ताजा समाचार:
Search

साउदी अरबमा ज्यान गुमाएका विपन्न घरपरिवारलाई युकेबाट दुइलाख सहयोग

ठाकुरप्रसाद आचार्य/विकल्प
म्याग्दी,मंसिर १३ गते । रोजगारीको शिलसिलामा साउदी अरवको रियादमा ज्यान गुमाएका म्याग्दीको भगवती–९का कमल भण्डारीको घरपरिवारलाई युकेमा वस्ने म्याग्देलीहरुले दुइलाख सहयोग गरेका छन् ।
कार्तिक १२ गते कामको शिलशिलामा दुर्घटनामा परेर ज्यान गुमाएका भण्डारीको घरपरिवारको अबस्था अत्यन्तै कमजोर रहेकाले घरपरिवारको राहतको लागि आर्थिक संकलन सुरु गरिएको हो ।

DSC06770
रोजगारीको शिलशिलामा युकेमा रहेका भगवती गाविसका अम्बरवहादुर भण्डारी र एकेन्द्रवहादुर भण्डारीको नेतृत्वमा म्याग्देली र अन्य नेपालीहरुबाट संकलन गरेको एक लाख ८७ हजार २७२ रुपियाँ स्थनीयवासी पदम भण्डारी र राखुका समाजसेवी देवेन्द्र मल्ल मार्फत स्वर्गीय भण्डारीको श्रीमति मिना भण्डारीलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा समाजसेवी मल्लले आफ्नो वृद्धभत्ता मार्फत आउने एकवर्षको रु चारहजार रुपियाँ पनि पीडित भण्डारीको परिवारलाई दिने घोषणा गर्नुभएको छ ।
परिवारको कमाउने मुलीनै दुर्घटनमा परेर ज्यान गुमाएपछि अन्य सदस्यहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण दैनिक रुपमा जीवन कष्टपूर्ण तरिकाले निर्वाह गर्न वाध्य भएकाले सहयोग अभियान सञ्चालन गरिएको जिल्ला विकास समितिका सूचना अधिकृत समेत रहेका स्थानीयवासी भण्डारीले बताउनुभयो ।
साउदीमा भण्डारीको निधन भएपछि फेसबुक सञ्जाल मार्फत परिवारको सहयोगार्थ आर्थिक संकलन अभियान सुरु गरिएको भगवतीका स्थानीय वासिन्दा गोविन्द भण्डारीले बताउनुभयो । उहाँका अनुसार जापानमा रहेका सागर भण्डारीको नेतृत्वमा २० हजार रुपियाँ, कोरियामा रहेका रमेश भण्डारीको नेतृत्वमा एक लाख २२ हजार छसय रुपियाँ साउदीमा रहेका म्याग्देलीहरुबाट १६ हजार रुपियाँ आर्थिक संकलन भएको छ ।
आर्थिक संकलनका लागि सागर भण्डारी र अभिशेषक पौडेलले फेसबुक मार्फत अभियान सञ्चालन गरेका छन् । अभियानमा भगवतीका अन्य युवाहरुको सक्रियतमा रहको छ ।
भण्डारीकी तिन वर्षिय छोरी दृष्टि भण्डारी, श्रीमती र दृष्टि विहिन आमा घरमा रहेका छन् । घरको अबस्था नाजुक रहेकाले छोरीको पठनपाठन, पालनपोषण र घरपरिवारको लागि राहत जुटाउने उदेश्यले फेसबुक गु्रप मार्फत देश तथा विदेशमा रहेका राखु भगवतीका युवाहरुको पहलमा आर्थिक संकलन अभियान सुरु गरिएको गोविन्द भण्डारीले बताउनुभयो । विपन्न परिवारका लागि आर्थिक संकलन अभियानमा सहयोग गर्न सवैमा उहाँले आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार युके, जापान, अमेरिका, कतार लगायतका ठाउँमा समेत सहयोग संकलन अभियान सञ्चालन भईरहेको छ ।
सहयोगलाई ब्यवस्थित र पारदर्शी बनाउनको लागि ग्लोबल आईएमई बैँकमा गोविन्द भण्डारी, गोकुल भण्डारी र सरस्वती भण्डारीको नाममा ४८०७०१००२२१५ नम्बरको संयुक्त खाता सञ्चालन गरिएको छ । छ महिना पहिला जेरी म्यानेजमेन्ट सर्भिस कुपण्डोल मार्फत साउदी पुगेका भण्डारीको सब अझै नेपाल आउन सकेको छैन् । उनको सवलाई नेपाल ल्याउन सहयोग गर्न सरकार समक्ष परिवारले आग्रह गरेका छन् ।