित गर्ने खालका योजना तर्जुमा गर्ने, स्थानीय जनतालाई योजना तर्जुमा साथै कार्यान्वयनमा प्रत्यक्ष सहभागी गराउने, मागमा आधारित र यस क्षेत्रको माटो सुहाउँदो कार्यक्रम तथा विकास गतिविधिहरु सञ्चालन गरी यस क्षेत्रका जनताको गरिवी न्युनीकरण गर्दै आर्थिक–सामाजिक समृद्धि हासिल गर्ने प्रमुख नीति लिइएको छ ।

२. नेपाल कृषि प्रधान देश हो । हाम्रो गाउँपालिका पनि कृषि पेशमा नै आत्मनिर्भर भएकाले परम्परगत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै व्यवसायीकरण गर्ने नीति तथा कार्यक्रमहरु अगाडि बनाईनेछ । बेमौसमी खेती तथा मौसम अनुकूल समयमा उत्पादन हुने आलु, मकै लगायतका अन्नको उत्पादन बढाउने तर्फ आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

घुम्ती खेती प्रणालीलाई प्रोत्साहन गर्दै जमिन बाँझो छोड्ने प्रबृत्तिलाई निरुत्साहित गरिनेछ । जनताको खाद्यसुरक्षाको अधिकारलाई सार्थकता दिन तथा त्यसमा गुणस्तर कायम गर्नेतर्फ थप पहल गरिनेछ । पशुपालनको रुपमा भेडा, च्यांग्रा तथा चौँरी गाईको व्यवसायिक उत्पादन गरी पशुजन्य उत्पादन अभिवृद्धि गर्नेतर्फ कार्यक्रमहरु ल्याइनेछ ।

३. अन्नपूर्ण गाउँपालिकाको सम्पुर्ण क्षेत्र नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । पदमार्गको विकास  गर्नसके यो क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकहहरु एवं अनुसन्धानको लागि आउने अनुसन्धानकर्ताहरुको संख्यालाई समेत दोब्बर बनाउन सकिन्छ ।

त्यसका लागि पर्यटकीय मार्गहरुको बाटो सुधार गर्ने, होटल तथा अन्य सेवा उद्योगहरुको संख्या वृद्धि गर्ने, ट्रेकिङ रुटमा होमस्टे हाउस निर्माण गर्ने, पदयात्रीहरुको जानकारीका लागि ठाउँठाउँमा पर्यटकीय जानकारीहरु सहितका वोर्डहरु राख्ने कार्य सम्पन्न गरिनेछ । यस क्षेत्रको सांस्कृतिक तथा स्थानीय कलाकृति तथा रितिरिवाजको संरक्षण, सम्वद्र्धन र प्रवद्धन गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

४. उर्जा विकासको महत्वपुर्ण पुर्वाधार हो । यस गाउँपालिका क्षेत्रभित्र वातावरणमैत्री उर्जाको प्रयोगमार्फत यस गाउँपालिकालाई समृद्ध बनाउन प्रयास गरिने छ । आगामी दिनमा वनजंगल तथा वातावरण जोगाउन वैकल्पिक उर्जामार्फत दाउराको प्रयोगलाई क्रमशः विस्थापन गर्ने नीति लिइनेछ ।

५. “उज्यालो घर, अन्नपूर्णको भर” कार्यक्रम संचालन गरि विद्युतको भरपर्दो व्यवस्था गर्न विगतमा यस क्षेत्रमा सञ्चालनमा रहेका लघुजलविद्युत आयोजनाहरु तथा हाल निर्माणधीन आयोजनाहरु मार्फत स्थानीय जनतालाई विद्युत उपभोगको प्रवन्ध मिलाउनेतर्फ उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा अन्य दातृ निकायहरुसँग सहकार्य गरी यस गाउँपालिकाको अवको पाइला ुजलविद्युत तर्फ पनि केन्द्रित हुनेछ ।

