ताजा समाचार:
Search

धौलागिरी र मंगला गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २९ असार ।
म्याग्दीको धौलागिरी र मंगला गाउँपालिकाको प्रथम गाउँसभा बिहीबार सम्पन्न भएको छ । गाउँसभामा केन्द्रिय संसदको झल्को दिनेगरी बजेट प्रस्तुत गरिएको थियो ।dhaulagiri gaupalikaमुनामा भएको धौलागिरीको गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्ष २०७४७५ का लागि कुल २६ करोड ९३ लाख २७ हजार रुपैयाँ बजेट बिनियोजन भएको सार्वजनिक गर्नुभएको थियो ।

सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका योजनालाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । नीति तथा कार्यक्रममा गाउँपालिकाको सात वटा वडाको सम्भावनाको आधारमा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

गाउँसभा अघि बुधबार बसेको कार्यपालिकाको बैठकले उपसमिति, बिभाग गठन गर्नुका साथै बजेट, निती तथा कार्यक्रम पेश गर्न स्वीकृती प्रदान गरेको थियो । यसैगरी बाबियाचौरमा भएको मंगला गाउँपालिकाको प्रथम गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले आगामी आर्थिक वर्षका लागि २८ करोड ९१ लाख रुपैयाँ बजेट बिनियोजन भएको जानकारी गराउनुभयो ।mangala gaupalikaआम्दानीतर्फ वित्तिय समानीकरण अनुदान १३ करोड ६ लाख १८ हजार, ससर्त अनुदान ९ करोड ११ लाख ६५ हजार र आन्तरीक आम्दानी १५ लाख ५० हजार रुपैयाँ रहेको छ । धौलागिरी र मंगला गाउँपालिकाले भौतिक पूर्वाधारका योजनामा उपभोक्ताले कुल लागतका दश प्रतिशत रकम बराबरको श्रमदान अनिवार्य गर्नुपर्ने नितीगत व्यवस्था गरेका छन् ।

विकास निर्माणमा जनसहभागीता जुटाउने र समुदायमा विकासप्रती अपनत्वको भावना जगाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । उहाँका अनुसार गाउँपालीकामा रहेका खनीज सम्पदाको अन्वेषण, मंगला चक्रिय पर्यापर्यटन मार्ग, लघुव्यवसायको सम्भाव्यता अध्ययनका साथै एकिकृत सामाजिक परिवर्तनका लागि प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रबिधिको प्रयोग र प्रत्येक टोलमा स्वास्थ्य परिक्षण केन्द्र स्थापना गरेर महिनाको एक पटक गाउँमै सेवा दिने र आयआर्जनका लागि टिम्मुर, चिराईतो र सतुवाको व्यवसायिक खेती विस्तार गर्ने योजना रहेको छ ।

गाउँपालिका क्षेत्रको सडक निर्माण कार्य तथा स्तरवृद्धी योजनालाई सस्तो र व्यवस्थित बनाउन र स्तरवृद्धी कार्यका लागि आफ्नै डोजर खरिद गर्न एक करोड एक लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन भएको छ । गाउँपालिका भित्र वातावरणमैत्री चार वडा नमुना हरित सडक योजना निर्माणका लागि ९७ लाख रुपैयाँ बिनियोजन भएको वडा न. ३ का अध्यक्ष कबिन्द्र रोकाले बताउनुभयो ।