ताजा समाचार:
Search

अन्नपूर्णको बजेट सार्वजनिक – ‘उज्यालो घर, अन्नपूर्णको भर’ कार्यक्रम सञ्चालन गरिने

विकल्प न्यूज/अन्नपूर्ण
असार ३० गते । 333जलविद्युतमैत्री वातावरण निर्माण गर्ने संकल्प सहित अन्नपूर्ण गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।
शुक्रबार गाउँसभामा आगामी आर्थिक बर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा समृद्ध र नमुना गाउँपालिका निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिलाई प्राथामिकता दिईएको छ । annapurna gaupalikaगाउँपालिका उपप्रमुख केशमायाँ मगरले आगामी आर्थिक बर्षलाई २३ करोड, २९ लाख ६२ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै जलविद्युतमैत्री वातावरणमा जोड दिईएको बताउनुभयो ।
विनीयोजित बजेटमध्ये केन्द्र सरकारबाट वित्तीय समानीकरणमा १४ करोड ४ लाख, सशर्त अनुदानतर्फ ८ करोड २१ लख ९३ हजार प्राप्त हुनेछ ।

गाउँपालिकाको आन्तरिक आयबाट ४४ लाख ६५ हजार र जनसहभागिता १० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा आ.ब २०७३÷०७४ को अन्त्यमा फ्रिज नहुने गर प्राप्त भएको ४८ लाख रुपैयाँ पुजीगत अनुदानलाई पनि बजेटमा समावेश गरिएको छ ।

बजेट मार्फत आर्थिक विकासमा २६ लाख ४६ हजार, सामाजिक विकासमा एक करोड २० लाख, पूर्वाधार विकासमा एक करोड ७२ लाख, वातावरणमा १४ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ २६ लाख रुपैयाँ, सिचाई, तटबन्ध, खेलकुद र संस्कृति र पर्यटन क्षेत्रमा पर्याप्त बजेट विनीयोजन गरिएको छ । गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले नमुना गाउँपालिका बनाउनका लागि जलविद्युतमा ‘उज्यालो घर, अन्नपूर्णको भर’ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

‘हाम्रो गाउँपालिकामा थुप्रै जलविद्युत आयोजनाहरु निर्माण भइरहेका छन् भने केहि आयोजनाहरु निर्माणका संभाव्यता अध्ययनको चरणमा छन्”, उहाँले भन्नुभयो, “कालीगण्डकी करिडोर अन्र्तगत २२० केभीए सवस्टेशन पनि यहि नै बन्दैछ, जलविद्युतबाट रोजगारको अवसर पनि सिर्जना हुनेछ, त्यसैले हामी यसलाई व्यापकता दिनेछौँ ।’

गाउँपालिकाले ‘ज्येष्ठ नागरिकको सम्मन, अन्नपूर्णको शान’, स्वास्थ्य क्षेत्रमा ‘म स्वस्थ, मेरो गाउँपालिका स्वस्थ’, वातावरण र सरसफाई क्षेत्रमा ‘सफा र स्वच्छ खानपान, अन्नपूर्णको पहिचान’, खेलकुदमा हरेक बर्ष अन्नपूर्ण अध्यक्ष खेलकुद प्रतियोगिता र भौतिक पूर्वाधारलाई समयमै सम्पन्न गर्न ‘हाम्रो पूर्वाधार, हामी आफै बनाउँछौँ’ जस्ता कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष क्याप्टेन पुनले बताउनुभयो । गाउँपालिकाका कार्यकारी अधिकृत अच्यूत दाहालले जलविद्युतमा केहि हिस्सा लगानी गर्ने तरिकाले छलफल अघि बढेको बताउनुभयो ।

गाउँपालिकाका दलित विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि ५० प्रतिशत सहयोग, हरेक वडामा सुत्केरी तथा गर्भवति महिलाका लागि ५० हजार रुपैयाँ आकस्मिक कोष, सुकुम्बासीलाई उचित वासको व्यवस्था र ८० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरुलाई चाडपर्व मनाउन एकबर्षमा एकपटक ५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रम पनि गाउँपालिकाले अघि सारेको छ ।

कार्यक्रममा गाउँपालिकाका ज्येष्ठ वडाअध्यक्ष वडा नं ५ का दिनेश पुन, नेपाली काँग्रेसका बेलबहादुर पुर्जा, एमालेका नरसिँह बहादुर पुर्जा, माओबादी केन्द्रका जसबहादुर पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य बृद्धि पुनले गर्नुभएको थियो ।