६. सूचना र सञ्चार प्रविधिविना समृृद्ध समाजको परिकल्पना गर्न सकिँदैन । भरपर्दो संचार व्यवस्था हुन नसक्दा यहाँका जनता समय समयमा सञ्चारविहीन हुँनुपरेको अवस्था विदितै छ । यसका लागि नेपाल टेलिकम लगायत अन्य सेवा प्रदायकहरुसँग छलफल गरि ल्याण्ड लाईन टेलिफोन तथा आवश्यक टावरहरुको बिस्तार गर्ने कार्यलाई अगाडी बढाइने छ ।

अन्नपूर्ण गाउँपालिकाको सेवा प्रवाहलाई पूर्ण रुपमा ईन्टरनेट मार्फत प्रदान गर्न , प्रत्येक वडा कार्यालयहरुमा समेत इन्टरनेट सेवा पुर्याउन तथा सुचना प्रविधिको विकासका अन्य सम्भावनाबारे विभिन्न सरकारी  तथा गैरसरकारी निकाय सँग समन्वय गरिनेछ ,साथै राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनः सँग समन्वय गरिनेछ । सूचना, तथ्याङ्क तथा अभिलेख ब्यवस्थापनलाई उच्च प्राथमिकता दिईनेछ ।

७. गाउँपालिका क्षेत्रभित्र रहेका दलित, अल्पसंख्यक, अपांग, महिला लगायत लक्षित वर्गका लागि सशक्तिकरण गर्ने खालका कार्यक्रमहरु ल्याइनेछ । उनीहरुलाई समाजको मुल धारमा ल्याउने, निर्णय प्रक्रियामा महत्वपूर्ण भुमिका खेल्ने, आफुले संविधान तथा कानुनबमोजिम पाउने हक अधिकारबारे जानकारी गराउने लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

८. मानव अधिकारको उच्च सम्मान गर्दै कानूनी शासनको मान्यतालई आत्मसात गरिनेछ । सामाजिक न्याय सहितको समतामूलक समाजको स्थापना गर्ने नीति लिईनेछ । शान्ति र सुरक्षालाई उच्च प्राथमिकता दिई सुरक्षा क्षेत्रसँग सम्बद्ध सबै निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ ।

९. अवको विकास अपांगमैत्री, वालमैत्री, महिलामैत्री वनाउनेतर्फ नीति अङ्गिकार गरिनेछ । अपाङ्गता भएका ब्यक्तिहरुलाई सामाजिक सुरक्षावापतको रकम पाएनपाएको सम्बन्धमा खोजी गरी नपाएको खण्डमा पाउने व्यवस्था गरिनेछ । लैङ्गिक विभेद तथा दलित समुदायलाई गरिँदै आएको सामाजिक विभेदको अन्त्य गर्ने खालका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ । साथै आदिवासी जनजाति, लोपोन्मुख समुदाय तथा अल्पसंख्यकहरुलाई समेत विकासको मुलधारमा ल्याउन पहल गरिनेछ ।

१०. सामाजिक सुरक्षा प्राप्त गर्ने व्यक्तिहरुको विवरण अनलाइन प्रणालीमा अद्यावधिक गरिनेछ । यस कार्यक्रम संघीय सरकार मार्फत सञ्चालन हुने भएपनि लाभग्राहीहरुको विवरण अनलाइन अद्यावधिक गर्नुका साथै सामाजिक सुरक्षा बापतको रकम बैकिङ प्रणली मार्फत समयमा नै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ । पञ्जीकरणको कार्यलाई थप ब्यवस्थित गरिनेछ । जेष्ठ नागरिकहरुको आधारभूत हक, अधिकारको संरक्षण एवं सम्मानजनक र सन्तुष्टिपूर्ण जीवनयापनको लागि जेष्ठ नागरिकको सम्मान, अन्नपूर्णको शान कार्यक्रम सञ्चालन गरिने छ ।

११.गाउँपालिका भित्रका जनतालाई सुरक्षित खानेपानीको प्रवन्ध मिलाउनका लागि पहल गरिनेछ । आगामी दुई बर्षभित्र एक घर, एक धारा कार्यक्रम सञ्चालन गरी खानेपानीको अभाव भएका वस्तीहरुमा स्वच्छ खानेपानीको सुुविधा उपलब्ध गराउन खानेपानी आयोजनाहरु सञ्चालन गरिनेछ । फोहोरमैला व्यवस्थापन गर्ने, खानेपानीको शुद्धीकरण गरेर मात्र पिउने, सरसफाईमा ध्यान दिने संस्कारको विकास गर्ने तथा यस सम्बन्धमा सफा र स्वच्छ खानपान, अन्नपूर्णको पहिचान नारा लाई मुर्तरुप दिन कार्यक्रमहरु ल्याइनेछ ।

१२. शिक्षा जिवनको महत्वपूर्ण आधार हो । यसक्षेत्रका विद्यालयहरुमा बालबालिकाको विद्यालय छोड्ने दर कम गर्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि आवश्यक कार्यक्रमहरु ल्याइनेछ । वालमैत्री स्थानीय शासन कार्यक्रम लगायत वालमैत्री विद्यालय, खेल्दै सिक्दै लगायतका कार्यक्रमहरुलाई समावेश गर्दै लगिनेछ ।

विद्यालयको पुर्वाधार विकास, शिक्षकको पेशागत हकहित तथा कामप्रतिको प्रतिवद्धतामा वृद्धि गरी यस क्षेत्रको साक्षरता दर बृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरिनेछ । आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी नमूनाको रुपमा सरकारी बिद्यालयहरुमा अंग्रेजी भाषाबाट समेत पठन–पाठन सुरु गर्न आवश्यक ब्यवस्था मिलाईनेछ । भौगोलिक बनावट तथा बिद्यार्थी संख्याको आधारमा बिद्यालय थप–घट गर्न, एकिकृत गर्न तथा समायोजन गर्नका लागि आवश्यक नीति बनाईनेछ ।
annapurna gaupalika१३. स्वस्थ्य नै धन हो भन्ने मान्यतालाई आत्मसात गर्दै यस क्षेत्रमा स्वास्थ्य सेवा अभिवृद्धि गर्नेतर्फ पहल गरिनेछ । नेपाल सरकारको नागरिक स्वास्थ्य विमा कार्यक्रमलाई ब्यवस्थति बनाउदै “म स्वस्थ मेरो गाउँपालिका स्वस्थ” जस्ता कार्यक्रमहरुलाई अगाडि ल्याइनेछ । अत्यावश्यक औषधि तथा उपचारको सहज ब्यवस्थापन गर्नुका साथै वाल मृत्युदर तथा मातृमृत्युदर घटाउन महिला स्वयंसेविकाहरु र ग्रा.स्वा.का.हरुलाई परिचालन गर्न थप पहल गरिनेछ । युुवा युवतीहरुको लागि यौन तथा एच.आइ.भि. एड्स शिक्षा, सरुवा रोगहरुको नियन्त्रणका लागि प्रचारप्रसार लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

१४. नेपाल सरकारले हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल बनाउने कार्यक्रम लिए अनुरुप यस गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्न पहल गरिनेछ ।

१५ स्वस्थ र सिर्जनशिल युवाका लगि खेलकुदको विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ र खेलकुद विकासका पूर्वाधार बनाउने कार्यलाइ तिव्रता दिइनेछ । प्रत्येक बर्ष अन्नपुर्ण अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि ब्यवस्था मिलाईनेछ । युवाहरुलाई उपलब्ध स्रोत साधनको परिचालन गरी रोजगारी सिर्जनामार्फत गरिबी न्युनीकरण गर्ने, सिर्जनात्मक कार्यहरुमा उत्प्रेरित गर्ने, खेलकुदतर्फ प्रोत्साहन गर्ने खालका युवालक्षित कार्यक्रमहरु ल्याइने छ ।

१६. भौतिक पूर्वाधार विकास अन्य सबै विकासको आधारशीला हो । पूर्वाधार विकासका लागि जनसहभागिताको पाटो अपरिहार्य हुन्छ । जनताको स्वामित्व र अपनत्व कायम गर्न सकिएमा मात्र विकासले दिगोपना हासिल गर्न सक्दछ । त्यसका लागि “हाम्रो पूर्वाधार, हामी आफै बनाउछौँ” कार्यक्रमलाई अभियानको रुपमा विकास गरिने छ ।

१७. यस क्षेत्रमा न्युन संख्यमा रहेका उद्योग तथा रोजगारीका अन्य अवसरहरुलाई ब्यापक खोजी गरी सम्भावना रहेका ढुंगा, गिटी, ब्लक उद्योग, काष्ठ उद्योग, पशुपालन उद्योग, पर्यटन उद्योग लगायत अन्य घरेलु तथा साना उद्योगहरुको प्रोत्साहन तथा बिकास गरिनेछ ।dam pun१८. यस गाउँपालिका क्षेत्रमा सरकारी कारोबार गर्ने वैँक तथा वित्तिय संस्थाहरु सञ्चालनमा छैनन् । आगामी वर्षमा देशका सम्पुर्ण स्थानीय तहमा सरकारी कारोबार गर्ने वैँक तथा वित्तिय संस्थाहरु खोल्ने सरकारको घोषणालाई कार्यान्वयनमा ल्याउन सहजीकरण गरिनेछ । गाउँस्तरमा विभिन्न समुहमार्फत वचत गर्ने वानी बसाल्ने, ऋण लिएर लगानी गर्ने लगायतका कार्यमा सहजता ल्याउन स्थानीय स्तरमा सहकारी समुहहरु गठन गर्ने नीति लिइनेछ । वचत वृद्धि, पुँजी निर्माण, ऋण परिचालन मार्फत आम जनताको  जीवनस्तरमा सुधार गर्ने तर्फ पहल गरिनेछ ।

१९. सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीहरुलाई कुनै प्रकारको विभेद नगरी उच्च प्राथमिकता दिई सेवा प्रवाह गरिनेछ । कार्यालयले आफै र आफ्नो मातहतका कार्यालयहरुमार्फत प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुणत्मकता, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुबाई, सामाजिक परिक्षण, नागरिक वडापत्र, सूचनाको हकको प्रत्याभूति, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार निवारण लगायतका कार्यहरुमार्फत सुशासन अभिवृद्धि गर्ने खालका कार्यहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगिनेछ ।

२०. सेवा प्रवाह गर्ने कर्मचारीहरुलाई काम गर्ने खालको वातावरण सिर्जना गरिनेछ । साथै यो क्षेत्रमा सरकारी कर्मचारीहरु सँधै बसी उनीहरुमा जनताको सेवाभाव जागृत गराउने र गाउँपालिकाका निर्णयहरुलाई कार्यान्वयनमा ल्याउनका लागि तत्पर हुने अवस्थाको सिर्जना हुने वातावरण मिलाइनेछ । भौगोलिक क्षेत्रको बिकटता समेतलाई मध्यनजर गर्दे  काम गर्नुपर्ने बाध्यता भएकाले आगामी दिनमा प्रोत्साहन  भत्ताको व्यवस्था मिलाउनेतर्फ पहल तथा अध्ययन गरिनेछ । उचित र बस्तुनिष्ठ मुल्याङ्कनको आधारमा कार्यको प्रकृति हेरी कर्मचारीहरुलाई क्षमता बिकास तालिम, पुरस्कार तथा दण्ड–सजायको समेत ब्यवस्था मिलाईनेछ ।

२१. जलवायु परिवर्तनले विश्वलाई नै चुनौति दिइरहेको वर्तमान परिप्रेक्ष्यमा जलवायु परिवर्तनलाई तल्लो तहबाट नै सामना गर्ने खालका गतिविधीहरुलाई प्रोत्साहन गरिनेछ । जलवायु अनुकुलित विकास कार्यक्रमहरु सञ्चालन गरी हरित अर्थतन्त्रको प्रवद्र्धन गर्न पहल गरिनेछ । यस क्षेत्रभित्र विद्यमान र आउन सक्ने प्रकोप तथा विपदहरुलाई समेत ध्यानमा राखी जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा कार्य गर्ने विभिन्न निकायसँग सहकार्य गरि अगाडि बढ्ने नीति अख्तियार गरिनेछ ।

२२. वातावरणीय सन्तुलन र मानवीय सुरक्षा लगायतका विषयमा कार्यक्रमहरु सञ्चालन गरिनेछ । प्राकृतिक प्रकोपसँग जुध्न सक्ने खालका कार्यक्रम सञ्चालन गर्ने, नदी नियन्त्रण, पहिरो नियन्त्रण, जलाधार संरक्षण, बन फडानी नियन्त्रण, बनजन्य चोरी–निकासी र बन पैदावार नियन्त्रण, बृक्षारोपण कार्यक्रम, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण लगायतका विषयलाई महत्वका साथ सम्बोधन गरिनेछ ।

२३. यस क्षेत्रमा उठ्ने राजस्वलाई थप व्यवस्थित गरि राजस्व परिचालन तथा राजस्व चुहावट नियन्त्रणमा जोड दिइनेछ । उठ्ने राजस्व वाँडफाडको लागि संघीय सरकार, प्रदेश सरकार तथा अन्य विभिन्न निकायसँग समन्वय  गरिनेछ ।
२४. आर्थिक वर्षको अन्त्यमा आएर असारे विकास गर्ने परिपाटीको अन्त्य गर्दै आर्थिक वर्षको शुरुमा नै योजना बनाएर काम गर्न शुरु गर्ने र समयमा नै गाउँपालिकाका कार्यक्रमहरु सम्पन्न गरिनेछ । यस का साथै नेपालीहरुको नयाँ बर्ष बैशाख १  गते देखि नयाँ आर्थिक बर्ष कायम गर्न अन्य स्थानीय तह,प्रदेश सरकार तथा केन्द्र सरकार समक्ष छलफल प्रक्रियालाई अगाडी बढाईने छ ।

२५. “कृृषि, बन, पर्यटन र जलस्रोतले सम्पन्न
शान्त, सुन्दर, हरियाली, हाम्रो राम्रो अन्न्पूर्ण” नारालाई मूल नाराको रुपमा लिई विकास ब्यवस्थापन, दिगो विकास र सुशासनको प्रत्याभूति हुने वातावरणको सिर्जना गरिने छ ।
२६. सबै समस्याहरुको समाधान एकैपटक सम्भब छैन र हुनै सक्दैन । यसका लागि अन्य स्थानीय तहहरु, प्रदेश सरकार, केन्द्र सरकार तथा सरकार बाहेकका अन्य क्षेत्रहरु निजी क्षेत्र, गैर सरकारी संस्थाहरु, दातृ निकायहरु, नागरिक समाज, प्रबुद्ध वर्गहरु तथा विकास साझेदारहरुसँग सम्वाद, सहकार्य र सहभागिताको नीति अबलम्बन  गरिनेछ ।

२७. अन्त्यमा यी सबै बिविध पक्षहरुमा महत्वपूर्ण सहयोग पु¥याउनुहुने सबै राजनीतिक दलहरु, राष्ट्रसेवक कर्मचारीहरु,सुरक्षाकर्मीहरु, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत तथा सम्पूर्ण अन्नपूर्णबासी दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

सबै अन्नपूर्णबासीहरुको जय होस ।
                                                           धन्यवाद ।